• 'निजी विद्यालय रहन्छन् तर नाफा कमाउन दिइन्न' – प्रवक्ता श्रेष्ठ
    (ईपाटी संवाददाता)


  • ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले निजी विद्यालयहरुलाई अब नाफा मात्रै कमाउन नदिइने बताएका छन् । निस्वार्थ भावले निजी विद्यालय सञ्चालन गर्न पाइने भएपनि नाफा मात्रै कमाउन नपाइने श्रेष्ठले स्पष्ट पारेका हुन् ।


    शिक्षालय मासिकद्वारा आयोजित प्याब्सनका नवनिर्वाचित  कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले  निजी विद्यालय सञ्चालन गर्नको लागि सरकारले कुनै बन्देज नगर्ने तर, कडा नियमन भने पक्कै गर्ने बताएका हुन् ।


    आफ्नो जीविकाको लागि मात्र विद्यालय सञ्चालन गर्न खोजेको हो भने त्यसलाई अहिल्यै रोक्नुपर्नेमा जोड दिँदै श्रेष्ठले शिक्षामा दीर्घकालिन रुपमा सेवाको भावले गुणस्तरिय शिक्षा प्रदान गर्नको लागि मात्र विद्यालय सञ्चालन गर्न आग्रह गरे ।


    ‘खाली नाफा कमाउनको लागि विद्यालय सञ्चालन गर्ने हो भने सरकार भएको के अर्थ भयो ? हामीले लामो संघर्ष गरेर सरकारमा पुगेको के अर्थ भयो ? शिक्षा मन्त्रालय जसले चलाए पनि भईहाल्यो नि । कम्युनिष्टको सरकार किन चाहियो र ?’ श्रेष्ठले भने ।


    अहिले सरकारले मात्र शिक्षामा लगानी गरेर पुग्ने अवस्था नभएपनि सरकारको मुख्य ध्येय सामुदायिक विद्यालयको उन्नतिका लागि काम गर्ने भएको श्रेष्ठको जिकिर थियो ।


    कार्यक्रममा, प्याब्सनका नवनिर्वाचित अध्यक्ष टिकाराम पुरीले संस्थागत विद्यालयको हकहितको लागि काम गर्ने प्रतिवद्धता जनाउँदै सरकारले निजी विद्यालयप्रति कुनै नकारात्मक धारणा राख्न नहुने बताए । ‘हामीले धेरैपटक प्रधानमन्त्री, शिक्षामन्त्रीलगायत शिक्षासँग सम्बन्धित निकायका अधिकारीसँग कुराकानी गर्दा निजी विद्यालयप्रति सकारात्मक कुरा नै देखिन्छ । निजी विद्यालयप्रति यदाकदा केही भ्रमित कुराहरु सुनिनमा आउँछ । यसलाई चिरेर सरकारसँग सहकार्य गरि शिक्षामा योगदान दिन हामी तयार छौं ।’


    शिक्षासेवी रानी गुरुङ कक्षपतिले आजको आवश्यकता भनेको नैतिकवान नागरिक उत्पादन गरि राष्ट्रसेवक जनशक्ति बनाउनुपर्ने बताइन् ।


    ‘शिक्षा पथ’ सार्वजनिक
    कार्यक्रममा शिक्षालय मासिकले तयार गरेको शिक्षा पथ पुस्तक समेत सार्वजनिक गरिएको थियो । पुस्तकमा ४९ जना संस्थागत शिक्षासेवीहरुको जीवनी समेटिएको छ ।


    कार्यक्रममा प्याब्सनका केन्द्रिय पदाधिकारीदेखी प्रदेश ३ का अध्यक्ष र काठमाडौं उपत्यकाका जिल्ला अध्यक्षकाहरुलाई कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता श्रेष्ठले प्रमाण पत्र सहित बधाई दिएका थिए ।


    सानेपाको एल्लो हाउसमा सम्पन्न उक्त कार्यक्रममा निजी विद्यालयका संचालकहरु, शिक्षा पत्रकार तथा शिक्षासेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।