२०७६ असोज २ गते

शिक्षाको गाईजात्रा

मनप्रसाद वाग्ले


१. बुढानिलकण्ठमा पुष ५ र ६ गते "राष्ट्रिय शिक्षा सम्मेलन" नामक शिक्षा जात्रा सम्पन्न भएको छ जसको आलोचना खप्न नपरोस् भन्नेमा सरकार सजग छ/


२. सैंतिस दिन म्याद थपेर पनि आलोचना खेप्दा प्रतिवेदनले अन्तिम रूप नपाउला भन्ने चिन्ता स्वरूप प्रारम्भिक प्रतिवेदनमाथिको सरोकार सँगको छलफल भनिए पनि प्रतिवेदन देखाउने काम भने भएन/


३. यिनेगिनेका केही व्यक्तिलाई सिमित रूपमा बाँडिएको प्रतिवेदन वेव साइटमा राख्ने त झन् सम्भावना नै भएन किनभने यसो गर्दा टिप्पणी धेरै होला र फेरि पनि गडबड होला भन्ने डर /


४. सञ्चारकर्मीहरु पनि प्रतिवेदन विना नै छलफललाई आधार बनाएर गफ चुट्नमै व्यस्त देखिए/ ज-जसले प्रतिवेदन फुत्काउने काम गर्न सफल भए तिनले आफ्नै पत्रिकामा धारावाहिक लेख्ने काम शुरु गरेका छन् तर सिङ्गै प्रतिवेदन सार्वजनिक गर्ने आँट गरेका छैनन्/


५. यस्ता अपारदर्शी संस्कारमा हुर्किएको शिक्षा आयोगले केवल सरकारी प्रवक्ताको भूमिका मात्रै निर्वाह गर्छ तर देश विकासको लागि आवश्यक शिक्षाको पहल गर्दैन भन्ने कुरा प्रष्ट छ / बरू आयोगको सुझाव देखाएर शिक्षालाई आफू अनुकुल बनाउने मनशाय सरकारको हुन सक्छ, त्यसतर्फ बेलैमा सचेत हुँदा बेश/


६. आयोगको प्रतिवेदनमा समाविष्ट सुझावहरु फगत सदस्यका इच्छा सूचि मात्रै हुन् ऐन होइन/ त्यसैले यसमाथिको टीकाटिप्पणी त्यति सान्दर्भिक हुने कुरै भएन/ बरू त्यसमा भएका राम्रा कुरा संघीय शिक्षा ऐनमा कसरी समावेश गराउन सकिन्छ भन्ने मेहनत तिर लाग्दा उचित हुनेछ /


७. ऐनमै ९५ प्रतिशत प्रतिवेदनका सुझाव समावेश भएर सर्वसम्मत रूपमा संसदले पास गरेको शिक्षा ऐन सातौँ संसोधन पनि कसरी परास्त गरियो भन्ने इतिहास साक्षी छ/ के अर्थ छ प्रतिवेदनको ?


८. सरकारमा बस्नेले आफ्नो झ्याली पिट्नकै लागि अनेक तिकडम गर्छन्/ त्यसैको यौटा उदाहरण शिक्षा आयोग हो/ नभए गोपालमान आयोग बिघटन गरेर गिरीराज आयोग बनाउनुको कुनै तुक छ ?


९. २०४६ पछिका ४ वटा आयोग वा समितिले यसरी नै आ-आफ्ना प्रतिवेदन मार्फत के के न गरें भनेर नाक फुलाएकै हुन् तर आफ्ना सुझाव कहीं कतै लागू नहुँदा पनि लाजै नमानी तिनका सदस्य चुप लागेर बसेकै दृश्य नेपालीले देखेकै कुरा हो/ यस्ता विद्वानको के नै अर्थ हुन्छ ?


१०. जे होस् सरकारी पारिश्रमिकका आधारमा विद्वान् महोदयहरुले केही महिना भएपनि आफ्नो बुद्धि खियाउने काम गरेका छन्/ त्यसको लागि सवै सदस्यमा भोलिको निरासा खप्ने क्षमता बढोस् भन्ने शुभकामना छ/

साभार : कान्तिपुर दैनिकको पाठकमञ्च

Comments: