२०७६ कार्त्तिक २९ गते

वनकरिया बालबालिका शिक्षाको पहुँचमा

अन्तैबाट

हेटौंडा  । एक दशकअघिसम्म वनकरिया बस्तीबाट स्कुल पढ्न जानेको संख्या दुई जना मात्र थियो । बाँकी बालबालिका जंगलमा कन्दमूल खोज्ने, खोलामा दिनभर माछा मार्ने र गोठाला जाने गर्थे । तर, अहिले स्थिति फेरिएको छ । वनकरिया बस्तीमा पढ्ने उमेरका सबै बालबालिका स्कुल जान थालेका छन् ।


लोपोन्मुख जाति वनकरियाको बसोबास मकवानपुरको मनहरि गाउँपालिका–४ मुसेधापमा मात्र रहेको छ । अहिले यहाँका बालबालिका मनहरि गाउँपालिका–४ स्थित पशुपति मावि र प्रजा आधारभूत विद्यालय जाने गरेका छन् । नियमित पढ्न जानेको संख्या २३ छ । पम्फा वनकरियाले वनकरिया समुदायबाट पहिलोपटक एसएलसी उत्तीर्ण गरेकी थिइन् । ल्याब टेक्निसियन उनी मनहरि बजारस्थित प्रयोगशालामा काम गर्छिन् । उनीपछि सन्तोषी वनकरियाले एसईई उत्तीर्ण गरिन् । उनी पनि जेटिए बनेर गाउँमा किसानहरूसँगै रहेर काम गरिरहेकी छन् । त्यतिमात्र होइन उनले एकदेखि नौ कक्षासम्मका २५ वनकरिया बालबालिकालाई हरेक बिहान एकैठाउँ भेला पारेर पढाउँछिन् । यसका लागि राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

उक्त समुदायका बालबालिकालाई राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले केही दिनअघि वनकरिया बस्तीमै पुगेर शैक्षिक सामग्री, झोला र दुई जोर पोसाक वितरण गरेको थियो । ‘नियमित स्कुलमा जान प्रेरित होऊन् भनेर सहयोग गरेका हौं,’ मञ्चकी उपाध्यक्ष यशोकान्ति भट्टचनले भनिन् ।

मुलुकमा नै लोपोन्मुख वनकरिया समुदायको बसोवास मुसेधापमा मात्र छ । १८ घरधुरीमा हाल ८३ जना छन् । उनीहरूको आफ्नो नाममा एकधुर जमिन र घरसमेत छैन । करिब दुई दशकअघिसम्म चुरियाघाँचमा फिरन्ते जीवन बिताउँदै आएको वनकरिया समुदायलाई सरकारले २०६५ सालदेखि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । विगतमा अरूको आसमा बस्ने वनकरियाहरू अहिले गाउँमा आउने पाहुनालाई भातखाजा खुवाउन सक्ने हैसियतमा छन् ।

मुलुकमा रहेका लोपोन्मुख आदिवासीको सरकारी सूचीकरणमा वनकरिया, कुसुन्डा, राउटे, सुरेल हायू, राजी, किसान, लेप्चा, मेचे र कुशवाडी छन् । सूचीकृत १० जातिका प्रत्येक व्यक्तिलाई मासिक तीन हजार रुपैयाँ दिने व्यवस्था छ ।

कान्तिपुरमा खबर छ ।

Comments: