२०७६ कार्त्तिक १ गते

शिक्षक तालिम, कसरी पुगोस् त कक्षाकोठामा ?


– हरिहर दाहाल  

नेपालका सामुदायिक विद्यालयहरुमा सत् प्रतिशत शिक्षकहरु तालिम प्राप्त छन् भन्ने गरिन्छ । तै पनि विद्यार्थीहरुको उपलब्धी स्तरमा खासै सुधार आउन नसकेको गुनासो यत्र तत्र सुनिन्छ । शिक्षामा सुधार नहुनुको कारण शिक्षकले तालिममा सिकेका ज्ञान तथा सीपहरु कक्षाकोठा सम्म पुग्न नसकेको, शिक्षकहरुले कम मिहिनेत गरेको, योजनाबद्ध शिक्षण नगरेको र शैक्षिक सामाग्रीको यथोचित प्रयोग नगरेकालगायतलाई मान्छि । तर वास्तविकता के हो त ?


२००४ सालमा आधार शिक्षक तालिमबाट सुरुभएको तालिमका श्रृखलाहरुले अनेक आरोह अवरोह पार गरेको छ । कलेज अफ एजुकेसनले दिने तालिम, नर्मल तालिम, रेडियो शिक्षा शिक्षक तालिम हुँदै १ महिने, १.५ महिने, १० महिने शिक्षक तालिमहरु चल्दै आए । हाल आएर १० महिने पूर्वसेवाकालिन वा सेवाकालिन तालिम लिएका शिक्षक , एसएलसीमा ३०० पुर्णांकको व्यवसायिक शिक्षा पढेको शिक्षक, २ मा २०० पुर्णांकको शिक्षा पढेको शिक्षक वा आईएड, विएड वा एकबर्षे विएड गरेको शिक्षकलाई तालिम प्राप्त मानिन्छ ।


हाल शिक्षण पेशामा प्रवेशको लागि तालिम अनिवार्य गरिएको छ । तै पनि पहिले नै प्रवेश गरिसकेका शिक्षकहरु मध्ये हालसम्म पनि १० महिने तालिम वा विएड नगरेका शिक्षकहरु प्रशस्त भेटिन्छन् । निजीस्रोतमा नियुक्त हुने र विद्यालय कर्मचारीमा नियुक्त भई शिक्षण गर्ने शिक्षकहरु, बालविकास सहयोगी शिक्षकहरु, प्राविधिक लगायत गणित, विज्ञान, अङ्गेजी, लेखा जस्ता तोकिएका ९ विषय शिक्षण गर्ने शिक्षकहरु र केहि स्नातकोत्तर शिक्षकहरु शिक्षा शास्त्र नपढेका पनि शिक्षक हुन पाएका छन् ।


जे जति शिक्षकले १० महिने तालिम वा शिक्षा शास्त्र अध्ययन गर्नु भएको छ, केही मात्रामा सैद्धान्तिक ज्ञान प्राप्त गर्नु भएको छ । कहिल्यै कक्षामा नगए पनि, शिक्षकको मुख नदेखे पनि जाँच दिन भने पाईन्छ । प्रयोगात्मक पक्ष भने खासै प्रभाबकारी देखिदैन । कर्मकाण्डी पाराले योजनाहरु निर्माण र सामग्री निर्माणको औपचारिकता पूरा हुन्छ भने बाह्य परिक्षक आउने दिन मात्र उपस्थित भए पुग्ने पाराको शिक्षण अभ्यास हुने गर्दछ । १२ कक्षामा हुने शिक्षण विधि र अभ्यास शिक्षणको हालत झन् उत्साहजनक छैन । यसरी नै भए पनि तालिम प्राप्तमा भने गनिन्छ नै ।


के शिक्षा शास्त्र अध्ययन गर्नु भएका सबै शिक्षकहरुले निम्न कामहरु गर्न सक्नु हुन्छ ?


१) वार्षिक कार्यतालिका, वार्षिक कार्ययोजना , एकाई योजना ,पाठयोजना र शिक्षण सुधार योजना बनाउन
२) संज्ञानात्मक क्षेत्र अनुसार उद्देश्यहरु बर्गिकरण गर्न, प्रश्न निर्माण गर्न र मुल्यांकन गर्न
३) प्रभावी क्षेत्र र मनोक्रियात्मक क्षेत्र अनुसार उद्देश्यहरु वर्गिकरण गर्न, तत् अनुसार क्रियाकलाप सञ्चालन गरि मूल्याङ्कन गर्न
४) प्रत्येक पाठ वा इकाईमा प्रयोग गरिने शैक्षिक सामग्री खोज, निर्माण र संग्रह गर्न
५) पाठ्यक्रम तथा शिक्षक निर्देशिका अध्ययन गरि त्यहि अनुरुपको पाठ्यसामाग्री, सन्दर्भ सामग्री संग्र्रह गर्न र लेखन तथा निर्माण गर्न
६) खेर जाने बस्तु साथै काठ, कागज, ढुङ्गामाटो, पत्रपत्रिका जस्ता बस्तुबाट शैक्षिक सामग्री निर्माण गर्न
७) मोबाईल, क्यामरा, टिभी, म्युजिक सिस्टम, रेडियो, कम्प्युटर, प्राजेक्टर जस्ता सामग्री शिक्षणमा प्रयोग गर्न
८) शैक्षिक सामग्रीहरुको बहुप्रयोगका सम्भाबना खोजी गरि प्रयोग गर्न
९) विभिन्न किसिमका शिक्षण विधि छनौट र प्रयोग गरि शिक्षण गर्न साथै खेल, गितसंगित, नाटक, हाउभाउ आदि बाट शिक्षण गर्न
१०) सुचना प्रविधि जस्तै कम्युटर सफ्टवेयर, ईन्टरनेट, डिजिटल लाईब्रेरी, स्मार्टबोर्ड आदिको प्रयोग गरि शिक्षण गर्न
११) ८ फरक फरक प्रतिभा अनुसार विद्यार्थीहरुको बर्गीकरण गरि प्रतिभा अनुसार फरक फरक तरिका र विधि अनुसार शिक्षण गर्न
१२) शिक्षण मोड्युल र सिकाई माड्युल निर्माण तथा वर्क सीट निर्माण गरि प्रयोग गर्न
१३) सम्भावित परियोजना कार्यहरुको सुुचि बनाई परियोजना कार्य गराउन
१४) प्रयोगात्मक कार्यहरुको शुचि बनाई प्रयोगात्मक कक्षा संचालन गर्न र मूल्याङ्कन गर्न
१५) सहकार्यमुलक, सहभागितात्मक, सहयोगात्मक, मनोरन्जक, समावेशी र समतामुलक शिक्षणको लागि कक्षा व्यवस्थापन गर्न
१६) निरन्तर मूल्याङ्कन, निदानात्मक मूल्याङ्कनको ढाँचा निर्माण र प्रश्न निर्माण गरि उपचारात्मक शिक्षण गर्न र पोर्टफोलियो निर्माण गर्न
१७) स्तरिय मूल्याङ्कनको लागि ग्रिड हेरी प्रश्न पत्र बनाउन, जाँच्न र पद विश्लेषण गर्न
१८) विद्यार्थीहरुको मनोविज्ञान बुझि उत्प्रेरणा जगाउन, विस्मरण कम गराउन, पुनर्बल प्रदान गर्न र द्वन्द्व नियन्त्रण गर्न
१९) कार्यमुलक अनुसन्धान गरि प्रतिबेदन लेखन गर्न र व्यक्तिगत तथा घटना अध्ययन गरि सुझाब पेस गर्न
२०) शारिरीक अभ्यास, खेलकुद, सास्कृतिक कार्यक्रम, गायन नृत्य बाद्यबादन, वादविवाद, वक्तृत्वकला, गीत कविता कथा संवाद निबन्ध लेखन, हाजिरजवाफ, हिज्जे, चित्रकला, हस्तकला जस्ता अतिरिक्त क्रियाकलापमा आफु सहभागी हुन, विद्यार्थीलाई सिकाउन र संचालन गर्न
२१) पेसागत ऐनकानुन, अधिकार कर्तब्य थाहा पाउन र विद्यालयका प्रशासनिक काम गर्न
२२) विद्यार्थी, अभिभाबक र सरोकारवालाहरु सँग प्रभावकारी सम्पर्क तथा छलफल गर्न
२३) शिक्षामा भएका नयाँ खोज, नयाँ विधि र प्रविधि थाहा पाउन साथै आफुले नै नयाँ प्रयोगहरु गर्न


नेपालमा तालिम प्राप्त भनिएका प्रतेक शिक्षकमा उपरोक्त सबै क्षमता र सीप पाईदैन । कतिपय शिक्षकहरुमा त एक दुईवटा पनि पाईदैन । कसरी सबै शिक्षक तालिम प्राप्त भन्न सकिन्छ ? शिक्षकले नै नसिकेको तालिमबाट कक्षाकोठामा के नै पुग्छ र ?


सेवा प्रवेश गर्नु भन्दा अगाडि सिकेका कुराले सधै नपुग्ने, विस्मरण हुने हुनसक्छ । नयाँ विधि र प्रविधिको प्रबेश हुने हुदाँ, साथै सेबा प्रबेश पछि नयाँ समस्या आईलाग्ने हुँदा बेलाबेलामा सेबाकालिन तालिम लिई राख्नु पर्ने हुन्छ । साथी बीचको छलफल, विज्ञ सँग परामर्श, स्वअध्ययन र कार्यमुलक अनुसन्धानबाट पेशागत विकास गराई रहनु पर्दछ । र सेवा कालीन तालिमको आवश्यकता पर्दछ । हाल सेवाकालिन तालिमहरुमा सेबा प्रबेश तालिम, टिपिडि तालिम, प्रअ नेतृत्व विकास तालिम, ICT तालिम, कार्यमुलक अनुसन्धान तालिम,MGML शिक्षण तालिम, बहुकक्षा शिक्षण तालिम, बालविकास शिक्षण तालिम, विषयगत शिक्षण तालिम, स्थानिय पाठ्यक्रम तालिम जस्ता तालिमहरु सरकारी तबरबाट संचालित भएका छन् । त्यस्तै संघसंस्थाहरुबाट मानव अधिकार, स्वास्थ चेतना, समालोचनात्मक चिन्तन्, नेतृत्व विकास, शिक्षण सामाग्री निर्माण र प्रयोग, साना कम्प्युटर र डिजिटल पुस्तकालयको प्रयोग, खेलकुद ब्यायाम, स्काउट जस्ता विषयमा अल्पकालीन तालिम संचालन भै रहेका छन् ।


संघ सस्थाहरुले दिने तालिम लिन भने सबै शिक्षकले पाउनुहुदैन । उनीहरुलाई ईच्छा लागेको क्षेत्रमा मात्र यस्ता तालिम सन्चालन हुन्छन् । यी तालिममा भने विज्ञहरुबाट प्रयोगात्मक तरिकाले सिकाईन्छ । तर यी तालिमहरु आवश्यकतामा आधारित भएर दिईदैन । एउटा संस्थाले दिएको तालिममा प्रअलाई बोलाईयो । नेतृत्व विकास र विद्यालय सुधार योजना सम्बन्धि तालिम रहेछ । तर प्रअले सहायक शिक्षकलाई पठाउनु भएको थियो । अर्काे सस्थाले संचालन गरेको खेलकुद शिक्षक तालिममा सबै खेलहरु र पि टी अभ्यास गराउँदै सिकाईयो । १० दिने उक्त तालिममा १०० भन्दा बढि खेलहरुको अभ्यास भयो । ती खेलहरु सामान्य खेल्न र खेलाउन सक्ने बनाएर खेलका न्युनतम सामग्रीहरु सहित दिएर विद्यालय फर्काईयो ।

तर ८०५ भन्दा बढि शिक्षकहरु दौडिन र खेल्न त के हिड्न पनि गाह्रो हुने उमेरका हरु समाबेश हुनुभएको रहेछ । बाकी २०५ का विद्यालयमा खेलमैदान र कोर्टहरु निर्माण गर्ने ठाउँ थिएन । अर्काे एउटा संस्थाले दिएको तालिममा विद्यार्थीको हातहातमा साना ल्यापटप दिएर सिकाउने तरिका सिकाईयो । डिजटल लाइब्रेरी, ई पुस्तकालय, ई पाटीको प्रयोग गरेर सिकाउने तालिम थियो । सहभागीहरु जागरुक हुनुहुन्थ्यो, तालिम पनि प्रभाबकारी थियो । उहाँहरु कसैको विद्यालयमा पनि न ल्यापटप थियो, न डिजिटल लाईब्रेरी, न ईन्टरनेटको सुविधा । समालोचनात्मक चिन्तन सम्बन्धि एक तालिममा विश्वविद्यालयका एक जना नाम चलेका प्राध्यापक आफ्नो कक्षा पढाउन छोडेर तालिम दिन हिड्नुहुदो रहेछ । शिक्षकहरुले राम्ररी मिहिनेत गरेर पढाउनु हुदैन भनेर गाली गरेर जानू भयो ।

सरकारी तहबाट दिईने तालिमहरु मध्ये TPD तालिम सबै शिक्षकलाई अनिवार्य गरिएको छ । हाल संचालनमा रहेका अन्य छोटा तालिमहरु TPD को ढाँचामा नै सञ्चालन गरिएता पनि अनिबार्य तालिम होईनन् । अन्य तालिम कसैकसैले लिनु भएको छ भने त्एम् तालिम सबै जना शिक्षकले लिनु भएको छ । शिक्षकको आबश्यकताको आधारमा दिईने यो तालिम प्रमाणिकरण हुने र बढुवा प्रयोजनको लागि नम्बर प्राप्त हुने गरि दिईन्छ । १०/१० दिने तीन चरण गरि सम्पन्न हुने यो तालिममा ५ दिन ट्रेनिङ हबमा फेस टु फेस, ३ दिन बराबर कार्यक्षत्रमा स्वअध्ययन र २ दिन परामर्श खण्ड सञ्चालन हुन्छ ।


सरकारी तबरबाट दिईने यी तालिमहरु प्रभाबकारी हुन सकेका छैनन् । आबश्यकता र विशिष्ट समस्या के हो भन्ने राम्रोसँग पहिचान नै नगरि फारम भर्ने काम हुन्छ । विध्यर्थीले राम्ररी पढेनन्, फलानो विषय कसरी पढाउने, मलाई त अंग्रेजी गणित आउँदैन जस्ता समस्या राखिन्छ । “ नक्सा बनाउन कसरी सजिलोसँग सिकाउन सकिन्छ? वा दुई अंकको गुणन सिकाउने सजिलो तरिका छ कि ? वा ज्यामितिय कथन तथा त्रिभुज चतुर्भुजको विशेषता पत्ता लाउने र सम्झिने कुनै उपाय छ कि ? वा अक्षर राम्रो लेख्ने बनाउन के के गर्नुपर्ला? वा विज्ञान कक्षा भित्र नै कसरी प्रयोगात्मक गराउने? “जस्ता समस्या राखिदैन । धेरै जसो समस्या फारमहरु विद्यालय वा ट्रेनिङ हबकै कुनै एक जनाले भरिदिने गरिन्छ ।

TPD ट्रेनरहरु केही रिटायर्ड शिक्षक, कलेज शिक्षक र केही वाह्य विज्ञ भएता पनि अधिकांश नजिकैको शिक्षक हुन्छन् । न विशेष ज्ञान र सीप सिकेको, न नयाँ खोज गरेको, न नयाँ प्रयोग गराएको, न विद्यार्थी उपलब्धी बढि गराएको । तालिम कला बारे अनविज्ञ, वास्तविक रुपमा कक्षा अनुभव नभएको र सम्वन्धित विषय तथा तहको बारेमा थाहा नभएको शिक्षकले कसरी तालिम दिने ? एकै जना प्रशिक्षक सबै विषय सँग सम्बन्धित जिज्ञासा सहजिकरणको लागि उपस्थित हुनेस कुनै स्रोत सामाग्री अध्ययन गर्न नपाई वा नगरी आउने स समस्याको विश्लेषण नगरि काल्पनिक मोड्युल बनाउनेस अन्यत्र कतै भेटिएको मोड्युल धेरथोर घटबढ मिलाएर ल्याउने र मोड्युलमा आधारित नरही तालिम संचालन गर्ने गरेको देखिन्छ । रोष्टर प्रशिक्षक बन्न केही गरेको र जानेको हुनु पर्दैन, मात्र विएड गरेको भए पुग्छ ।


एक पटक एकजना शिक्षक रोष्टर प्रशिक्षक छानिनु भयो । ETC पुगेपछि थाहा भएछ,MGML को प्रशिक्षक ट्रेनिङमा भाग लिनु पर्ने । त्यसअघि कहिल्यै MGML नसुनेको मान्छे, ९ दिन सैद्धान्तिक कुरा सुनेर १ दिन MGML चलेको विध्यालय देख्न पाउनु भएछ । उहाँ MGML ट्रेनर बनेर आउनु भयो, बर्षाै MGMLकक्षा पढाएका शिक्षकहरुको समस्या समाधान गर्न तालिम दिन जानुहुनेछ । कहिल्यै कार्यमुलक अनुसन्धान नसुनेको एक शिक्षक दुई तिने TOT पछि कार्यमुलक अनुसन्धान ५ दिने तालिम दिन आउनु भएछ । एउटा किताब पढेर सुनाई दिनु भो । एक जना रोष्टर माध्यमिक नेपाली शिक्षकलाई स्रोत ब्यक्तिले प्राथमिक तहमा सबै विषयको ट्रेनिङ दिने गरि बोलाईएछ । मोड्युल ल्याउने र उद्घाटन समापन सेसन चलाउने जिम्मा स्रोत ब्यक्तिले लिनु भएछ । बाकी तेह्र सेसन एक्लै भ्याई दिनु भएछ । स्थानिय भाषा नबुझ्नेहरु स्थानिय भाषा शिक्षकलाई तालिम दिईरहेका पनि भेटिन्छन् ।


जब तालिम शुरु हुन्छ, सक्न कै हतारो। आफुलाई काम लाग्ने, आफ्नो समस्या समाधान हुने र सिकौँ सिकौँ लाग्ने केही नै भेट्दैनन् शिक्षकले । आफ्नो वास्तविक समस्या बारे कसैले कुरा राख्दैन, आफु कमजोर ठानिने डरले । तालिमको औपचारिकता, भत्ताको लोभ र बढुवाको आशा मात्र देखिएको हुन्छ । त्यसैले त ५ दिने तालिम २ दिनमै पनि सकिन्छ कतैकतै । स्वाध्यायन खण्ड र परामर्श खण्ड त चल्दै चल्दैन भने पनि हुन्छ । विध्यालयबाट माईन्युट गरेर स्रोतकेन्द्र पठाई दिएपछि पुग्यो, परामर्श दिन कोहि आउनु पर्दैन । कार्यमुलक अनुसन्धान, शिक्षण सुधार योजना कार्यन्वयन, प्रतिबेदन आदि नभए पनि तालिम पूरा भयो ।

एक शिक्षकले निरन्तर मूल्याङ्कन विधिको तालिम लिए पछि भन्नू भयो, “ सजिलो रहेछ । पुरै जाने ३ ठिक, आधा जाने २ ठिक, अलिअलि जाने १ ठिक, तर ठिक चै दिनु पर्छ रे ।“ मुल्याङ्कन कसरी कसरी गर्ने भन्ने चै केही थाहा छैन । यसो हेरेर थाहा हुन्छ रे जाने नजानेको चाँहि  । स्थानिय पाठ्यक्रम निर्माण तालिम लिनेले पाठ्यक्रम निर्माण गर्न सक्दैन। प्रश्नपत्र निर्माण कार्यशाला पूरा गर्नेले उद्देश्यहरुको संज्ञानात्मक बर्गिकरण गरि प्रश्न निर्माण गर्न सक्दैन। तै पनि सबै शिक्षकलाई तालिम प्राप्त बनाउने सरकारी लक्ष्य पूरा भयो ।

यी माथीका कुराले सबैले केही सिकाउँदैन, सबैले केही सिक्दैन भन्न खोजेको होईन । केही प्रशिक्षक र शिक्षकहरुले धेरै सिक्नु र सिकाउनु भएको छ । उहाँहरुले पनि विश्वविद्यालय वा सरकारी तालिमबाट होईन स स्बाध्यायन, खोज, अनुसन्धान र प्रयोगबाट सिक्नु भएको हो । केही शिक्षकहरुले सिकेका कुराहरु कक्षाकोठामा प्रयोग प्रयोग गर्नु हुन्छ पनि । तर बहुसंख्यक शिक्षकले तालिमबाट केही सिक्नु भएको छैन, तालिमबाट सिकेको केही केही सीप पनि कक्षाकोठामा प्रयोग भएको छैन । यस्तो अबस्थामा  अल्पसंख्यक तर परिणाममुखि शिक्षकहरुले गरेको प्रयास नगन्य हुदो रहेछ । र भनिदो रहेछ, “शिक्षकलाई दिएको तालिम कक्षाकोठामा पुगेन ।“

Comments: