• भारी हिमपात पछिको हावाहुरीले बौद्धिक अपांगता होस्टेलको छाना भत्कियो
    (राजन रावत/हुम्ला)

  • बिहीवार राती हिमपात पछिको हावाहुरीले गर्दा सिमकोटमा रहेको हिमाली बौद्धिक अपाङ्गता विद्यालयको होस्टेलको जस्ता पाताको छाना भत्काएको छ । साढे एक फिट भन्दा बढी बाक्लो हिउँलाई छानाले थेग्न नसकेको तथा हावाहुरीपछि होस्टेलको छाना भत्किएको हो ।

    दुई तले भवनको माथिल्लो तलाको एउटा कोटाको छाना हिउँको भार थेग्न नसके पछि भत्किएको प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठले जानकारी दिए । हिउँले छानाको काठ भाचिएर तल भासिएको उनले बताए ।

    अहिले हिउँदे बिदा भएको कारण होस्टेलमा बस्ने विद्यार्थी घर गएको र होस्टेल इन्चार्ज भए पनि उनलाई केही नभएको प्रनाउ श्रेष्ठले बताए ।

     हिमपातबाट भत्किएको होस्टेलको  क्षति के कति भयो अहिले नै भन्न नसकिने र हिमपात रोकिए पछि मात्र प्रहरी मुचुल्का भए पछि मात्रै भन्न सकिने श्रेष्ठले स्ष्टि पारे ।  उक्त भवन साहारा समुहले ऋणमा केही समय अगाडी निर्माण कार्य सम्पन्न गरेको थियो ।

    त्यसैगरी सिमकोट बजार कै एक घुम्ती पनि भत्किएको छ । यता खार्पुनाथ गाउँपालिकाको वडा नम्बर पाँच याङचुमा पनि घर  तथा सिमकोट गाउँपालिकाको वडा नम्बर २ को पनि एक हिमपातले भत्काएको प्रनाउ श्रेष्ठले जानकारी दिनु भयो । यद्यपि मानबीय क्षति भने कतै भएको छैन ।

    बाक्लो हिमपात भइरहँदा चिसो अत्याधिक बढेको र उत्तरी क्षेत्रको जनजीबन निक्कै कष्टकर भएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगानाले बताए । साढे एक फिट भन्दा बढी हिउँ जमिनमा जमि सकेको र अझै हिउँ पर्ने क्रम जारी रहेको उनले जानकारी दिए ।

     बिहीबार रातीबाट हिल्दुम जलविद्युतको  आयोजनाको विद्युत पनि हावाहुरीले अवरुद्ध भएको छ । सिमकोट बजारमा फाट्ट फुट्ट पसल हिउँ पन्छाएर ब्यापारीले खोलेको देखिन्थ्यो ।


    केही दिन अगाडी परेको हिउँ नपग्लेको अवस्थामा फेरी हिउँ थपिदा जमिन सेताम्मे देखिएको छ । अझ यो हिउँ नाखा गाउँपालिकाका अग्ला भुभागमा पाँच फिटसम्म परेको प्रमुख जिल्ला अधिकारी माधब प्रसाद ढुगानाले बताए ।

     दुई दिन अगाडीसम्म सम्पर्कमा आएको नाम्खाको लिमी गाउँ पून सञ्चार सम्पर्क बिच्छेद भएको छ । उक्त गाउँपालिकाको यारी, मुचु, तुम्कोट, चालामा तीन फिट भन्दा बढी हिउँ जमेको प्रहरी चौकी मुचुले जनाएको छ । यो हिमपात यस बर्षको सातौंैं हिमपात हो । शुक्रबार कतिपय कार्यालयमा कर्मचारीको उपस्थिती पनि देखिएको थिएन । कार्यालयमा ताला लगाइएको थियो । कार्यालयमा आएका कर्मचारी पनि आगो तापेर बसेका देखिन्थ्ये । सेवाग्राहीको पनि उपस्थिती नभएको प्रजिअ ढुगानाले बताए ।