२०७६ कार्त्तिक २९ गते

विश्वविद्यालय पाठ्यक्रममा बुद्धशिक्षा

महोत्तरीका ३२ वर्षीय श्यामसुन्दर चौधरी अंग्रेजी साहित्य अन्तिम वर्षको परीक्षा दिएर बसेका थिए। मनमा बेचैनी थियो। यसो गरौं कि उसो गरौं भइरहन्थ्यो। यसबीच उनले केही प्रेरणादायी पुस्तक पढे। यसले उनलाई मानसिक उद्वेलन नियन्त्रण गर्ने उपाय सिकायो। दार्शनिक विषयमा रस पस्दै गएपछि उनले बौद्ध शिक्षा पढ्ने निधो गरे।

पश्चिमा दर्शनबारे धेरथोर ज्ञान बटुलिसकेका उनलाई पूर्वीय दर्शन पनि बुझ्न मन थियो। सरासर गएर त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बौद्ध अध्ययन विभागमा भर्ना भए । 'यो अध्ययनले मलाई जीवनमा व्यावहारिक रूपमा कसरी अगाडि बढ्ने भन्ने बुझ्न निकै सहयोग गर्यो ,' उनी भन्छन् । बौद्ध दर्शन पढेर बुद्धत्व नै प्राप्त गर्ने उनको ध्येय थिएन। तैपनि अध्ययन गर्दै जाँदा उनले आफूभित्र थुप्रै परिवर्तन महसुस गर्न थाले ।

'सानो–सानो कुरामा रिसाउने, कराउने र झर्किने बानी कम भयो। समस्या र परिस्थितिलाई सम्हाल्न सिकेँ,' उनी आफूमा आएको परिवर्तन सुनाउँछन्। जीवनमा सुखदुःख चक्रवत् घुमिरहने भएकाले यस्ता कुरामा मात्तिने र आत्तिने नभई तिनलाई सामान्य रूपमा आत्मसात् गर्नुपर्ने तथ्य उनले बुझे। त्यसलाई आफ्ना भोगाइमार्फत मनन पनि गरे । 'यसबाहेक बुद्धको दर्शन, मन, चित्त र अहिंसाका कुरा मेरो मनमा गडेर बसेका छन्,' चौधरी भन्छन्।

विस्तार हुँदै बौद्ध अध्ययन

५४ वर्षअघि नेपालमा बौद्ध पर्यटकीय शिक्षा नाममा अनौपचारिक रूपमा सुरु बौद्ध दर्शन अध्ययन पहिले गुम्बा र विहारमा मात्र सीमित थियो।

त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकायअन्तर्गत केन्द्रीय बौद्ध अध्ययन विभागमा स्नातकोत्तर तहमा बौद्ध अध्ययन अर्थात् 'बुद्धिज्म स्टडिज' अध्यापन सुरु भएको १५ वर्ष भयो। यो दुईवर्षे कोर्सको पहिलो वर्ष बौद्ध धर्मको इतिहास र दर्शन, बौद्ध साहित्य, कला, लिपिलगायत विषयको पढाइ हुन्छ भने दोस्रो वर्षमा नेपालमा बौद्ध अर्थात् मण्डला, नेपालमा बौद्ध सम्पदा, दर्शन र एसियाका बौद्ध परम्पराबारे अध्ययन हुन्छ।

नेपालमा बौद्धशास्त्र अध्ययनको सुरुआत २०५६ सालदेखि भए पनि विदेशका विश्वविद्यालयमा भने पहिल्यैदेखि पढाइ हुँदै आएको थियो। बौद्ध अध्ययन गर्न चाहने विद्यार्थी विदेशमा गएर पनि पढ्थे। त्रिविभन्दा केही वर्षअघि तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत विश्वविद्यालय) मा बौद्ध दर्शन विभाग स्थापना भयो। सुरुमा नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागअन्तर्गत थालिएको बौद्ध अध्ययन २०६१ सालमा बौद्ध अध्ययन केन्द्रीय विभाग स्थापनापछि त्यसैअन्तर्गत अध्यापन नियमित हुन थाल्यो । काठमाडौं विश्वविद्यालयले पनि बौद्ध अध्ययनको पाठ्यक्रम तयार गरी अध्यापन सुरु गर्योन। काठमाडौं विश्वविद्यालयअन्तर्गत अहिले सेतो गुम्बामा बौद्ध अध्ययन पढाइ हुन्छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको सम्बन्धनमा पनि अहिले छवटा क्याम्पसमा बौद्ध अध्ययनअन्तर्गत विभिन्न विषय पढाइ हुन्छ। कुनै पनि विषयमा स्नातक उत्तीर्ण गरेका विद्यार्थीले यहाँ स्नातकोत्तर तह भर्ना भएर बौद्ध अध्ययन गर्न सक्छन्। यसअन्तर्गत बुद्धिज्म अध्ययन, अप्लाइड बुद्धिज्म, थेरावाद बुद्धिज्म, बुद्धिज्म एन्ड हिमालयन स्टडिज र बुद्धिज्म एन्ड पिस स्टडिज पढाइ हुन्छ।

त्रिभुवन विश्वविद्यालयमा अहिले पिएचडी र अनुसन्धानात्मक अध्ययन गर्न विद्यार्थी आउने गरेका छन् । त्यहाँ अध्ययन पूरा गरेकाहरू कोही अहिले त्रिविमै त कोही लुम्बिनी बौद्ध विश्वविद्यालयमा शिक्षण गराइरहेको विभागप्रमुख डा. मिलन शाक्य बताउँछन्। 'हामीकहाँ स्नातकोत्तर र विद्यावारिधि तह अध्ययन हुने भएकाले धेरैजसो विद्यार्थी प्रौढ नै छन्,' उनी भन्छन्। विभागमा प्रमाणपत्र नलिने गरी नन–डिग्री अध्ययनका लागि पनि विद्यार्थी आउने गरेको शाक्यले जानकारी दिए ।

बौद्ध अध्ययन भन्नासाथ धर्मसम्बन्धी पढाइ भन्ने धेरैको बुझाइ छ। कतिपयले यसलाई बुद्धधर्मको प्रचारसँग पनि जोड्ने गर्छन्। तर, विभागप्रमुख शाक्य यो कुरा स्विकार्दैनन्। बौद्ध अध्ययन दर्शन अर्थात् फिलोसोफको अध्ययन भएको उनी बताउँछन्। 'यो धर्म प्रचारका लागि बिल्कुलै होइन, धर्मको अध्ययन पनि होइन। यसमा पुरातात्िवक पक्षहरू, संस्कृति, पर्यटन र अभ्यासबारे पढाइ हुन्छ,' उनी भन्छन्। सैद्धान्तिक ज्ञानसँगै यसमा 'फिल्ड वर्क' पनि पर्याप्त हुने उनको भनाइ छ ।

ललितपुरका ३७ वर्षीय विश्व शाक्यले विभागबाट बौद्ध अध्ययनमा स्नातकोत्तर पूरा गरे। यसै विषयमा विद्यावारिधि गर्ने योजना बनाएका उनले स्नातकोत्तर उत्तीर्णपछि गुम्बा डिजाइन गर्ने अवसरसमेत पाए। 'यसबाट मैले बुद्धिज्मलाई राम्रोसँग बुझ्न पाएँ। सबै कुरा विस्तृत रुपमा अध्ययन गर्नुपर्ने रहेछ,' उनी भन्छन्। विभिन्न देशका बौद्ध अध्ययनसम्बन्धी विषयसमेत पाठ्यक्रममा समावेश भएको उनी बताउँछन् ।

छैनन् धेरै विद्यार्थी

सीमित स्थानमा पढाइ हुने बौद्ध अध्ययनमा विद्यार्थी उति धेरै भने छैनन्। यसको मूल कारण आममानिसमा यो धर्मसम्बन्धी विषय रहेको भ्रम व्याप्त हुनु नै हो। यो विषय पढिसकेकाहरूले भने यसको गहिराइ बुझिसकेका छन् । 'विषय बुद्धिज्म भने पनि सबै रिलिजनबारे पढाइ हुने रहेछ,' शाक्य भन्छन्। कतिपयमा यो विषय अध्ययन गरेपछि भिक्षु हुनुपर्छ भन्ने भ्रम पनि छ। शाक्य भने भिक्षु हुने कुरा बाध्यकारी नभएर व्यक्तिगत इच्छामा भर पर्ने बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयले बौद्ध अध्ययन विषय सुरु गरेको डेढ दशकभन्दा धेरै भइसके अझै देशभर विस्तार हुन सकेको छैन। विभागीय प्रमुख शाक्य सरकारी विश्वविद्यालय भएकाले आफूहरू अन्य विश्वविद्यालय वा शिक्षण संस्थाजस्तो प्रचारमा नलागेको बताउँछन्। विभागको अध्ययन तथा पाठ्यक्रम गुणस्तरीय भएको दाबी गर्दै उनी भन्छन्, 'हामीलाई अरूजस्तो विज्ञापन गर्न जरुरी छैन।'

लुम्बिनी बौद्ध विश्वविद्यालय नै स्थापना भए पनि त्यससँग सम्बन्धनप्राप्त कलेजमा पनि त्यति धेरै विद्यार्थी छैनन्। अहिले १ सय ५० हाराहारी मात्र विद्यार्थी रहेको विश्वविद्यालयका डिन भद्र वज्राचार्य बताउँछन्। स्वदेशी–विदेशी दुवै विद्यार्थी भर्ना गरिरहेको यस विश्वविद्यालयले निकट भविष्यमै भाषागत रूपमा पनि कक्षा सञ्चालन गर्न लागेको उनले जानकारी दिए। 'कसैले दर्शन बुझ्न, कसैले अभ्यास गर्न र रोजगारीका लागि समेत पढ्ने गरेका छन्,' उनी भन्छन्। पुरातात्िवक महत्वका सम्पदा निर्माणमा समेत सघाउने भएपछि विस्तारै यसतर्फ आकर्षण बढ्दै गएको पनि डिन वज्राचार्यको भनाइ  छ।

नेपालमा बौद्ध अध्ययनलाई नजिकबाट नियालिरहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोध (सिद्धार्थ) नेपालमा बौद्ध अध्ययन बिस्तारै विकास हुँदै गइरहेको बताउँछन्। विश्वविद्यालयमै पाठ्यक्रम राखिएपछि पहिलेजस्तो बौद्ध अध्ययनका लागि गुम्बा नै जानुपर्ने बाध्यता हटेको उनी बताउँछन्। 'यसको अध्ययन र अध्यापन बढ्दै जानु सकारात्मक हो,' उनी भन्छन्। यस विषयमा पाको उमेरका मानिस मात्र नभई अवकाशप्राप्त व्यक्ति र युवा पनि आउनुलाई उत्साहप्रद ठान्छन्, उपाध्यक्ष निग्रोध।

पढ्दैमा भिक्षु बन्नु पर्दैन

त्रिभुवन विश्वविद्यालयअन्तर्गत केही विशिष्टीकृत पाठ्यक्रम छन्। एसियाका कोरिया, जापान र युरोपका विभिन्न मुलुकमा बौद्ध धर्मको विकास, परम्परालगायत विषयमा पनि छुट्टाछुट्टै पढ्न पाइन्छ। यो अध्ययन बौद्धधर्म प्रचारका लागि नभएकोमा उनी पटकपटक जोड दिन्छन्। 'यो एउटा दर्शन हो, धर्म प्रचारका लागि पढ्ने होइन,' भन्छन्। यसलाई धर्मको राजनीति वा प्रचारबाजीमा नजोड्न अनुरोध पनि गर्छन् उनी।

बौद्ध अध्ययन समाजशास्त्र मात्र नभई विज्ञानसमेत भएको उनको बुझाइ छ। आफूलाई बुझ्न जरुरी विज्ञान नै बौद्ध अध्ययन भएको दाबी गर्छन्। 'यसमा आकर्षण, विकर्षण वा विभेद केही पनि छैन। बुद्धिज्ममा यस्तो एन्टायर फेनोमेनन लुकेको छ जसलाई हामी सबैले बुझ्न आवश्यक छ,' उनी भन्छन्, 'यो जुनसुकै धर्मावलम्बीका लागि उत्तिकै रोचक र उपयोगी छ।'

त्रिविका विभागीय प्रमुख शाक्य बुद्धिज्म पढ्दैमा भिक्षु नबनिने बताउँछन्। उनको बुझाइमा भिक्षु बन्ने भनेको फेसन र प्रचारबाजी बनेको छ। उनी यसलाई 'कमोडिटी अफ बिजनेस' को रुपमा लिन्छन् । भिक्षु बन्दैमा आफूलाई बुझ्ने वा बुद्धिज्म बुझ्ने भन्ने पनि नहुने उनको तर्क छ।

बौद्ध धर्ममा पञ्चशील, विभिन्न सिद्धान्त, दर्शन र संघ छन्। यससँग जोडिएका लिपि, चित्रकला, संस्कृति छन्। यसको अध्ययन नै कलात्मक भएकाले आफूहरूले पनि कलात्मक रूपमा पढाउने गरेको शाक्य बताउँछन्। 'उज्यालो के हो, बुझ्नका लागि पहिला अन्धकारको अनुभव लिनुपर्छ। ज्ञान प्राप्त गर्नु र आफूलाई खुसी राख्नु नै बुद्धको दर्शन हो। हामी यी कुरा ध्यानमा राखेर कलात्मक रूपमा पढाउँछौं,' उनी भन्छन्। धर्म र त्यसको मर्म दुवै बुझ्न सघाउने गरी व्यावहारिक रूपमा अध्यापन गराइने उनी बताउँछन्।

कपन गुम्बाका भिक्षु कान्छा शेर्पा (घेँ हिसी) भिक्षु बन्न बौद्ध दर्शन अध्ययन नगरिने बताउँछन्। गुम्बा र विश्वविद्यालयमा हुने पढाइमा अन्तर रहेको उनको बुझाइ छ। नागरिक दैनिकमा खवर छ ।

Comments: