२०७६ कार्त्तिक १ गते

गोजीका शिक्षक नराखौं : शिक्षामन्त्री

अन्तैबाट

दाङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई भए पनि गोजीका शिक्षक राख्न नपाइने बताएका छन् ।


प्रेस संगठनले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले शिक्षक सेवा आयोग उत्तीर्ण गरेका शिक्षक मात्रै राख्न स्थानीय तहलाई सचेत गराए ।

‘माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको छ तर शिक्षक मनपरी राख्न पाइँदैन । आफन्त र गोजीका मान्छे राख्ने होइन,’ उनले भने, ‘सेवा आयोग पास गरेका मान्छे मात्रै राख्ने हो ।’ शिक्षकको स्तरबाट शिक्षाको स्तर निर्धारण हुने भन्दै पोखरेलले शिक्षक चयनमा ख्याल गर्न जरुरी रहेको बताए । ‘शिक्षकअनुसारकै शिक्षा हुने हो । गलत शिक्षक परेमा शिक्षा बिग्रन्छ,’ उनले भने, ‘शिक्षकले अधिकांश समय कक्षा कोठामा बिताउनुपर्छ । आफ्ना मान्छे होइन, शिक्षाप्रति समर्पित शिक्षक चाहिन्छ ।’

सामुदायिक विद्यालयको आमूल परिवर्तन गर्न १० वर्षे योजना तयार पारेको मन्त्री पोखरेलले बताए । ‘सामुदायिक विद्यालयको पुनःसंरचना गर्दै छौं । अब गुणस्तर वृद्धि गरी सामुदायिकलाई सबैको भरोसाको विद्यालय बनाउँदै छौं,’ उनले भने, ‘हरेक नागरिकले १२ कक्षासम्मको शिक्षा अनिवार्य लिन्छ । त्यतिबेला उसले केही न केही सीप सिकिसकेको हुन्छ ।’

शिक्षालाई सीप र उत्पादनमा जोड्न आवश्यक रहेको उल्लेख गर्दै पोखरेलले सबैलाई शिक्षामार्फत आत्मनिर्भर बनाउने लक्ष्यअनुसार काम गरिरहेको बताए ।

कान्तिपुरमा खबर छ ।

Comments: