२०७६ असोज १ गते

गयल हुन छाडे छात्रा

पर्सा । महिनावारीको समयमा ‘सेनिटरी प्याड’ को प्रयोग गर्न प्रोत्साहित गरेपछि जिल्लाका ग्रामीण भेगका दर्जन सामुदायिक विद्यालयका छात्राहरूको विद्यालयको आगमन नियमित हुन थालेको छ । बालिका शिक्षाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था आसमान नेपालले चार वर्षयता जिल्लामा सञ्चालन गरेको ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ कारण यस्तो परिवर्तन आएको हो ।

यसअघि महिनावारीको समयमा छात्राहरू विद्यालय आउनै छाड्ने गरेकामा उनीहरूलाई आफैं प्याड बनाएर प्रयोग गर्ने तरिका सिकाइएपछि महिनावारीको समयमा पनि छात्राहरू विद्यालय आउन थालेका हुन् । आसमानले हाल द्वारदेवी मावि अलौं, शारदा मावि बहुअरी, मुखदेव सुशील मावि रामनगरी, राधाकृष्ण चौहान मावि बहुअर्वाभाठा, उच्चाङ्गल मावि पोखरिया, रामचरित्र भगत मावि पकाहामैनपुर, सुकई साह मावि भेडियाही, कालीप्रसाद लाखे मावि लंगडी, जनता मावि र नेरा मावि बर्वाछटैली, हरपुर मावि, उच्च मावि डकैला बहुअरीमा यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

विभिन्न कारणले विद्यालय नियमित नआउने र भर्ना भए पनि बीचमै पढाइ छाडेर घरमा बसेका छात्राहरूलाई त्यसै गाउँका ठूला कक्षामा पढ्ने ‘दिदी’ हरूले विद्यालयमा पुनस् फर्काउने प्रयास गर्दै आएका छन् । कार्यक्रमअन्तर्गत एक दर्जन विद्यालयमा ८० दिदीहरू सक्रिय भएपछि ३ सय २५ छात्रा विद्यालयमा नियमित छन् । ‘सानी बहिनी’ भनी बोलाइने यस्ता छात्राहरू यस क्रममा प्रत्येक महिना महिनावारी हुँदा विद्यालयै नआउने समस्या ठूलै रूपमा देखिएपछि यो अभियान चलाइएको आसमान नेपालका जिल्ला कार्यक्रम संयोजक मुनीलाल बैठा बताउँछन् ।

‘यसरी महिनावारीको समयमा सानी बहिनीहरू विद्यालय नै नआउने समस्याले कार्यक्रममै नकारात्मक प्रभाव पार्न थालेपछि हामीले पहिले ठूली दिदीहरूलाई गतवर्षको असार महिनामा कपडाको सेनिटरी प्याड बनाउने तालिम दियौं,’ बैठा भन्छन्, ‘त्यसपछि ठूली दिदीहरूले आआफ्ना सानी बहिनीहरूलाई कपडाको प्याड बनाउने तालिम दिए, आफैंले प्याड बनाएर प्रयोग गर्न थालेपछि सानी बहिनीहरूलाई विद्यालय आउन धेरै सहज भयो ।’

शारदा मावि बहुअरीमा कार्यरत ठूली दिदी सुजाता चौबे सेनेटरी प्याडको प्रयोगले आफ्ना सानी बहिनीहरू नियमित विद्यालय आउन थालेको बताउँछिन् । कान्तिपुरदैनिकमा खबर छ ।

Comments: