• राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन : यो वर्ष मात्रै २ लाख ५४ हजार विद्यालय भर्ना
    (ईपाटी संवाददाता)


  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो  सरकारले एक वर्षमा उपलब्धिहरु हासिल गरेको  दाबी गरेका छन् । बिहीबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले इतिहासमै कहिल्यै नभएको गतिमा काम गरिरहेको दाबी गरेका हुन् ।


    सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले शैक्षिक सत्र २०७५ को विद्यार्थी भर्ना अभियान कार्यक्रमबाट २ लाख ५४ हजार थप विद्यार्थी विद्यालय भर्ना भएका भन्दै यसलाई ऐतिहासिक उपलब्धि भएको जनाएका हुन् । यस्तै, देशभरका १२० स्थानीय तहहरुले विद्यालय उमेर समूहका कुनैपनि बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गरेका र यो ऐतिहासिक उपलब्धि रहेकामा उनको जोड थियो ।


     'गएको वर्ष सबै विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरेका र  यस वर्ष पनि समयमै पाठ्यपुस्तक पुग्ने उनको दाबी थियो ।  लगातार २ वर्ष समयमै पाठ्यपुस्तक पुगेको यो दोस्रो वर्ष हो ।' प्रधानमन्त्री ओलीले भने ।


    'एक वर्ष अघि मैले पदबहाली गर्दा दुई वर्ष भित्रमा सबै स्थानीय तहमा प्राविधिक शिक्षा पुयाउने घोषणा गरेको थिएँ । सीटीईभीटीले यो वर्ष मात्र १०१ स्थानीय तहमा नयाँ प्राविधिक शिक्षालय स्थापना गरेको छ । सीटीईभीटीकै दाबी छ, इतिहासमा यति धेरै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भएको यो पहिलोपटक हो ।' सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने ।


    भूकम्पपछिको पुनर्निर्माणले यो वर्ष गति लिएको र १ हजार ७२ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको उनले दाबी गरे । सबै स्थानीय तहसम्म बोडव्याण्ड कनेक्टिभिटी विस्तारको क्रममा हालसम्ममा १ हजार ३७१ वटा वडा कार्यालय, १ हजार ४६० वटा सामुदायिक माध्यामिक विद्यालय र १ हजार ६३ वटा स्वास्थ्य केन्द्रमा दुई बर्षसम्मका लागि निशुल्क इन्टरनेट सेवा जडान गरिएको उनले जानकारी दिए ।