• राहत,इसिडि शिक्षकको बुधवारको शैक्षिक हड्ताल फिर्ता, आन्दोलन जारी नै रहने
    (ईपाटी संवाददाता)


  • काठमाडौं । चौतर्फी विरोध पछि आन्दोलनरत राहत तथा इसिडि शिक्षकहरुले घोषणा गरेको विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका छन् ।


    बुधवार एउटा प्रेस विज्ञप्ति जारी गर्दै नेपाल राहत तथा बाल विकास शिक्षक केन्द्रीय समितिले फागुन २१ गतेको लागि घोषणा गरेको आम राष्ट्रिय शैक्षिक हड्ताल फिर्ता लिएका हुन् ।


    समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा शैक्षिक हड्ताल फिर्ता लिएपनि अन्य आन्दोलनका कार्यक्रमहरु भने यथावत रहेको जनाइएको छ ।

    विद्यालय बन्दको घोषणा पछि त्यसको सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । प्रेस विज्ञप्तिमा भनिएको छ– 'विद्यार्थीहरुको पढ्न पाउने नैसर्गिक अधिकारलाई मध्यनजर गरी आम शैक्षिक हड्तालको कार्यक्रम फिर्ता गरीएको छ ।'


    'घोषित अन्य आन्दोलनका कार्यक्रम यथावत रहेकोले फागुन २२ गते सम्पूर्ण साथिहरु माईतिघर मण्डला देखि सुरुहुने शान्तिपूर्ण प्रदर्शन कार्यक्रममा सक्रिय सहभागितको लागि अनुरोध गर्दै यो विज्ञप्ती जारी गरिएको छ ।' विज्ञप्तिमा भनिएको छ ।

    मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा समेत गरेर ४० हजारको हाराहारीमा राहत शिक्षक कार्यरत छन् । सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरवन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो । अहिले तीनै शिक्षकले आफूहरुलाई स्वत दरवन्दीमा रुपान्तरण गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् । उता, विद्यालय कर्मचारी र बालविकासका शिक्षकहरुले पनि स्थायी हुनुपर्ने माग राख्दै आएका छन् ।