२०७६ असोज ३० गते

गोठमै पठनपाठन

अन्तैबाट

रुकुमपूर्व । यहाँस्थित एक विद्यालयमा भर्ना भएका छात्रछात्रा गोठमा पढ्दै आएका छन् । भवन अभावमा पुथाउत्तरगंगा गाउँपालिका ५ उज्र्याङको बालकल्याण आधारभूत विद्यालयका बालबालिका गोठमा पढ्ने गरेका हुन् ।

बालशिक्षादेखि कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयका १, २ र ३ कक्षाका विद्यार्थी झरी होस् या टन्टलापुर घाम, गोठमा पढ्छन् । भवन अपुग भएपछि उनीहरूको कक्षा गोठमा सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

स्थानीयको पहलमा २०६५ सालमा विद्यालय स्थापना भएको थियो । ५ कक्षा सञ्चालन गरेपछि कक्षाकोठा अभाव भएको प्रधानाध्यापक अशोक घर्तीमगरले बताए । ०७० सालयताका हरेक वर्षा र हिउँद गोठमै पठनपाठन गरेर कटाइएको उनले बताए । उनका अनुसार विद्यालयमा तीन कोठा अपुग छन् । अहिले दुई भवन छन् । ती भवनका पाँच कोठामा कार्यालय, बाल शिक्षा कक्षा ४ र ५ को पठनपाठन भइरहेको छ । गोठमा पानी चुहिने, पानी पर्दा जस्तापाता बजेको आवाज भित्रसम्म आउँदा पढाइमा बाधा परिरहेको विद्यार्थीले बताए । एउटै गोठभित्र दुई ठाउँँमा काठले बारेर तीनवटा कक्षा सञ्चालन गरिरहेको प्रधानाध्यापकले बताए ।

बालशिक्षासहित ५ कक्षासम्म पठनपाठन गराउने स्वीकृति प्रदान गरेको सरकारले विद्यालयलाई बालशिक्षा सहयोगी कार्यकर्ताबाहेक अरू सुविधा दिन सकेको छैन । गाउँदेखि टाढा भएकाले स्थानीय अभिभावकले नजिकै विद्यालय स्थापनाको पहल गरेका थिए । स–साना बालबालिकालाई पढ्न जानै अप्ठ्यारो भएपछि विद्यालय स्थापना गर्न गाउँले अघिसरेका थिए । आफैंले शिक्षकको तलब बेहोर्ने जिम्मा लिएर विद्यालय स्थापना गरेका थिए । तर, उनीहरूले भवन बनाउन सकेनन् । विद्यालयमा नियुक्त शिक्षकको तलबभत्ता जुटाउन समस्या भइरहेका बेला भवन बनाउनु चानचुने कुरा नभएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष उर्दबहादुर कामीले बताए ।

हरेक महिना तलबका लागि २६ हजार रुपैयाँ जुटाउन हम्मेहम्मे परेको छ । तीन जना निजी स्रोतका शिक्षकको मासिक तलब ८ हजारका दरले २४ हजार रुपैयाँ र बाल शिक्षा सहयोगी कार्यकर्तालाई दुई हजार रुपैयाँ थप्ने पैसा जुटाउन हैरानी बेहोर्नु परिरहेको अध्यक्ष कामीले बताए ।

विद्यालयको आम्दानी भनेकै गाउँको चरिचरनबाट संकलन गरिएको शुल्क र गाउँलेले जम्मा गरेको शुल्क हो । यसैगरी गाउँमा हुने विभिन्न खालका विकास निर्माणमा श्रमदान गरेर उक्त बजेट बचाई विद्यालयका लागि खर्च गरिन्छ । शिक्षकको तलबभत्ता तथा अन्य व्यवस्थापनका लागि गाउँलेले नै स्थपनाकालदेखि नै योगदान गर्दै आएका छन् । उक्त विद्यालयमा हाल २ सय ५० विद्यार्थीले अध्ययन गरिरहेका छन् । ‘स्थानीयले योगदान नगर्ने हो भने विद्यालय सञ्चालन गर्नै सकिँदैन, गाउँमै विद्यालय नभए ससाना बालबालिकाले दु:ख पाउँछन्,’ अध्यक्ष कामीले भने, ‘त्यसैले जसोतसो भए पनि शिक्षा दिइरहेका छौं ।’

हरि गौतमले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: