२०७६ कार्त्तिक २६ गते

घरबाट चकटी ल्याएर खुला आकाशमा पढ्छन् विद्यार्थी

जाजरकोट । जुनिचाँदे गाउँपालिका– ७ निपानेस्थित पुतली आधारभूत विद्यालयका विद्यार्थी कक्षाकोठाको अभावमा खुला आकाशमुनि पढ्न बाध्य छन् । विद्यार्थी अनुपातमा कक्षाकोठा नहुँदा खुला आकाशमुनि पढाउन बाध्य भएको विद्यालयले बताएको छ ।

 सरोकारवाला निकायलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैनसिंह घर्तीले बताए । कक्षा १ देखि ८ सम्म दुई सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत यो विद्यालयमा पाँच कोठामा पढाउने गरिएको घर्तीले बताए ।

कोठा अभावमा विद्यार्थी विद्यालयअगाडिको खुला आकाशमुनि पढ्न बाध्य छन् । कापीकिताबका साथमा आफू बस्ने बोरा र चकटी लिएर विद्यालय जाने गरेको कक्षा ७ का छात्र रामबहादुर पुनले बताए।

भुइँमा बसेर पढ्नुपर्दा कपडा दैनिक फोहोर हुने गरेको उनले बताए । विद्यालयवरिपरि स्थानीयवासीले घर र टहरा बनाएका कारण विद्यार्थीलाई खेलमैदानको समेत अभाव छ । धुलोका कारणले विद्यार्थी बिरामी पर्ने गरेको स्थानीयवासी राजेन्द्र रोकाले बताए ।

प्रधानाध्यापक मानबहादुर बुढाका अनुसार विद्यालयमा पाँचवटा मात्र कोठा छन् । पानी परेको समयमा कक्षाकोठाको अभावमा कक्षा १ र २ का विद्यार्थीलाई एउटा कक्षामा राखेर पढाउने र कक्षा ३ र ४ का विद्यार्थीलाई अर्को कक्षामा सँगै राखेर पढाउने गरेको उनले बताए । ‘कक्षाकोठामा विद्यार्थी नअटेपछि विद्यार्थीलाई खुला चौरमा राखेर पढाउनुपर्ने बाध्यता रहेको हो,’ उनले भने, ‘कोठा अभावकै कारण चर्को घाम लाग्दा, पानी पर्दा र शीतलहर चलेको समयमा विद्यालय बन्द हुने गरेको छ ।’

नयाँपत्रिका दैनिकमा खबर छ ।

Comments: