२०७६ भदौ ५ गते

शिक्षकको कुटाईबाट विद्यार्थी घाइते

अन्तैबाट

सल्यान । बाग्चौर नगरपालिका-२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयमा दुई शिक्षकले कक्षा १० मा अध्ययनरत छात्र बिशाल बस्नेतलाई कुटपिट गरेका छन् । शिक्षकको कुटपिटबाट छात्र बस्नेत घाइते छन् ।


बुधबार दिउँसो १२ बजेतिर विद्यालयमा छात्र बस्नेत र अर्का एक विद्यार्थीबीच सामान्य झगडा हुँदा सहायक प्रधानध्यापक तुलसीराम बस्नेत र अर्का शिक्षक यामबहादुर घर्तीले कुटपिट गरेका हुन्।

विद्यार्थीका बुबा तेजबहादुर बस्नेतका अनुसार शिक्षकले कुटपिट गर्दा छोरा बेहोस भएको थियो। बेहोस अवस्थामा कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा ल्याएर उपचार गरिएको थियो। बिशालको पेट, टाउको, छाती र खुटटामा चोट लागेको उनले जानकारी गराए।

शिक्षकले दुई/तीनपटकसम्म पिट्दा थाहा पाएपनि त्यसपछि बेहोस हुँदा श्रीनगर ल्याउदासम्म केही थाहा नभएको पीडित विद्यार्थीले बताए। विद्यालयका प्रधानाध्यापक पूर्ण भण्डारीले दुई विद्यार्थीबीच झगडा भइरहेका समयमा शिक्षकहरुले छुटाउन खोजेको र त्यसै क्रममा सामान्य चोटपटक लागेको हुन सक्ने बताए। नियतबस विद्यार्थीलाई शिक्षकले कुनैपनि हातपात नगरेको उनको भनाई छ।

बिप्लब महर्जनले कान्तिपुरमा खबर लेखेकी छन् ।

Comments: