• पढ्नलाई उमेरले रोक्दैन, १७ प्रौढ महिला एसईईमा सहभागी हुँदै
    (अन्तैबाट)

  • भक्तपुर । जनयुद्धमा सामेल हुँदा बुद्धिमाया लामालाई नेताहरूले बुर्जुवा शिक्षा पढेर काम छैन भनेको जस्तै लाग्थ्यो शुरू शुरूमा, तर पछि उनले महसुस गरिन् आखिर बुर्जुवा शिक्षा भनिए पनि नपढी केही काम रहेनछ। १२ वर्षकै उमेरमा बुबा बेपत्ता भएपछि र आमाले पनि छोडेर अन्तै गएपछि उनी लहैलहैमा माओवादी जनयुद्धमा लागिन्, तर बुझ्ने भएपछि उनले पढ्नैपर्ने रहेछ भन्ने महसुस गर्दै २०६० सालमा जनयुद्ध त्यागिन्। त्यस बेला पढ्न खोज्दा पनि बिहे भएकाले पढ्ने माहोल भएन ।

    तर पछि श्रीमान् विदेश गएपछि मोबाइल चलाउन र बैंकमा जाँदा समेत पढाइ नभएकाले अप्ठ्यारो भएपछि उनले पढ्ने निर्णय गर्दै महिला आस्था विद्यालय गठ्ठाघर आइपुगिन्। काभ्रेकी लामा शहर आएपछि यहाँको वातावरणले पनि पढ्न प्रेरित गरेको बताउँछिन्। आइतबारदेखिको यस वर्षको एसईई परीक्षामा सामेल हुँदै गरेकी ३२ वर्षीया लामा सक्दो पढेर राजनीतिक नेतृत्वमा पुग्ने चाहना रहेको सुनाउँछिन्। उनी भन्छिन्– ‘अहिले हिजो बुर्जुवा शिक्षाको काम छैन भन्नेहरूले नै यो देशमा राज गरेका छन् आखिर नपढेका र युद्धलडेका र इमानदारपूर्वक काम गरेका व्यक्ति त दुखद् अवस्थामा छन्।

    यसै विद्यालयमा अध्ययनरत ५३ वर्षीया मीना आलेमगर दैनिक बिहान ३ बजे उठ्छिन्, खाना बनाउनेलगायत घरको बिहानको काम सक्छिन् र दौडिन्छिन् पढ्न। उनको यो विगत ६ वर्षदेखिको दैनिकी हो। उनी यस वर्षको एसईई परीक्षामा सामेल हुँदै छिन्। भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित गठ्ठाघरमा रहेको आस्था महिला विद्यालयले विद्यालय शिक्षाबाट वञ्चित महिलाको पढ्ने धोको पूरा गर्न सहयात्री बनेको छ।


    मनभित्र चाहना र दृढ अठोट भए जस्तोसुकै काम पनि सफलताका साथ पूरा गर्न सकिन्छ। मानिसलाई कतिपय कार्य गर्न उमेरले छेक्छ भन्ने परम्परा छ, तर त्यो कुरा सबैमा लागू हुदँैन। विद्यालय जान ब्यागमा किताब र कापी बोकेर हिँड्दा ५३ वर्षकी मीना आले मगरलाई धेरैले गिज्याए, तर उनको मनभित्र एउटा अठोट थियो पढेर छोड्छु। त्यसैले त्यस्तो भन्नेहरूको सामु एसईई परीक्षा पास गरेरै छोड्ने ईख लिएर पढ्दै उनी यस वर्षको एसईई परीक्षामा सामेल हुँदै छिन्।

    उनी समयको पालनामा एकदमै अनुशासित रहेको विद्यालयका शिक्षकशिक्षिकाको भनाइ छ। अंग्रेजी र गणित अलि गाह्रो लागे पनि एसईई पास गरी अध्ययनलाई निरन्तरता दिने उनको दृढ अठोट छ। चितवन पुरानो घर भएकी उनी हाल दधिकोटमा बस्दै आएकी छिन्।

    यही विद्यालयमा अध्ययनरत ३४ वर्षीया गंगा थापा मगर पनि सानोठिमीको एसओएस हर्मन माइनर स्कुलमा पढ्ने छोरा रोशनसँग एसईई दिँदै छिन्।उनले पढाइमा श्रीमान्को सहयोग नपाएपछि लुकी–लुकी पढेको बताइन्। आस्था महिला विद्यालयमा भर्ना हुन आमा छोरा स्कुल खोज्दै आएको स्मरण गर्दै उनले बीचमा २ वर्ष पढाइ छुट्दा पनि फेरि एसईई पास गर्ने भित्री इच्छाले कक्षा ८ मा भर्ना भई पढाइलाई निरन्तरता दिएको बताइन्।

    एसईईको तयारी गर्न छोराले समेत पढाइमा सघाउने गरेको बताउँदै उनले एसईईको तयारी मेहनतका साथ गरिरहेको र यसपछि पनि १२ कक्षा पढ्ने दृढता व्यक्त गरिन्। विद्यालय शिक्षाबाट वञ्चित धेरै महिलाले शिक्षाको ज्योति यहीबाट प्राप्त गरेका छन्।
    त्यही समूहमा छन् ५२ वर्षीया वेदकुमारी खत्री, ४३ वर्षीया विष्णुलक्ष्मी प्रजापति, १७ वर्षीया सोनिका तामाङलगायत १७ जना। सिन्धुपाल्चोककी सोनिका आर्थिक अवस्था कमजोर भएकाले सानोमा पढाइ छुटेको बताउँदै अहिले सानोठिमीमा दिदीसँग बस्दै दिदीकै सहयोगमा पढिरहेको बताउँछिन्। ३० वर्षीया तारा न्यौपाने पनि एसईईमा ए वा बी प्लस ग्रेडसम्म पक्कै ल्याउने दृढता व्यक्त गर्दै श्रीमान्को अवरोध हुँदा हुँदै पनि पढेर जागिर खाने इच्छा जाहेर गर्छिन्।

    यहाँ पढ्ने धेरैको सानोमा बिहे भएर, गरिबीका कारण र आर्थिक अभावका पढाइ छुटेको भनाइ छ। प्रत्येकका आआफ्नै किसिमका दुःखका कथा छन्, तर पनि उनीहरूको पढाइप्रतिको लगनशीलता, रुचि र चासो देख्दा भन्नै मन लाग्छ, खानेमुखलाई जुँगाले छेक्दैन। विसं २०६५ सालबाट विद्यालय शुरू गरेको हालसम्म सातौं ब्याचले एसईई दिइसकेका छन्। विसं २०७५ सालको एसईई परीक्षामा यो विद्यालयबाट १७ जना सामेल हुँदै छन्। उनीहरू सबै १७ वर्षदेखि ५३ वर्ष उमेरसम्मका रहेका छन्। उनीहरूको परीक्षा केन्द्र भक्तपुर स्कुल गठ्ठाघरमा परेको छ। आइतबारदेखि शुरू हुने यस वर्षको परीक्षामा देशभरबाट ४ लाख ७५ हजार विद्यार्थी सहभागी हुँदै छन्।

    शिक्षाबाट वञ्चित महिलालाई शिक्षा दिने उद्देश्यले विसं २०६४ सालदेखि सञ्चालित यो विद्यालयमा समस्या पनि छ। २०६५ सालदेखि कक्षा सञ्चालन भए पनि भाडाको घरमा विद्यालय चलिरहेको छ। विद्यालयकी सहायक प्रार्चाय विणा देउजाका अनुसार हाल १४ जना शिक्षिका कार्यरत छन्। जसमा दुई जनामात्र सरकारी तलब लिने छन्। विद्यालय सञ्चालनको लागि मध्यपुरथिमि नगरपालिकाले पनि वार्षिकरूपमा आर्थिक सहयोग गर्दै आएको छ।

    हाल विद्यालयले आभारभूत तहका विद्यार्थीसँग सामान्य शुल्क लिने गरेको निमित्त प्राचार्य देउजाले जानकारी दिनुभयो। अर्काको घरमा काम गरेर, घरको काम सकेर छोराछोरीलाई विद्यायल पढाउदैं आफू पनि पढ्नेहरू नै यहाँ आउने गरेका छन्। हाल सबै कक्षामा गरेर २ सय जना महिला विद्यालयमा अध्ययन गर्दैछन्।

    यहाँ समाजका अगुवा व्यक्तिका परिवारले समेत स्कुल तहको पढाइ पूरा गरेको बताउँदै संस्थापक प्राचार्य पार्वती ज्ञवालीले प्रौढ उमेरमा यहाँ पढेका प्नि कतिपय हाल शिक्षण, भेटनरीलगायतका विभिन्न पेसामा आबद्ध हुनुका साथै कतिपय उच्च शिक्षा हासिल गर्दै रहेको बताउनुभयो। सीता, योगमाया, पासाङ ल्हामु, झमक घिमिरे, अनुराधा कोइरालालगायतका अगुवा महिलालाई आफ्ना आदर्श मान्दै अघि बढेको विद्यालयले समावेशी, न्यायपूर्ण समाज र महिला सशक्तीकरणमा चालेको पाइला उल्लेखनीय रहेको सरोकारवालाको भनाइ छ।

    नेपाल समाचारपत्रमा खबर छ ।