२०७६ कार्त्तिक २६ गते

ई–पाटीबाट गुणस्तरीय सिकाइ

 

नेपालगन्ज  । राप्ती सोनारी गाउँपालिका ८ महादेवपुरी, वालापुरस्थित जनशक्ति आधारभूत विद्यालयको पठनपाठन पछिल्ला वर्षमा गुणस्तरीय बन्दै गएको छ । परम्परागत विधिबाट पठनपाठन हुने विद्यालयमा ई–पाटी सञ्चालनपछि विद्यार्थीको पाठ्यक्रमअनुसार ज्ञान र सीपमा गुणस्तरीयता बढेको हो ।

कक्षाकोठामा ६ घन्टी पढाइ हुनेमा प्रत्येक दिन एक घन्टी इ–पाटीमा पढाइ हुन थालेको छ । ई–पाटीमा विद्यार्थीले उसैदिन पढेका विभिन्न विषयको शिक्षण अभ्यास र अतिरिक्त त्रियाकलाप प्रयोगात्मक विधिबाट गरिन्छ । ई–पाटीमा सबै कक्षाको विषय र पाठसँग सम्बन्धित सबै क्रियाकलाप राखिएको हुन्छ । शिक्षकको सहायताबिनै विद्यार्थीले आफैं ई–पाटीमा पढ्न सक्छन् । यसमा राखिएका विभिन्न वटममार्फत विद्यार्थीले पाठ्यपुस्तकअनुसारकै पाठ पढ्न सक्ने कक्षा ३ का सौरभ केसीले बताए । पाठसँग सम्बन्धित विभिन्न अभ्यास पनि विद्यार्थी आफैंले गर्न सक्ने व्यवस्था छ ।

‘हामीहरू यसैमा सबै विषयका पाठ पढ्न सक्छौँ । अभ्यास पनि इपाटीमै गरेका छौँ ।


पाठ्यपुस्तकसँग सम्बन्धित प्रयोगात्मक सामग्री राखिएको हुँदा स्पष्टसँग बुझ्न सकिएको छ,’ कक्षा ५ मा अध्ययनरत आधार ओलीले भने, ‘पाठसँग सम्बन्धित विभिन्न प्रश्नको हल पनि ई–पाटीमै गर्ने भएकाले सजिलो हुन्छ ।’ शिक्षकका अनुसार इ–पाटीको मद्दतले शिक्षण क्रियाकलाप प्रभावकारी हुँदै गइरहेको छ । विद्यालयमा विभिन्न चित्र, गीत, खेलको माध्यमबाट ई–पाटीमा पढाइ हुने गरेको छ । यसमार्फत विद्यार्थीले कम्प्युटरको अभ्याससमेत गरेका छन् । यो विधिको शिक्षणमार्फत अंग्रेजी, गणित र विज्ञानमा विद्यार्थीको ज्ञान र सीप पनि बढ्दै गएको शिक्षकको भनाइ छ । बालापुरसहित स्थानीय कन्दी मावि, घरबारीटोलस्थित नेपाल राष्ट्रिय मावि, खजुराको ज्ञानोदय उच्चमाविमा ई–पाटीमार्फत शिक्षण हुने गरेको छ ।

एकैपटकमा ४० विद्यार्थीलाई ई–पाटीमार्फत शिक्षण गर्ने व्यवस्था मिलाइएको छ । यो विधिबाट शिक्षण गर्दा बालबालिकाको अतिरिक्त क्रियाकलापमा सहयोग पुगेको अभिभावकको भनाइ छ । इपाटीमै शैक्षिक सामग्री र पाठसँगसम्बन्धित विषयका अन्य अतिरिक्त सामग्री राखिएको हुँदा यसमार्फत विद्यार्थीलाई छिटो बुझ्न सजिलो हुने छ । ई–पाटीमार्फत विद्यार्थीको पढाइ र सिकाइमा गुणस्तरीयता आएको उपजिल्ला शिक्षा शिक्षा अधिकारी गोर्खबहादुर थापाले बताए । ‘यो शिक्षणले विद्यार्थीको पठन सीपका साथै गुणस्तरीयतामा वृद्धि भइरहेको छ,’ थापाले भने, ‘यसमार्फतको शिक्षणले खेल, प्रयोगात्मक सीप र अभ्यासका कारण विद्यार्थीको पाठ्यक्रमअनुसार सिकाइ उपलब्धि बढिरहेको छ ।’ उनले जिशिका विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा यो विधिअनुसार पठनपाठन अन्य विद्यालयमा क्रमशस् लागू गर्दै जाने योजनामा रहेको जनाए ।

कृष्णप्रसाद गौतमले कान्तिपुरमा लेखेको खबर 

Comments: