• प्रा हेमांगराज अधिकारीलाई ११ प्रश्न
    ()

  • प्रा हेमांगराज अधिकारी
    भाषा विभाग प्रमुख
    नेपाल प्रज्ञा–प्रतिष्ठान

    वर्णविन्यास भत्काउन किन लाग्नुभयो  ?
    भाषा बिगारिएको होइन, परिमार्जन गरिएको हो । परिमार्जनको पहिलो आधार ०४० सालकै नेपाली बृहत् शब्दकोश हो । त्यतिखेरै संस्कृतबाट आएका शब्दलाई जस्ताको त्यस्तै (तत्सम) र आगन्तुक शब्दलाई नेपाली नियम अनुसार राख्ने सरकारी निर्णय थियो ।

    परिमार्जित गर्नुपर्ने कारणचाहिँ के हो ?
    नेपाली भाषालाई हामीले ह्रस्वदीर्घमा मात्रै खुम्चायौँ । यसमा रचनात्मक बहस भएन । भाषालाई सजिलो बनाए पो राम्रो हुन्छ । हामी हिज्जेमै डल्लिएर कति बस्ने रु पठनपाठनलाई सिर्जनात्मक बनाउन नियम घोकेर भाषा सिक्नुपर्ने स्थिति हट्नुपर्छ भनेर सरल बनाइएको हो । हजुरबा, बाले त्यसरी पढे, मैले पनि त्यही पढेँ, अब पनि त्यही हुनुपर्छ भन्नु उल्टो गति मात्र हो ।

    त्यसो भए यो नयाँ कुरा नै होइन ?

    अगाडि र बीचमा ह्रस्व, पछाडिको उकार भए ह्रस्व, ईकार भए दीर्घ लेख्ने नियम त मास्टर गोपाल पाँडे ‘असीम’को ह्रस्व दीर्घ आदिको सवाई (१९९७) को सवाई नं ४६ र पुष्करशमशेर (२००८) को लेखमै भनिसकेको कुरा हो ।

    आन्दोलनको तारोमा तपाईं हुनुहुन्छ नि ?
    मैले व्यक्तिगत लहडमा यो निर्णय गरेको होइन । यो बिलकुल संस्थागत निर्णय हो । तर, लेखक–प्रकाशकहरूले हामी पुरानियौँ भन्ने हिसाबले स्यालहुइँया मच्चाएका छन् । उनीहरू अभियन्ता हुन् कि अपयन्ता ? मलाई थाहा छैन ।

    मैले ०४९ सालमा पुस्तक लेखेँ, समसामयिक नेपाली व्याकरण । भाषा वैज्ञानिक परिप्रेक्ष्यमा लेखिएको प्रयोगात्मक व्याकरण भएकाले प्रवीणता प्रमाणपत्र तहको अनिवार्य नेपालीको सन्दर्भ सामग्रीमा त्यसलाई मात्र समेटिएकाले साथीहरू रिसाए । सायद अहिलेसम्म त्यसकै धङधङी होला ।

    तपाईं संस्थागत निर्णय भन्नुहुन्छ तर विरोध तपाईंको मात्र भइरहेको छ त ?
    ०६५ को अनिवार्य नेपाली शिक्षण निर्देशिका हामी सात जना मिलेर बनाएका हौँ । व्रतराज आचार्य, देवीप्रसाद गौतम, राजेन्द्र सुवेदी, बद्रीविशाल भट्टराई, जगदीशचन्द्र भण्डारी र मैले । मेरा साथीहरू अपयश आउँछ भनेर अगाडि आइदिएनन् । म यश र अपयशको भागी छु । व्याकरण र कोश लेखेपछि भाषामा अधिकार हुन्छ । काम अलि बढी गरिएछ कि !

    त्रिविका प्राडाहरूले नै भाषा बिगारेको आरोप तपाईंमाथि लगाइरहेका छन् नि ?
    खगेन्द्र लुइँटेल ०५७ पछि पाठ्यक्रम विकास केन्द्रको नेपाली विषय समितिमा रहनुभएन । अनि, विरोध गर्न थाल्नुभयो । देवीप्रसाद गौतमले पहिले ठीक भनेर पठाउनुभयो, पछि नेपाली विभागमा प्रवेश दिन्नँ भन्न थाल्नुभएको छ । उहाँले प्रवेश नदिएर के हुन्छ रु उहाँको एउटा विभाग मात्र छ र त्रिविमा रु

    उसो भए अब पुराना किताब र कृति सबै अशुद्ध हुन्छन् ?
    हामीले कहिल्यै त्यसो भनेका छैनौँ । तर, मानकीकरणका विकल्पमध्ये एउटा विकल्पलाई प्रोत्साहित गर्नुपर्छ भनेको मात्र हो । कतिपयलाई भय र भ्रम छ । आन्दोलनकारीमा तर्कभन्दा बितन्डा बढी छ । बितन्डा त पाखण्ड हो ।

    साथीहरू मलाई मिर्गौलाका व्यापारी र डलरको खेती भनिरहेका छन् । भाषालाई रचनात्मक बहसतिर नलगेर गाईजात्रे प्रदर्शनी गरेका छन् । के अब ह्रस्वदीर्घ आयोग बनाउने रु दीनानाथ शर्मालाई गोजीमा हाल्दैमा सबथोक भइहाल्छ त !

    अब मानकीकरण कसरी हुन्छ ? 
    हो, शिक्षा र सञ्चार क्षेत्रमा मानकीकरण चाहिन्छ । मानकीकरणका संवाहक भनेकै सम्पादक र शिक्षक हुन् । तर, यहाँ लेखक पनि होइन, साहित्यकारहरूले होहल्ला गरिरहेका छन् । यो स्वतस्स्फूर्त रूपमा भएको हो या कसैको उक्साहटमा रु यसमा लेखक–भाषाविद् लाई यस्तो, उस्तो हुनुपर्छ भन्ने अधिकारै छैन । आधुनिकीकरण, मानकीकरण, लिपि छनोट, लिपि सुधार, हिज्जे सुधार विशुद्ध भाषाविज्ञानको क्षेत्र हो ।

    तपाईंको निजी कोश बिकाउन यो बबन्डर भएको रे ?
    प्रयोगात्मक नेपाली शब्दकोशजस्तो उच्चारणसहितको कोश दक्षिण एसियामै छैन । हिन्दी भाषाभण्डारमा पनि छैन । हामीले डाह हुने काम गरेका रहेछौँ । देवनागरीको चिन्ता नभएको भए मैले त्यो काम किन गर्थें रु संस्कृत त हाम्रो पोषक भाषा हो भने अंग्रेजी मारक भाषा ।

    प्रत्येक वर्ष शब्दकोश किन्नुपर्ने अवस्था आयो नि ?
    संक्रमणकालमा यस्तै हुन्छ । ०४७, ०६३ सालमा बनाएको संविधान पनि त काम लागेन नि !

    संसद्मा कुरा उठिसक्यो । अब समाधान के छ तपाईंसँग ?
    थुक त निल्नु हुँदैन भन्छन् । परिमार्जित वर्णविन्यास लागू भएको चार वर्ष भइसक्यो । मैले कुनै आदेश गरेको होइन । आदेश हो भने नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले) पनि आदेश नै हो ।

    नेपाल साप्ताहिकका लागि राजकुमार बानियाले यो अन्तर्वार्ता तयार पारेका हुन ।