२०७६ असोज २ गते

'हरेक बार खाना चार'

तुलसीपुर । दाङमा ५ वर्षमुनिका १२ सय बालबालिकालाई कुपोषणबाट जोगाउन जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँकेन्द्रित अभियान सञ्चालन गर्ने भएको छ। कार्यालयले स्वास्थ्यकर्मीलाई गाउँगाउँमा खटाउँदै अभियानलाई प्रभावकारी बनाउने जनाएको छ। गाउँमा खटाइने स्वास्थ्यकर्मीलाई कुपोषणबाट पीडित बालबालिकाको लक्षण र तत्काल गर्नुपर्ने प्रारम्भिक उपचारका विषयमा प्रशिक्षण दिएको छ। उनीहरूलाई ‘हरेक बार खाना चार' अनिवार्य गर्नुपर्ने भन्दै जानकारी गराइने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक ओमप्रकाश न्यौपानेले बताए।

अन्न, कन्दमूल, गेडागुडी, दालजन्य वस्तु, सागपात तथा फलफूल र पशुपक्षीजन्य विषयमा प्रशिक्षित गराइएको जनस्वास्थ्य निरीक्षक न्यौपानेले बताए। शीघ्र कुपोषण र मध्यमखाले कुपोषणलाई घटाउने लक्ष्यअनुरूप जिल्लाका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कुपोषणसम्बन्धी जानकारी गराई कार्यक्षेत्रमा खटाइने तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रतिनिधि वसन्त आचार्यले जानकारी दिए।

अभियानमा कुपोषणको लक्षण, तौल र उचाइ नापलगायत विभिन्न विषयमा बालबालिकाको तौल अनुगमन, पाखुराको नाप, उचाइअनुसार तौलमा विशेष ध्यान दिइनेछ। संविधानमा समेत पोषणयुक्त खानाको व्यवस्था गर्ने उल्लेख गरिएकाले यस कार्यक्रमलाई दुई वर्षदेखि विशेष महत्वसाथ हेरिएको र अब पश्चिम दाङका तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाका २५ जना स्वास्थ्यकर्मीलाई खटाउन तालिम दिइएको न्यौपानेले बताए।


अन्नपुर्णपोष्टमा गोपाल शर्माले खबर लेखेका छन् ।

Comments: