२०७६ कार्त्तिक २९ गते

मेसेन्जरमा च्याट गर्छन् र इन्टरनेटमा पढ्छन् दृष्टिविहीन

प्रविधिमा रमाउँदै दृष्टिविहीन

काठमाडौँ । पेसाले शिक्षक ओमप्रकाश बन्जाडे अरू जस्तै फेसबुकमा अनेक भाव र भंगीका फोटो पोस्ट गर्दैनन् । हतपत्ति कसैको फोटोमा लाइक गर्दैनन् । कमेन्ट पनि लेख्दैनन् । गरुन् पनि कसरी रु दृष्टिविहीन बन्जाडे सूचना लिन र दिनका लागि फेसबुक प्रयोग गर्छन् । फुर्सदका बेला साथीभाइसँग मेसेन्जरबाट संवाद गर्छन् । फेसबुकमा राखिएको लिंक पछ्याउँदै समाचार सुन्छन् । दुनियाँको खबर थाहा पाउँछन् र आफ्नो दृष्टिकोण बनाउँछन् ।

दृष्टिविहीन भएर के भो ? अरूले जस्तै ओमप्रकाशको पनि चल्तीका सामाजिक सञ्जालमा उपस्थिति छ । एन्ड्रोइड मोबाइल चलाउने उनी मोबाइलमार्फत भाइबर र स्काइपमा गफ गर्छन् ।

युट्युबबाट गीत सुन्छन् । सामाजिक सञ्जाल र प्रविधि प्रयोगले उनी अपडेट मात्रै भएका छैनन्, ज्ञानको दायरा पनि फराकिलो बनाइरहेछन् । भन्छन्, ‘प्रविधिले मान्छेको आत्मविश्वास ह्वात्तै बढाइदिँदो रहेछ ।’

राम्रो शैक्षिक पृष्ठभूमि भएका र सहरमा करिअर संघर्ष गरिरहेका अधिकांश दृष्टिविहीन अरूभन्दा कम छैनन् । प्रविधिको सहयोगमा उनीहरूले आफूलाई अब्बल तुल्याउने प्रयास त गरिरहेका छन् नै, दृष्टिविहीन ‘कमजोर’ हुन्छन् भन्ने आम सोचाइलाई परिवर्तन गरिदिएका छन् ।

ओमप्रकाशले आफूले बोक्ने एन्ड्रोइड मोबाइलमा ‘टक व्याक’ एप्लिकेसन अन गरेका छन् । जसले गर्दा उनले स्क्रिनमा जहाँ छुन्छन्, त्यहाँ के फङ्सन छ वा के लेखिएको छ भनेर एप्लिकेसनले पढेर सुनाइदिन्छ । उनको ल्यापटपमा जेडब्लूएस अर्थात् ‘जव एक्सेस विथ स्पिच’ नामक सफ्टवेयर छ, जसले कम्युटरमा टाइप गर्न, इमेल इन्टरनेट चलाउन सघाउँछन् ।

क्रसर जहाँ लग्यो सफ्टवेयरले त्यहीअनुसार निर्देशन दिन्छ र त्यसैका आधारमा उनी अन्यले जस्तै ल्यापटप चलाउँछन् । उनको ल्यापटपमा एनभीडीए अर्थात् ‘नन भिजुअल डेक्सटप एक्सेस’ नामक सफ्टवेयर पनि छ । दृष्टिविहीनकै निम्ति बनाइएको यो सफ्टवेयरले हिन्दी र नेपाली भाषामा कम्युटरमा लेखिएको सामग्री पढेर सुनाइदिन्छ । ओमले सुनाए, ‘पहिले–पहिले रेडियो मात्रै समाचार र सूचनाको स्रोत थियो ।

अहिले म हरेक दिन यही सफ्टवेयरको सहयोगमा प्रमुख अखबारको अनलाइनमा रहेको समाचार सुन्छु ।’ मोबाइलमा भने उनले लेखा नामक एप्लिकेसन राखेका छन् । यसले पनि एनभीडीएले जस्तै हिन्दी र नेपाली भाषा पढेर सुनाइदिन्छ ।

पेसाले शिक्षक भएका कारण पनि ओमलाई अपडेट भइरहन जरुरी हुन्छ । ‘प्रविधि हुन्थेन भने यतिका काम कहाँ गर्न सकिन्थ्यो र ?’ उनले अनुभव सुनाए, ‘आफ्नो कुरा अरूलाई सुनाउन र अरूको कुरा सुन्न प्रविधिले नै सघाएको छ ।’ व्रेल सेन्स नामक ल्यापटप जस्तै प्रविधि पनि ओमसँग छ ।

जसले जुनसुकै कम्प्युटरमा टाइप गरिएका सामग्रीलाई छामेर पढ्न मिल्ने अर्थात् ब्रेल लिपिमा अनुवाद गरिदिन्छ । ओमले कक्षामा पढाउने शैक्षिक सामग्री पनि इन्टरनेटबाट डाउनलोड गर्छन् र यही प्रविधिको सहायताले सजिलै छामेर पढ्छन् ।

ब्लाइन्ड क्रप्स अमेरिका नामक संस्थाले नेपाल आएका बेला २२ जना दृष्टिविहीनलाई यस्तो सामग्री प्रविधि उपलब्ध गराएको थियो । दुई साताअघि काठमाडौंको कुमारी फिल्म हलमा कालोपोथी हेर्न जाँदा लक्ष्मी नेपालसँगै अरू साथीहरू पनि थिए । पुरै फिल्म हेरुन्जेल साथीहरूले पात्रको संवाद नेपालीमा अनुवाद नगरिदिएको भए लक्ष्मीले फिल्म बुझ्ने थिइनन् ।

त्यसो त खस भाषामा निर्माण गरिएको फिल्ममा नेपालीभाषीका निम्ति सब टाइटल पनि थियो । लक्ष्मीले नेपाली भाषा नबुझेर बताइदिनुपरेको थिएन । कारण अर्कै थियो । उनी दृष्टिविहीन हुन् । लक्ष्मीले ध्वनि र संवादका आधारमा पुरै फिल्म बुझिन् । ‘द्वन्द्व शान्ति र विकास’ विषयमा स्नातकोत्तर गरिरहेकी लक्ष्मी दृष्टिविहीन भए पनि अरूजस्तै फिल्म हेर्छिन् । अर्थ र भाव बुझ्ने प्रयास गर्छिन् । लक्ष्मीले सुनाइन्, ‘गज्जबको फिल्म रहेछ ।’

ओम र लक्ष्मी जस्तै सुशील अधिकारी पनि प्रविधि र सूचनाको दुनियाँबाट अलग छैनन् । न उनी विश्वभर भए गरेका घटना र परिघटनाबारे अनभिज्ञ नै छन् । ‘प्रविधिले सहज बनाइदिएको जीवनबारे जति व्याख्या गरे पनि कम हुन्छ,’ सुशीलले भने, ‘दृष्टि भएकाले जस्तै हामी सबै काम गर्न सक्छौं भन्ने बनाइदिएको छ ।’

एसएलसी सकेपछि कम्प्युटर सिकेका सुशील कम्प्युटर, मोबाइल र ट्याबलेट सबै सजिलै चलाउँछन् । ओमले जस्तै उनले पनि लेखेको कुरा बोलेर सुनाइदिने एप्लिकेसनहरू प्रयोग गरिरहेछन् ।

सुरु–सुरुका दिन इमेल गर्न पनि अरूको भर पर्नुपर्दा उनलाई दिक्क लाग्थ्यो । ‘त्यसो गर्दा गोप्यता भन्ने नै नहुने,’ उनले भने, ‘अरूको भर पर्दा नमज्जा लाग्थ्यो ।’ पछि कम्प्युटर सिकेपछि र टकिङ सफ्टवेयरहरूको प्रयोग गर्न जान्न भएपछि सुशीललाई अरूको भर पर्नु परेन ।

प्लस टु सकेपछि मात्रै सुशीलले मोबाइल चलाउन थालेका हुन् । सुरुमा उनीसँग किप्याडयुक्त नोकियाको फोन थियो । उनी छामेका भरका कुन बटन थिच्ने भन्ने अनुमान गर्थे । तर कसैले पठाएको एसएमएस पढ्न भने उनलाई अरूकै सहयोग चाहिन्थ्यो ।

एन्ड्रोइड फोनको व्यापकतासँगै त्यो झन्झट पनि हट्यो । कतिसम्म भने सुशीलले आफ्नो रुचि र सुनेकै भरमा कम्प्युटर प्रोग्रामिङको काम पनि सिके । उनी ध्वनि सम्पादनको काम पनि मज्जाले गर्छन् ।

केही महिनाअघिसम्म दृष्टिकोण नामक रेडियो कार्यक्रमको ध्वनि सम्पादनको काम गर्थे । उद्यमशीलता विकाससम्बन्धी काम गर्ने संस्थाको कोषाध्यक्षसमेत रहेका सुशीलले गत वर्षको भूकम्पका बेला सोसल मिडियाबाटै भूकम्प पीडितका लागि आर्थिक सहायता जुटाएका थिए । कतिसम्म भने उनी गुगल म्यापको प्रयोग गरेर बाटोघाटोसमेत पत्ता लगाउँछन् । उनले भने, ‘विदेशमा त एकदमै सजिलो हुन्छ । तर नेपालमा उति सजिलो छैन ।’

कम्प्युटरभन्दा धेरै मोबाइलकै प्रयोग गर्छन् सुशील । कतिसम्म भने उनी मोबाइलकै सहायतामा अनलाइन सपिङ गर्छन् । तर मोबाइल रिचार्ज गर्न भने उनलाई सधैं अरूकै भर पर्नुपर्छ । सुशीलले सुनाए, अनलाइनबाटै मोबाइल रिचार्ज गर्न पाए हुन्थ्यो । तर दृष्टिविहीनका निम्ति त्यो सजिलो छैन । किनकि बैंक खाता खोल्न दृष्टिविहीनले ल्याप्चेको प्रयोग गर्छन् । ल्याचे प्रयोग गरेका कारण उनीहरूले अनलाइन खाता खोल्न पाउँदैनन् । सुशीलले भने, ‘प्रविधिको कस्तो कस्तो विकास भइसक्यो हामी भने आजसम्म अनलाइन बैंकिङ सेवा उपयोग गर्नबाट वञ्चित छौं ।’

बुटवलकी रन्जिता रेग्मी गिर्वाण उच्च माविमा नेपाली र सामाजिक शिक्षा पढाउँछिन् । ओम र सुशीलजस्तै दृष्टिविहीन भए पनि प्रविधि र इन्टरनेट सहायताले उनले आफूलाई अब्बल बनाएकी छन् ।

आइफोन चलाउनुअघि रन्जिताले किप्याडवाला नोकियोको फोन बोक्थिन् । छामेर उनी अंकहरू चिन्थिन् र डायल गर्थिन् । सुरुमा आइफोन हातमा पर्दा उनलाई लागेको थियो, समथर स्क्रिन भएको जता छुँदा पनि एउटा न एउटा अप्सन थिचिने मोबाइल कसरी चलाउन सकिएला र ? तर केही महिनामै उनको हात आइफोनमा बस्यो ।

आइफोनको सेटिङमा रहेको भ्वाइस ओभर नामक अप्सन अन गरेपछि उनले जहाँ छुन्छिन् त्यो मोबाइलको कुन अप्सन हो एप्लिकेसनले पढेर सुनाइदिन्छ । त्यसैमा डबल क्लिक गरेपछि भने त्यो अप्सन सुरु हुन्छ । रन्जिताले अनुभव सुनाइन्, ‘आइफोन बोकेपछि म अपडेट हुन थालेको छु । सबैजसो वेबसाइटका समाचार सुन्ने भएको छु । फेसबुकमा पनि अभ्यस्त भएकी छु ।’

लक्ष्मीजस्तै रन्जिता पनि फुर्सदका बेला युट्युबमा फिल्म सुन्छिन् । केही साताअघि मात्रै उनले प्रेमगीत र ड्रिम्स दुवै फिल्म हेरिन् । उनले सुनाइन्, ‘मारधाड वाला फिल्म त बुझिँदैन । तर संवाद धेरै भएका फिल्म सजिलै बुझिन्छ ।’ आफूले फिल्म हेर्ने गरेको कुरा भने उनका धेरै साथीलाई अनौठो लाग्छ । रन्जिताले गुनासोको स्वरमा भनिन्, ‘दृष्टि नहुनेबित्तिकै सबै कुरामा पछि हुन्छन् । तिनीहरू रहर र चाहना हुन्न भन्ने बुझाइ छ धेरैको ।’

रन्जिताको जस्तै सामाजिक सञ्जालको प्रयोगमा लक्ष्मीको पनि औधी रुचि छ । उनी आफूले हिँडदा डुल्दाका थुप्रै फोटो राख्छिन् । अरूको फोटामा पनि लाइक र कमेन्ट गर्छिन् ।

केका आधारमा गर्छिन् त लाइक र कमेन्ट रु उनले भनिन्, ‘फोटोमुनि लेखिएको क्याप्सनका आधारमा लाइक र कमेन्ट गर्छु ।’ दृष्टिविहीनकै लागि भनेर आइफोनले फोटोको व्याख्या गरिदिने एप्लिकेसन ल्याउँदैछ भन्ने लक्ष्मीले सुनेकी छिन् । उनले भनिन्, ‘त्यसो भए त गज्जप हुन्थ्यो ।’

लक्ष्मीको बुझाइमा युरोप र अमेरिकाका दृष्टिविहीनले उपयोगमा ल्याएजस्तै प्रविधि प्रयोग गर्ने पाएमा दृष्टिविहीनहरू सबै कुरामा अब्बल हुन्छन् । उनले दृष्टिविहीनलाई रंग छुट्याउन बनेको डिभाइस र पैसा चिन्न सघाउने डिभाइसको प्रसंग निकालिन् ।

भनिन्, ‘कलर चिन्ने डिभाइस भए त ड्रेस लगाउँदा कलर म्याचिङ गरेर लगाउन हुन्थ्यो ।’ डलर र पाउन्ड चिन्ने डिभाइस भए पनि नेपाली रुपैयाँ चिन्ने डिभाइस छैन । उनले सुनेकी छिन्, त्यस्तो डिभाइस नेपालमै बन्दै छ रे । भन्छिन्, ‘त्यस्तो भए कति जाति हुन्थ्यो ।’

सूचना र प्रविधिले जमाना फेरियो, तर नेपाली समाज उस्तै छ । यस्तो देख्दा लक्ष्मी र रन्जिता दुवैलाई दिक्क लाग्छ । रन्जिताले भनिन्, ‘मैले मेसेन्जरमा साथीलाई म्यासेज पठाउँदा उनीहरू जवाफ नै फर्काउँदैनन् ।’ किन त ? उनले सुनाइन्, ‘धेरैलाई के लाग्दो रैछ भने, दृष्टिविहीनको फेसबुक अरू कसैले चलाइदिन्छ ।’

रन्जिताको जस्तै अनुभव लक्ष्मीको पनि छ । मोबाइल चलाउँदा पनि मान्छेले छक्क परेर हेर्छन् । उनले भनिन्, ‘धेरैलाई दृष्टिविहीनको आत्मविश्वासमाथि भरै छैन ।’ लक्ष्मीको बुझाइ छ, सामाजिक सञ्जालको प्रयोग अरूका निम्ति सौख होला तर हाम्रा निम्ति अनिवार्य आवश्यकता हो ।

प्रविधिले कोल्टे फेरे पनि हाम्रो शिक्षा प्रणाली उस्तै छ । यसमा पनि लक्ष्मीको ठूलो गुनासो छ । उनले भनिन्, ‘विदेशतिर परीक्षा पनि कम्प्युटरबाटै दिन मिल्छ । तर नेपालमा त्यस्तो सुविधा छैन ।’

उनको गुनासो छ, ‘लेख्नका लागि आफूभन्दा तल्लो तहका सहयोगी राख्नुपर्छ । यो व्यावहारिक छँदै छैन ।’ अमिल्दो शिक्षा प्रणाली दृष्टिविहीनहरूका प्रगतिको बाधक रहेको उनको निष्कर्ष छ ।

गुनासो धेरथोर भए पनि दृष्टिविहीनहरू प्रविधिको प्रयोगमार्फत आफूलाई समयअनुसार डोर्‍याइरहेका छन् । त्यति मात्रै होइन उनीहरूले आफूलाई प्रतिस्पर्धी बनाइरहेका छन् र दृष्टि नहुनु कमजोरी होइन भन्ने मान्यता स्थापित गराउने प्रयत्नमा छन् । सुशीलले आत्मश्विासले भरिएको स्वरमा सुनाए, ‘समयभन्दा हामी कुनै हालतमा पछि छैनौं ।’ कान्तिपुरमा खवर छ ।

Comments: