२०७७ जेष्ठ १७ गते

पढ्न जाँदैनन् बालबालिका

अन्तैबाट

काठमाडौँ । बृन्दावन–७ का सञ्जय मली (डोम) ले आफ्नो छोरालाई नजिकको धमौरा बिद्यालयमा भर्ना गराए पनि नियमित पढ्न पठाउँदैनन् । आर्थिक अभावकै कारणले उनले छोरालाई पढाउने चासो नदेखाएका हुन् । उनी जस्ता थुप्रै दलितका बालबालिका विद्यालयमा भर्ना भए पनिघरमै बस्छन् ।

जिल्लाभरि डोम समुदायका झन्डै ४ सयभन्दा बढी विद्यालय जाने उमेरका बालबालिका छन् । तीमध्ये २ सय मात्र विद्यालय भर्ना भएका छन् । भर्ना भएका धेरै बालबालिका गरिबीका कारण पढ्न जाँदैनन् । उनीहरूकै अभिभावकले पठाउँदैनन् । जिल्लामा ६ कक्षादेखि माथिका कक्षामा पढ्ने डोम विद्यार्थी १० जना मात्र छन् ।

कक्षा १० मा दुई किशोर पढिरहेका छन् । मौलापुरमा दुई, धर्मपुरमा एक, महम्दपुरमा २, गौरमा ३, सरमुजुवामा २ जना हाल अध्ययनरत छन् । उनीहरूलाई आर्थिक अभावका कारण पढ्न समस्या हुँदै आएको डोम समुदाय विकास केन्द्रका पूर्वअध्यक्ष विजय मली डोमले बताए । ‘हाम्रो समुदायमा आर्थिक अभावकै कारण बालबालिका विद्यालय जाँदैनन्,’ उनले भने, ‘चरम गरिबी र पढेर केही हुँदैन भन्ने मानसिकताकै कारण उच्च शिक्षा हासिल गर्ने न्यून छन् ।’

जिल्लामा अहिलेसम्म एसएलसी उत्तीर्ण गरेका डोम जातिका दुई जना मात्र छन् । माधवनारायण ५ मिठुअवाका विजयले स्नातक गरेका छन् । मौलापुरका धिरज डोम अहिले १२ कक्षा पढ्दै छन् । कक्षा ९ मा पढ्दै गरेका धमौराका निरज मली डोमले पढ्न धेरै समस्या रहेको बताए । गरिबीका कारण खानकै समस्या हुने गरेको जसोजसो पढ्दै आएको उनको गुनासो छ ।

डोम विद्यार्थीले किताब, कापीकलम, पोसाक किन्ने पैसा अभाव हुने गरेको गुनासो छ । दलितमध्ये यो जाति धेरै पिछडिएको छ । जिल्लामा डोम समुदायमा उच्च शिक्षा हासिल गर्ने विजय मात्रै हुन् । उनी केही वर्ष अघिदेखि डोम जातिको उत्थानमा सक्रिय छन् । उनी गाउँ/गाउँ पुगेर विद्यालय पठाउन अनुरोध गर्छन् । तर, आर्थिक अभावकै कारण अभिभावकले नमान्ने उनले सुनाए ।

धमौराटोलमा ९ घर डोम जाति सडक किनाराको सार्वजनिक जमिनमा बस्छन् । टोलका धेरै बालबालिका जिद्यालय जाँदैनन् । कटहरिया नगरपालिकामा ७० जना डोम जातिको बसोबास छ । यस नगरपालिकाको बिर्ति, कटहरिया, फतेपुर, जमुनिया, बरेर्वामा १३ घर डोम जातिको बसोबास छ । विद्यालय जाने उमेरका करिब ४० बालबालिका भए पनि ११ जना मात्रै भर्ना छन् । ६ बालिका र ५ बालक प्राथमिक तहमा पढ्छन । उनीहरूलाई पनि शैक्षिक सामग्री, पोसाकको अभाव भएको गुनासो गर्छन् ।

कटहरियाका मेयर सियाराम कुशवाहले डोम बालबालिकाको पढाइमा सहयोग गर्न रकम छुट्याइएको बताए । ‘हामीले दलितलाई पनि केही गरौ भनेर रकम छुट्याएका छौं,’ उनले भने, ‘दलितको शिक्षा स्वास्थ्यमा नगरपालिकाको तर्फबाट केही न केही गर्ने सोच छ ।’ स्थानीय तहले दलित समुदायका लागि चासो नदेखाएको अगुवा बताउँछन् । यस जिल्लामा विद्यालय जाने उमेरका दलित बालबालिकाको यथार्थ विवरण छैन । डोम, चमार, मुसहरलगायत दलित बालबालिका विद्यालय भर्ना भएर पनि जाँदैनन् ।

विद्यार्थी भर्ना अभियान, व्यक्तिगत तथा वस्तीको सरसफाइ, स्वास्थ्यबारे जानकारी, दाइजो प्रथा रोक्ने, मदिरा सेवनमा रोक लगाउने, अभिभावकलाई रोजगारी र बचततर्फ चेतना अभिवृद्धि गर्न जरुरी रहेको विजयले बताए । यस जिल्लामा ९५ प्रतिशत डोमको घरबास छैन् । उनीहरू सुकुम्बासी छन् । सडक किनार, नहरको डिल, सार्वजनिक जमिनमा उनीहरू झुपडी बनाई बस्छन् । जिल्लाका विभिन्न गाउँमा १ सय ६० घर डोमको छ । करिब १३ सय डोमको जनसंख्या रहेको छ । बस्तीमा खानेपानीको धारा छैन ।

शौचालय छैन । जीर्ण झुपडीमा रात काट्न बाध्य छन् । जाडोमा बालबालिका तथा वृद्धवृद्धाहरू थप पीडामा पर्छन् । यो समुदायलाई दैनिक खानकै समस्या हुन्छ । यही कारण छोरा छोरी पढाउनेतर्फ ध्यान दिन नसकेको स्थानीय सिकेन्द्र मली डोमले सुनाए ।
दलित समुदायमध्ये मुसहर पनि एक हो । यो समुदायको बालबालीको समस्या पनि उस्तै छ । उनीहरू आर्थिक अभाव देखाएर विद्यालय जाँदैनन् ।

चन्द्रपुर १० मा रहेको जनप्रिय प्राविमा १२ दलित समुदायका बालबालिका भर्ना छन् । तर कहिले पनि विद्यालय जाँदैनन् । विद्यालयका प्रधानाध्यापक वीरेन्द्र प्रसादले दैनिक बस्तीमै पुगेर सम्झाउने गरेको सुनाए । ‘जहिले पनि बालबालिकालाई विद्यालय पठाउन सम्झाउनुपर्छ,’ उनले भने, ‘अभिभावकले नै पढ्न पठाउँदैनन् ।’ घर अगाडि नै विद्यालय भए पनि मुसहर समुदायका छोराछोरीलाई विद्यालय पठाउँदैनन् ।

जिल्लाभरि विद्यालय जाने उमेरका मुसहर बालबालिकाको संख्या २ हजार बढी छ । तर आधाजसो मात्र विद्यालय भर्ना भएका छन् । तीमध्ये आधाजसो विद्यालय जाँदैनन् ।

बृन्दावनका मेयर रामस्नेही रायले दलित समुदायका मानिसलाई जति सम्झाए पनि नमान्ने बताए । ‘हामीले आर्थिक सहयोग गर्छौं भनेका छौं तर पनि बालबालिकालाई घरै राख्छन् तर विद्यालय पठाउँदैनन्,’ उनले भने, ‘आफ्नो छोराछोरीलाई पढाउनुपर्छ । उच्च शिक्षाबारे ज्ञान दिलाउनुपर्छ भन्ने चेतना नभएसम्मविद्यालय पठाउँदैनन् ।’

शिव पुरीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: