२०७६ मंसिर २९ गते

शिक्षा अस्तव्यस्त, शिक्षामन्त्री भने सयर र सरुवामै मस्त

निकटकालाई राम्रा निकायमा सरुवा


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको ध्यान नीतिगत काममा भन्दा पनि विदेश सयर र सरुवा बढुवामा बढी पाइएको छ । केही दिनअघि भारत भ्रमणमा जानुभएको शिक्षामन्त्री पोखरेल गत ३० जेठमा चीनको युनान प्रान्तका शिक्षामन्त्रीको निमन्त्रणमा चीनको कुन्मिङ उड्नुभएको थियो ।


मन्त्रालयमा आवश्यकभन्दा बढी स्वकीय सचिवालयहरुको भिड लगाएको, शिक्षामा महत्वपूर्ण निर्णय गर्नुपर्ने बेला विदेश भ्रमणमा निस्कने गरेको भन्दै मन्त्री पोखरेलको आलोचना हुन थालेको छ ।


आधाभन्दा बढी स्थानीय तहमा शिक्षाका कर्मचारी पुग्न सकेका छैनन् । शिक्षा मन्त्रालय र शिक्षा विभागमा शिक्षाका उपसचिवहरुको थुप्रो लागेका छन् । उनीहरु हाजिर गरेर बाहिरिने गरेका छन् । अस्थायी शिक्षक, विद्यालय कर्मचारी र प्रारिम्भक बालशिक्षाका शिक्षकहरुको समस्या थाँती छ । दोस्रो चरणको भर्ना अभियान, राष्ट्रिय पाठ्यक्रम प्रारुप, संघीय शिक्षा र अनिवार्य शिक्षा ऐन मस्यौदा निर्माणलगायतका काम चलिरहेको छ । तर, शिक्षामन्त्री भने विदेश सयर र कर्मचारी सरुवामै व्यस्त देखिँदै आउनुभएको छ ।


केही समयअघि असार मसान्त पछि खारेज हुने शिक्षा विकास तथा समन्वय इकाईमा व्यापक कर्मचारी सरुवा गर्नुभएका उहाँले चीन भ्रमणमा जानुअघि आफू निकटका सहसचिवलाई राम्रा भनिने शाखा र निकायमा सरुवा गर्नुभएको छ । आफ्नो दल निकटको कर्मचारी संगठनलाई पनि पत्तो नदिई मन्त्री पोखरेल ६ सहसचिवको सरुवा गरेर चीनतर्फ उड्नुभयो र यही २ असारमा स्वदेश फर्कनुभएको छ ।


उहाँले आफूनिकटका भनिएका शिक्षा विभागका निर्देशक केशव दाहाललाई इभेन्ट परियोजनामा सरुवा गरेर त्यहाँका कार्यकारी निर्देशक टेकनारायण पाण्डेलाई एक महिनापछि खारेज हुन लागेको शैक्षिक जनशक्ति विकास केन्द्रमा सरुवा गर्नुभएको छ । इभेन्ट परियोजना विदेशी अनुदानमा सञ्चालित ठूलो बजेटको परियोजना हो । शैक्षिक जनशक्ति विकास केन्द्रकी कार्यकारी निर्देशक देवकुमारी गुरागार्इँलाई मन्त्रालयको उच्च तथा प्राविधिक शिक्षा महाशाखामा सरुवा गरिएको छ । यस अघि प्रवक्ताको जिम्मेवारीबाट हटाइनुभएका मन्त्रालयका विद्यालय शिक्षा महाशाखाका प्रमुख डा. हरिप्रसाद लम्साललाई प्राविधिक शिक्षा महाशाखामा सरुवा गरिएको छ । यो महाशाखा भर्खरै थप गरिएको हो । यस्तै, मन्त्रालयकै उच्च तथा प्राविधिक शिक्षा महाशाखाका प्रमुख रहनुभएका सूर्यप्रसाद गौतमलाई विद्यालय शिक्षा महाशाखामा सरुवा गरिएको छ । पछि विवाद नहोस् भनेर शिक्षामन्त्री र शिक्षा सचिवले विदेश भम्रणको मुखमा सरुवाको निर्णय गर्दै आउनुभएको छ ।


यसअघि शिक्षा सचिव खगराज बराल विदेश भ्रमणमा जानुअघि शिक्षा विकास तथा समन्वय इकाईमा १४१ कर्मचारीको काज सरुवा र शिक्षामन्त्री भारत भ्रमणमा जानुअघि निकटका उपसचिवहरुको राम्रा जिल्लास्थित जिल्ला आयोजना कार्यान्वयन इकाईमा सरुवा गर्नुभएको थियो । गत बुधवार गरिएको सहसचिवहरको सरुवा आफुहरुसँग कुनै परामर्श नगरी गरिएको भन्दै तत्कालीन माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनसमेत असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।

साभार : आजको शिक्षा साप्ताहिक

Comments: