२०७६ असोज २९ गते

सहरका तन्नेरी गाउँमा सिक्दै

अन्तैबाट

दाङ । साँझ–बिहान समूहमा खाना पकाउँछिन् । आफैं भाँडा माझ्छिन् । राति भुइँमा स्लिपिङ ब्यागभित्र सुत्छिन्। बाँकी समय विभिन्न गाउँ पुगेर सर्वसाधारणसँग कुराकानी गर्छिन् । काभ्रेको बनेपा ७, गोदामचोककी २१ वर्षीया महिमा कर्माचार्यले कक्षा १२ सम्मको पढाइ कोठाभित्रै पूरा गरिन् ।

किताब पढ्यो, परीक्षा दियो, नतिजा कुर्‍यो । पढाइका लागि कष्ट बेहोर्नुपरेन । २ वर्षयता पढ्ने शैली फेरिएको छ । सहरमा बसेरमात्र पढाइ नहुने भयो । पुस/माघको चिसोमा उनी घर छाडेर पहिलोपटक यहाँको गाउँ आएकी हुन् । साता बसाइका लागि आवश्यक बन्दोबस्तीका सामान बोकेर उनी आएकी हुन् ।

समाज सेवा कसरी गर्ने भन्ने व्यावहारिक ज्ञानका लागि यहाँका गाउँ–गाउँ पुगिरहेकी छन् । स्नातक तहमा सामाजिक कार्य विषय पढ्न थालेपछि उनको सिकाइ किताबमा मात्र सीमित भएन । ‘यसअघि कोठामा सीमित हुँदा ज्ञानको दायरा साँघुरो थियो । अहिले समाज बुझ्न सजिलो भएको छ,’ स्नातक तह दोस्रो वर्षकी छात्रा महिमाले भनिन्, ‘नयाँ ठाउँमा कसरी घुलमिल हुने, जीवनमा आइपर्ने समस्या कसरी समाधान गर्नेजस्ता व्यावहारिक सीप सिक्न पाएकी छु ।’ भक्तपुरको सूर्यविनायक ३, थिमिकी २० वर्षीया सुजिता श्रेष्ठले केही समय स्नातक तहमा कानुन पढिन् । उनको मन त्यसमा अडिएन । दु:खीको सेवा गर्ने रुचि थियो ।

‘कानुनका लागि उपयुक्त छैन भन्ने लाग्यो । समाज सेवातिर रुचि थियो,’ उनले भनिन्, ‘त्यसपछि काम गर्दै सिक्न पाइने विषयतर्फ लागें । अहिले गाउँगाउँ पस्दा नौलो अनुभव भएको छ ।’ महिमा, सुजिताजस्ता भक्तपुरको ख्वप कलेजमा स्नातक तह दोस्रो वर्षमा सामाजिक विषयका ९० विद्यार्थीले गाउँमा एक साता सामाजिक कामको व्यावहारिक अनुभव गरेका छन् ।

पश्चिम तराईमा रहेको कमलरी प्रथाबारे जान्ने अवसर पाए । मुक्त कमलरीसँग छलफल गरी उनीहरूका संघर्ष र सफलताका कथा थाहा पाए । भक्तपुर राधेराधेका २३ वर्षीय विशाल बस्नेतले सुरुमा सजिलो हुन्छ भन्ने सुनेर सामाजिक कार्य पढ्न थाले । बीबीए पढ्दापढ्दै छाडेर यसमा भर्ना भए । अहिले सोचेभन्दा फरक पाए । ‘पढ्न सजिलो हुन्छ भनेरमात्र लागें । अहिले बुझ्दै जाँदा जीवनमा ठूलो परिवर्तन आइरहेको छ,’ उनले भने ।

काभ्रेको पनौती ८, मल्पीका १९ वर्षीय वसन्त खत्रीको नेपाली सेनामा जागिरे भएर देश सेवा गर्ने लक्ष्य थियो । त्यसमा सफलता मिलेन । त्यसपछि सामाजिक कार्य रोजे । ‘नयाँ ठाउँमा पुगेर विभिन्न विषयको खोज अनुसन्धान गर्ने, मानिसका समस्या सुन्ने र समाधानका लागि प्रयास गर्ने,’ उनले भने, ‘रमाइलो सिकाइ भइरहेको छ ।’ गाउँ पुगेर बालश्रम, महिला हिंसा, घरेलु हिंसा, लैंगिक असमानता जस्ता विषयमा विभिन्न प्रश्न बनाएर सर्वेक्षण गर्ने गरेको भक्तपुर १०, महालक्ष्मी टोलकी १९ वर्षीया रिना पहिजुले बताइन् । पहिलोपटक घरबाहिर निस्केर जीवनबारे महत्त्वपूर्ण सिकाइ हासिल गरिरहेको उनले बताइन् ।

भक्तपुर सानोठिमीकी २० वर्षीया सगुन लामिछाने समाज बुझेपछि आफैंले केही गर्ने योजना बनाएको बताउँछिन् । ‘समाजमा धेरै समस्या छन् । तर समाज सेवा गर्ने कम छन्,’ उनले भनिन्, ‘पढाइ पूरा भएपछि काम सुरु गर्ने लक्ष्य छ ।’ चाँगुनारायण नगरपालिका–८ ताथलीकी २० वर्षीया सविना कार्कीले घर छोड्नुपर्दा अनौठो महसुस गरिन् ।

सामाजिक काम गरी सिक्ने विषय भएकाले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक अभ्यासमा जोड दिएको शिक्षिका नानी थापाले बताइन् । ‘सामाजिक काम गरिरहेका संघसंस्थासँग भेटघाट गरेर कसरी काम गर्न सकिन्छ भन्नेबारे सिकिरहेका छन्,’ उनले भनिन्, ‘समाज कस्तो छ भन्ने बुझ्न विद्यार्थी निकै उत्सुक छन् ।’ सामाजिक कार्यको पढाइमा युवापुस्ताको आकर्षण बढेको र सोहीअनुसार सिक्न पनि खोजिरहेको उनले बताइन् ।

दुर्गालाल केसीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: