२०७६ असोज २ गते

अझै ६ लाख पाठ्यपुस्तक अभाव

काठमाडौं । शैक्षिक सत्र सुरु भएको डेढ महिना हुन लाग्दा पनि अझै पाठ्यपुस्तक अभाव छ । विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र आफैँले संकलन गरेको तथ्यांकअनुसार अझै पनि ६ लाख थान पाठ्यपुस्तक बजारमा अभाव छ ।

जनक शिक्षा केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नभए पनि अझै ६ लाख थान पाठ्यपुस्तक आवश्यक देखिएको बताए । उनले विभिन्न कारणले अभाव भएको र छिटै सबै पुस्तक वितरण हुने बताए ।

पौने दुई करोड थान पुस्तक आवश्यक हुने प्रक्षेपण
यसै शैक्षिक सत्रका लागि कक्षा ६ देखि १० सम्म कुल एक करोड ७५ लाख थान आवश्यक हुने निर्धारण गरिएको थियो । निर्वाचनको माहोलका कारण विद्यार्थीको समस्या ओझेलमा परेको छ । यस वर्ष पनि पुस्तक अभाव हुने निश्चित हुँदासमेत शिक्षा मन्त्रालय, शिक्षा विभागले आवश्यक अनुगमन गर्न सकेको छैन । जनक शिक्षामा केही महिनाअघि प्रबन्ध सञ्चालकमा नियुक्त भएका महेन्द्रप्रसाद तिमल्सिनाले आवश्यक पुस्तक छपाइको काम सकिएको र केही दिनमा पुस्तक तयार गरी अपुग भएका ठाउ“मा वितरण हुने बताए ।

जनक शिक्षा सामग्रीको प्रेसमा मतपत्र छाप्दा केही ढिलाइ
जनक शिक्षा सामग्री केन्द्रको सेक्युरिटी प्रेसमा मतपत्र छपाइको काम गर्दा पाठ्यपुस्तक छपाइमा केही ढिलाइ भएको प्रबन्ध सञ्चालक महेन्द्रप्रसाद तिमल्सिनाले बताए । आफू प्रबन्ध सञ्चालक भएर आउनुअघि कागज अभाव भएकाले पनि तीव्र गतिमा पुस्तक छपाइको काम हुन नसकेको उनको भनाइ छ । सेक्युरिटी प्रेसमा पुस्तक छपाइ गर्न नपाएपछि १५ लाख पुस्तक छपाइको जिम्मा निजी प्रेसलाई दिइएको हो । जनक शिक्षाले दुईवटा काठमाडौं र तीनवटा विराटनगरका निजी प्रेसलाई छपाइको जिम्मेवारी दिएको थियो । निजी प्रेसले भने पुस्तक छपाइको काम समयमै गरेका थिए ।

१० वर्षदेखि निरन्तर घाटा
जनक शिक्षा १० वर्षदेखि निरन्तर घाटामा सञ्चालन भइरहेको छ । जनक शिक्षामा व्यापक सुधारको कार्ययोजनासहित खुला प्रतिस्पर्धाबाट प्रबन्ध सञ्चालकमा नियुक्ति पाएका अनिल झाको कार्यकालमा ८० करोड घाटा पुगेको छ । केही महिलाअघि नै झाको कार्यकाल सकिएको छ । तर, घाटा लाग्ने क्रम रोकिएको छैन । जनक शिक्षाको कुल घाटा डेढ अर्ब पुगेको छ । ०६३(६४ यता १० वर्षसम्म जनक शिक्षा लगातार घाटामा सञ्चालन भएको छ ।

साझाले सम्झौताअनुसार काम गरेन स् जनक शिक्षा
जनक शिक्षा सामग्री केन्द्रले ३० लाख थान पाठ्यपुस्तक छपाइको जिम्मा साझा प्रकाशनलाई दिए पनि समयमा काम नसक्दा समस्या भएको जनक शिक्षाका अधिकारीको भनाइ छ । चैत मसान्तसम्म छपाइ गरेर दिने सम्झौता भए पनि अहिलेसम्म नौ लाख थान मात्र पाठ्यपुस्तक दिएको प्रबन्ध सञ्चालक महेन्द्रप्रसाद तिमल्सिनाले बताए । ‘हामीलाई साझाको हाकिमको बानी थाहा थियो, पूर्ण विश्वास थिएन, अहिले अरू हिसाबले आवश्यक पुस्तकको हामी आफैँले व्यवस्थापन गर्यौँ,’ उनले भने । साझा प्रकाशनका प्रबन्ध सञ्चालक डोलेन्द्रप्रसाद शर्माले जनक शिक्षाले कागज नदिएका कारण केही ढिलाइ भएको बताए । नयाँपत्रिका दैनिकमा खबर छ ।

Comments: