२०७६ मंसिर ४ गते

निजीको भन्दा कम छैन ज्ञानोदय माविको नतिजा, ७४ जनाको जिपिए ३.६५ माथि

ईपाटी संवाददाता


काठमाडौं । काठमाडौं बाफल स्थित ज्ञानोदय माविको एसइइ नतिजा कुनै निजी विद्यालयको भन्दा कम छैन ।


एसइइ परीक्षामा सहभागी  २ सय ६ जना विद्यार्थी मध्ये ७४ जनाले  ३.६५ बढी जिपिए प्राप्त गरेका छन् । त्यस्तै,  ५१ जनाले  ३.२५ देखि ३.६ र  ५९ जनाले २.८ देखि ३.२ जिपिए ल्याउन सफल भएका हुन् । त्यस्तै,  २० जनाले २.४ देखि २.८ र २ जनाले २.३ देखि २.३५ जिपिए ल्याउन सफल भएका प्रधानाध्यापक नातिकाजी महर्जनले  जानकारी दिए ।


प्राविधिकतर्फ सिभिल इञ्जिनियरिङमा परीक्षामा सहभागी पहिलो ब्याचका ४७ विद्यार्थी मध्ये  ४३ जनाले ३.६५ बढी जिपिए प्राप्त गरेका महर्जनले जानकारी दिए । त्यस्तै,  ४ जनाको नतिजा ३.२ बढी जिपिए रहेको छ । गत वर्ष ३.२ भन्दा माथि ३.६ सम्म जिपिए ल्याउने विद्यार्थी ५८ जना, ३.६ देखि माथि ४ सम्म जिपिए ल्याउने ४८ जना थिए ।

विद्यालयले  समुदायकै आग्रहमा नर्सरीदेखि नै अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ ।  विद्यालयले सिकाइमा सूचनाप्रविधिको प्रयोगलाई विशेष जोड दिँदै आएकोछ ।

उत्कृष्ट नतिजा बारे प्रधानाध्यापक महर्जन भन्छन्– ‘हामी किताब पढाउँदैनौं, त्यहाँका विषयवस्तु खोजेर कम्प्यूटर, इन्टरनेट, आइसिटीका माध्यमबाट सिकाउछौं । हामीकहाँ कम्प्यूटर, आइसिटी, स्मार्टका छुट्टाछुट्टै कक्षाहरु छन् ।’

शिक्षकहरुलाई पनि सूचना प्रविधिमैत्री बनाउन विद्यालयले नै ट्यावलेटहरु वितरण गरेको छ । आइसिटीका तालिमहरुसमेत दिइएको छ । कक्षा ४ देखि ८ सम्म कम्प्यूटर कक्षा अनिवार्य गरिएको छ । ९ देखि १२ सम्म ऐच्छिक रुपमा पढ्ने व्यवस्था गरिएको छ ।

 शिक्षकहरुले ट्यावलेटबाटै नयाँ कुरा खोज्ने, दैनिक पाठ योजना बनाउने, सन्दर्भ–सामग्री तयार गर्ने काम गर्छन ।

आइसिटी ल्यावको प्रयोग पछि विद्यार्थीमा पनि हौसला मिलेको शिक्षक गोविन्द भण्डारी बताउछन् ।

अतिरिक्त कक्षा, कक्षा ९ मा अर्थशास्त्र, वातावरण लिएर पढ्नेको छुट्टै समूह बनाएर अन्य विद्यार्थी १० बजेदेखि पढ्नेभएपनि उनीहरुलाई थप एक पिरियड विज्ञान र गणित पढाउने गरिएको छ ।

परीक्षासँग विद्यार्थी परिचित हुनुपर्छ भनेर हरेक शनिबार परीक्षा सञ्चालन गरिने गरिएको छ ।

‘हामी हरेक दिन नयाँ दिन मानेर मिहिनेत गरिरहेका छौं । अहिले ज्ञानोदयमा पढ्छु र पढाउछु भन्दा गौरव गर्ने अवस्था बनेको छ । यो गौरवका लागि हाम्रो समूहको ठूलो मिहिनेत, दुःख र परिश्रम छ ।’ प्रधानाध्यापक महर्जन भन्छन्–‘हामी नयाँ केही गरेका छैनौं तर हरेक काम नयाँ ढंगले गर्ने गर्छौं ।’




Comments: