२०७६ असोज २ गते

विशेष शिक्षा गुरुयोजना तयार

काठमाडौँ । शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले अपांगता भएका बालबालिकाका निम्ति चार वर्षे विशेष शिक्षा गुरुयोजना बनाएका छन् ।

दक्षिण कोरियाको छाङओन नेसनल युनिभर्सिटीको सहयोगमा तयार गुरुयोजनामा एउटा प्रदेशमा कम्तीमा एउटा विशेष नमुना विद्यालय सञ्चालन गर्ने जनाइएको छ ।

शिक्षाविद् डा. हृदयरत्न वज्राचार्यले मन्त्रालयका तर्फबाट बिहीबार गुरुयोजना (सन् २०१९–२०२३) प्रस्तुत गर्दै संघ, प्रदेश र स्थानीय सरकारको उत्तरदायित्वसहित अघि बढ्ने बताए । ‘विशेष शिक्षा दिने पहिलो दायित्व सरकारको हो, त्यस निम्ति समाज तथा परिवारसँग समन्वय हुनेछ,’ उनले भने । अपांगता भएका नागरिकको शिक्षालाई राज्यको दायित्वअन्तर्गत सुनिश्चित गरिएकाले गुरुयोजनालाई सरकारले स्वामित्व लिएर अघि बढ्नुपर्ने उनले बताए ।

गुरुयोजनामा स्पष्ट अवधारणासहित स्थानीय सरकारले अपांगता भएका बालबालिकाको तथ्यांक यकिन गर्नुपर्ने, त्यसका लागि एउटा प्रदेशमा कम्तीमा एउटा विशेष नमुना विद्यालय सञ्चालन गर्नुपर्ने उल्लेख छ । त्यसैगरी अपांगतामैत्री भौतिक पूर्वाधारको विकास, मानवीय स्रोत व्यवस्थापन, पाठ्यक्रम तथा पाठ्यपुस्तक, सन्दर्भ सामग्री, अपांगताको प्रकृतिअनुसारका सहयोगी सामग्रीलाई प्राथमिकता दिनुपर्ने गुरुयोजनामा जनाइएको छ । गुरुयोजना लागू गर्न शिक्षा मन्त्रालय, विश्वविद्यालय, सहयोग गर्ने सरकारी र गैरसरकारी निकायसित समन्वय गर्न जरुरी रहेको बज्राचार्यले बताए । त्यस निम्ति तत्काल ४० वटा विशेष विद्यालय सुचारु गर्नुपर्ने उनको प्रस्ताव छ ।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विशेष आवश्यकता शिक्षा गुरुयोजना कार्यान्वयनका निम्ति सकारात्मक पहल गर्ने बताए । ‘गुरुयोजना मागदर्शक हुनेछ र यसको कार्यान्वयन महत्त्वपूर्ण पक्ष हो,’ गुरुयोजना सार्वजनिकीकरण कार्यक्रममा महानिर्देशक पौडेलले भने, ‘सरकारको नीति, कार्यक्रम र बजेटमा विशेष शिक्षा प्रतिबिम्बित हुनेछ ।’ त्रिवि उपकुलपति तीर्थराज खनियाँले विकसित मुलुकमा सभ्यताको परिचायकका आधारका रूपमा अपांगता भएका, गरिब, बालबालिका, निमुखा, वृद्धवृद्धा, महिलाको अधिकारलाई लिने गरिएको बताए । ‘मुलुकले सभ्यताको संरक्षण गर्न विशेष समावेशी शिक्षालाई सम्मान र व्यवस्थित गर्न आवश्यक छ,’ उनले भने, ‘त्यस निम्ति त्रिवि सहयोग गर्न तत्पर छ ।’

यसैबीच शिक्षा मन्त्रालयले सहसचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा ‘विशेष आवश्यकता शिक्षा/समावेशी शिक्षा गुरुयोजना’ कार्यदल गठन गरेको छ । कार्यदलमा त्रिभुवन विश्वविद्यालयको तर्फबाट शिक्षाविद् प्राध्यापक वासुदेव काफ्ले, प्राध्यापक अरबिन्दलाल भोमी र सहप्राध्यापक गोपालप्रसाद पाण्डे, मन्त्रालयका उपसचिव मुकुन्दमणि खनाल र शिक्षा विभागबाट उपनिर्देशक गणेशप्रसाद पौडेल छन् । त्यसैगरी परामर्शदाताका रूपमा त्रिवि शिक्षाशास्त्र संकायका डिन प्राध्यापक कृष्णप्रसाद गौतम, कोरियाको छाङओन नेसनल युनिभर्सिटीका प्राध्यापक दाय योङ जङ र अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) की संयोजक युजिन सिम छन् ।

गणेश राईले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: