२०७६ असोज १ गते

जोखिममा इँटाभट्टाका बालबालिका

भक्तपुर । इँटाभट्टाको पोखरी बालबालिकाका लागि असुरक्षित र जोखिम बन्दै गएको छ । व्यवसायीले इँटाभट्टा सञ्चालन गर्दा सुरक्षातर्फ ध्यान नदिँदा जोखिम बढेको हो । जोखिमसँगै कामदारका बालबालिका असुरक्षित बन्दै गएका छन् ।

गत शुक्रबार सूर्यविनायक ६, सिपाडोलस्थित ओम इँटाभट्टाका मजदुर काभ्रे कामीडाँडाका मन्दीप तामाङकी डेढ वर्षीया छोरी उर्मिलाको पोखरीमा डुबेर मृत्यु भएको छ । व्यवसायीले इँटा उद्योगमा पानी जम्मा गर्न ठाउँठाउँमा बनाइएका अस्थायी पोखरीवरपर छेकबारको व्यवस्था गरेका छैनन् । प्रत्येक वर्ष भट्टामा बनाइएका यस्ता पोखरीमा डुबेर बालबालिकाको मृत्यु हुने गरेको छ ।

गत वर्ष इँटा उद्योगको पोखरीमा डुबेर ६ बालबालिकाले ज्यान गुमाएका थिए । ‘भट्टा सञ्चालन सुरु हुनुअघि नै व्यवसायीले पोखरी छेकबारको व्यवस्था गर्नुपर्ने हुन्छ,’ महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी मित्रबन्धु शर्माले भने, ‘अनिवार्य रूपमा पोखरीको व्यवस्थापन नगर्ने व्यवसायीलाई कारबाही हुन्छ ।’ तर, अधिकांश भट्टा सञ्चालकले पोखरी खुला छाडेका छन् । ‘इँटाभट्टा सञ्चालनसँगै कामदारको सुरक्षाको जिम्मा पनि व्यवसायीले लिनुपर्ने हुन्छ,’ उनले भने ।

व्यवसायीले उद्योग सञ्चालन गर्दा बालबालिकाको सुरक्षा र बालअधिकारलाई ध्यान दिनुपर्ने मापदण्डमा उल्लेख छ । तर, जिल्लाका अधिकांश उद्योगले मापदण्ड पूरा गरेका छैनन् । बनाइएका अस्थायी पोखरीमा तारबार गर्नुपर्ने, ५ वर्षमुनिका बालबालिकालाई दिवा शिशु स्याहार कक्षाको स्थापना गरिएको हुनुपर्ने, मजदुरका विद्यालय जाने उमेरका बालबालिकालाई अनिवार्य विद्यालय पठाउने, यसका लागि अभिभावक, गैसस तथा जिल्ला शिक्षा कार्यालयसँग समन्वय भएको हुनुपर्ने, १४ वर्षमुनिका बालबालिकालाई कामदारका रूपमा प्रयोग गर्न नपाइने, शौचालयको व्यवस्था गर्नुपर्ने बालकल्याण समितिको मापदण्ड छ ।

त्यस्तै, शुद्ध खानेपानीको व्यवस्था, प्रत्येक उद्योगमा व्यवसायीकै पहलमा ५ सदस्यीय बाल संरक्षण समिति गठन गर्नुपर्ने, बालबालिकामाथि हुने र हुन सक्ने दुव्र्यवहार रोक्न सचेत रहनुपर्ने मापदण्डमा उल्लेख छ । जिल्ला बालकल्याण समिति भक्तपुरले व्यवसायीलाई भेला गराएर तत्काल पोखरीमा तारबारको व्यवस्था गर्न निर्देशन दिइसकेको समिति संयोजक एवं प्रजिअ तेजप्रसाद पौडेलले बताए ।

जिल्लाका अधिकांश इँटाभट्टाले व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्ड पूरा गरेका छैनन् । जिल्लामा ६२ इँटा उद्योग सञ्चालित छन् । भट्टामा आउने मजदुरसँगै बालबालिका पनि साथै आउने गर्छन् । एक इँटाभट्टामा २ देखि ४ सय मजदुर कार्यरत छन् । प्रत्येक उद्योग सञ्चालकलाई कामदार तथा बालबालिकाको तथ्यांक बुझाउन निर्देशन दिएकोसमेत पौडेलले बताए ।

इँटा व्यवसायी संघले भने उद्योगमा कार्यरत मजदुरका बालबालिकाको शिक्षा र सुरक्षामा सञ्चालकले गम्भीरतापूर्वक काम गरेको जनाएको छ । ‘इँटा बनाउन अस्थायी पोखरी निर्माण गर्नैपर्ने हुन्छ,’ भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ हयाम्बाले भने, ‘बालबालिकाको सुरक्षाका लागि पोखरीवरिपरि तारबारको व्यवस्था गर्ने कार्य भएको छ ।’कान्तिपुरमा खवर छ ।

Comments: