२०७६ असोज २ गते

प्रहरी नियन्त्रणमा रहेका शिक्षक महाकालीमा हामफाले

दार्चुला  । प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका भगवती आधारभुत विद्यालयका शिक्षक मदनसिंह रैखोला सोमबार दिउँसो महाकालीमा हामफालेका छन् । महाकाली नगरपालिका-६ थालिगडाबाट प्रहरीले उनलाई नियन्त्रणमा लिई सदरमुकाम खलंगा ल्याउने क्रममा महाकाली नगरपालिका कै ५ किम्तडीभीरबाट महाकालीमा हामफालेको प्रहरीले जनाएको छ ।

शिक्षक र सोही विद्यालयकी शिक्षिकाबीच लेनदेनको विषयलाई लिएर आइतबार फोनबाट शिक्षिकाले जिल्ला प्रहरी कार्यालयलाई आफू माथि हातपात गरेको जानकारी गरेपछि सादा पोशाकका प्रहरीले सोमबार शिक्षकलाई नियन्त्रणमा लिई जिप्रका ल्याउँदै थिए । घटनाबारे आवश्यक अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिई महाकाली यातायात समितिको म१ज २१२ नम्बरको जिपबाट ल्याउँदै गर्दा रैखोला नदीमा हामफालेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धापबाट जिल्ला प्रहरी कार्यालय खलंगा ल्याउने क्रममा किम्तडीभिरमा अचानक चालकलाई झम्टेर गाडीको ढोका खोली चलिरहेकै गाडीबाट महाकाली नदीमा हामफाली बेपत्ता भएको जिप्रकाले जनाएको छ । प्रहरीले बेपत्ता शिक्षकलाई खोजीका लागि जिप्रका, सशस्त्र सीमा सुरक्षा बल गुल्मका सशस्त्रको संयुक्त टोली खटाइएको दार्चुलाका डिएसपी नवराज अधिकारीले बताए । घटनाका विषयमा थप अनुसन्धानपछि जानकारी दिइने उनको भनाई छ ।

शिक्षकलाई नियन्त्रण गरी प्रहरीले सार्वजनिक यातायातका जिपमा सादा पोशाकका खटिएका प्रहरीलाई खलंगा ल्याइरहेको गाडीसहित चालक महेशराज बडूलाई प्रहरी नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रण लिइसकेका शिक्षकले नदीमा हाम फालेर बेपत्ता भएपछि आफन्तजन र धापका स्थानीयले जिप्रका घेराउ गरेका छन् । प्रहरीकै हातबाट नदीमा हाम फाल्नु समान्य नभएको भन्दै स्थानीयले प्रहरीप्रति शंका उत्पन्न भएको आरोप लगाएका छन् ।

विद्यालयका प्रधानाध्यापक समेत रहेका रैखोला र उक्त विद्यालयमा दरबन्दी रहेकी शान्ति धामी पछिल्लो समय मालिकार्जुन गाउँपालिकाको विद्यालयमा काज सरुवा भएपछि शिक्षिकालाई तीन हजार शान्तिले र दुई हजार रुपैयाँ प्रअ रैखालाले दिने सहमतिमा शिक्षिकालाई खेतला शिक्षकमा रुपमा राखेको थियो ।

मनोज बडूले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: