२०७६ कार्त्तिक २९ गते

धुलौटोमै क, ख, ग सिकेँ : जेलबाटै आइए, बिए सिध्याएँ

हिमाल शर्मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् । एसएलसी उत्तीर्ण भएसँगै राजनीतिमा लागेका शर्माले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । विद्यार्थी राजनीतिमा निकै संघर्ष गरेका उनले आफ्नो विद्यार्थीजीवन यसरी सम्झिए ।

धुलौटोमै क, ख, ग सिकेँ
मैले बाग्लुङ जिल्लाको जैमिनी प्राविबाट प्रारम्भिक तहको शिक्षा हासिल गरेको हुँ । सामान्य किसान परिवारमा जन्मेको हुनाले सुरुसुरुमा त कापीकलम पनि पर्याप्त थिएन । वास्तवमा भन्नुपर्दा मैले धुलौटोमै क, ख, ग सिकेको हुँ । बस्नका लागि घरबाटै चकटी बोकेर स्कुल जान्थेँ ।

पाँच कक्षासम्म नांगो खुट्टा स्कुल जान्थेँ
यसरी जैमिनी प्राविमा कक्षा ३ सम्म अध्ययन गरेँ । त्यसपछि म निमावि पढ्का लागि २ घन्टा उकालो चढेर पृथ्वी निमाविमा जान्थेँ । जहाँ मैले कक्षा ४ बाट ७ सम्म अध्ययन गरेँ । सामान्य परिवारमा जन्मेको हुनाले घरको आर्थिक अवस्था कमजोर थियो । त्यसैले मैले कक्षा पाँचमा पुगेपछि मात्र खुट्टामा चप्पल लगाउने मौका पाएँ । पाँच कक्षासम्म नांगो खट्टा स्कुल जान्थेँ । त्यो मेरा लागि बाध्यता थियो ।

द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण भएँ
त्यस्तै, शान्ति मावि कुस्मीसेरामा कक्षा आठ पढेँ । त्यस्तै कक्षा ९ र १० पर्वतको भवानी विद्यापीठ माविबाट पास गरेँ । ०४३ सालमा द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेको थिएँ । त्यसवेला एसएलसी द्वितीय श्रेणीमा उत्तीर्ण हुनु ठूलो कुरा थियो ।


एसएलसी उत्तीर्ण हुनेबित्तिकै जेल परेँ
०४३ मा नेपाल बन्दसम्बन्धी शिक्षक संगठनको पोेस्टर टाँस्दै हिँड्दा पक्राउ परेँ । पक्राउपछि जेल परेँ । जब ०४६ सालमा बहुदल आयो अनि मात्र म जेलमुक्त भएँ । त्यसपछि मेरो सक्रिय राजनीतिक यात्रा सुरु भयो ।

आइए, बिए जेलबाटै उत्तीर्ण गरेँ
वास्तवमा कुनै पनि विद्यार्थी एसएलसी उत्तीर्ण भएपछि उसले आफ्नो भविष्यलाई उज्ज्वल बनाउनका लागि कलेजको यात्रा तय गर्छ । तर, दुर्भाग्यवश मेरो भने अरूको जस्तो विद्यार्थीजीवन हुनै पाएन । केही दिन जेलमुक्त भएको वेलामा काठमाडौं आएर पिपुल्स क्याम्पसमा आइएमा भर्ना भएको थिएँ । तर, केही समयपछि फेरि पक्राउ परेँे । त्यसैले आइएमा कलेजको अनुभव गर्नै पाइनँ । तर, पनि मैले हिम्मत हारिनँ । जेलभित्रै पढेँ । यही क्रममा मैले आइए जेलभित्रैबाट उत्तीर्ण गरेँ । ०४६ सालमा स्वतन्त्र भएँ । त्यसपछि म जिल्लामा विद्यार्थी राजनीति गर्न थालेँ । यही क्रममा फेरि ०४८ सालमा जेल परेँ । बाग्लुङको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएँ र जेलभित्रै पढेर बिए पनि उत्तीर्ण गरेँ ।

जेलभित्र विभिन्न दर्शनको अध्ययन गर्थें
जेल परेपछि मलाई फुर्सद भयो । त्यो समयलाई सदुपयोग गरेँ । जेलभित्रै विभिन्न साहित्य, दर्शनको गहिरो अध्ययन गर्थेँ । यो समाज कस्तो छ । यो समाज किन बदलिन्छ, शोषण भनेको के हो, अन्तर्राष्ट्रिय स्तरमा कुन देश किन सफल र किन असफल भएजस्ता कुराको अध्ययन गर्थेँ । त्यसैले पछि मास्टर्स पढ्ने वेलामा त मलाई कोर्सका किताब केही पनि लागेन ।

आइएमा कलेजको अनुभव गर्नै पाइनँ । हिम्मत हारिनँ, जेलभित्रै पढेँ । आइए जेलभित्रैबाट उत्तीर्ण गरेँ । ०४८ मा फेरि जेल परेँ । जेलभित्रै पढेर बिए पनि उत्तीर्ण गरेँ ।


स्नातकोत्तरमा भर्ना भएपछि मात्र कलेजको अनुभव गर्न पाएँ
म फेरि ०५१ सालमा जेलमुक्त भएँ । जेलमुक्त भएपछि फेरि विद्यार्थी राजनीतिमा सक्रिय भएँ । त्यसपछि ०५३ सालमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि भर्ना भएँ । यसपछि मात्र कक्षाकोठामा बसेर क्याम्पसको अनुभव लिएँ । जहाँ मैले राजनीतिशास्त्र अध्ययन गरेको थिएँ । त्यतिवेला म अनेरास्ववियुको केन्द्रीय कोषाध्यक्र्ष िथएँ । यही क्रममा मैले राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेँ ।

स्ववियु सभापति बनेँ
विद्यार्थी संगठनको महासचिव हुँदै गर्दा ०६० मा जेल परेँ । त्यसवेलामा राज्यपक्षबाट मलाई २७ महिना बेपत्ता पारियो । त्यसपछि नख्खु जेलमा राखियो । यही क्रममा ०६३ मा जेलमुक्त भएँ । ०६४ मा समाजशास्त्र विषयमा अध्ययन गर्न फेरि त्रिविमा भर्ना भएँ । यही क्रममा ०६५ सालमा स्ववियुको निर्वाचन भयो । म त्रिभुवन विश्वविद्यालयको सभापतिमा निर्वाचित भएँ ।

प्रेम गर्न पाइनँ
कलेज अध्ययन गर्ने विद्यार्थी भनेको अलि चञ्चले हुन्छ । त्यसैले यो समयमा प्रेमका कुरा पनि हुन्छन् । तर, मेरो भने यस्तो दिनै आएन । प्रेम गर्ने उमेरमा म जेल परेँ । जेल परेर छुटेको केही समयपछि विवाह गरेँ ।

( यो अन्तर्वार्ता नयाँपत्रिकाका लागि महेश तिमल्सिनाले तयार पारेका हुन ।)

 

Comments: