• तीन विद्यार्थीलाई एक शिक्षक
    (अन्तैबाट)

  • सुनसरी  । धरानकै पुरानोमध्ये एक शैक्षिक संस्था पछिल्लो समयमा विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेको छ  । शिक्षा विभागले बनाइदिएका तीन पक्की भवन, पर्याप्त शिक्षक दरबन्दी हुँदाहुँदै पनि धरान उपमहानगपालिका–४ स्थित पत्रङ्बारीमा ०३३ सालमा स्थापित पञ्चकन्या आधारभूत विद्यालयमा विद्यार्थी कमी हुँदै गएका हुन्  ।

    धरानको मुख्य बजार भानुचोकबाट करिब अढाइ किलोमिटरको दूरीमा रहेको उक्त स्कुलमा कान्तिपुरकर्मी बिहान ११ बजेतिर पुग्दा चलहपहलविहीन थियो । करिब चार कट्ठा क्षेत्रफलमा फैलिएको तीनवटा भवनले घेरिएको सानो मैदानको एक छेउमा शिक्षक मात्र घाम ताप्दै अनौपचारिक गफिँदै थिए ।

    उत्तर पश्चिमतिरको भवनमा रहेको कक्षा २ को कोठामा एक विद्यार्थीलाई पढाउँदै थिए दुई दशकदेखि करार शिक्षक दुर्गाधन कुलुङ । उनलाई जिज्ञासा राख्दा भने, ‘विद्यार्थी नै आउँदैनन् । गाउँमा छैनन् । भएका जति तलतिर सहरको बोर्डिङमा जान्छन् ।’

    विद्यालयको भौतिक संरचना र पूर्वाधार ठीकठाक छन् । शिक्षकहरू पनि सरकारी दरबन्दीअनुसार सात जना छन् । विद्यालय आसपास गाउँबस्ती पनि बाक्लै छन् । गाउँमा बालबालिकाहरू पनि नभएको होइन । विद्यार्थीलाई खाजा र छात्रवृत्तिसँगै पोसाकको पनि व्यवस्था गरिएको छ । यति हुँदाहुँदै पनि धरान उपमहानगपालिका–४ स्थित पत्रङ्बारीमा स्थापित पञ्चकन्या आधारभूत विद्यालयमा एक शिक्षक बराबर मुस्किलले तीन जना विद्यार्थी पर्छन् ।

    विद्यालयका प्रधानध्यापक नारायण रानामगरका अनुसार अभिलेखमा कक्षा १ मा ६ जना, कक्षा २, ३ र ४ मा पाँच–पाँच जना र कक्षा ५ मा ६ जना मात्र छन् । तर ती २७ जनामा दैनिक आउने भनेको ३० प्रतिशत पनि हुन्न । अर्थात् पाँच सात जनासम्म आउँछन् । कार्यालय सहायकसहित शिक्षकहरू पनि त्यति नै संख्यामा हुन्छन् ।

    ‘शिक्षण पेसाबाट अवकाश पाउन तीन वर्ष बाँकी रहेका उनले भने, ‘गाउँमा कसैको घरमा पूजा भयो भने, विवाह वा कुनै भोज भतेर, मृत्यु, न्वारान हुँदा पनि विद्यार्थी आउँदैनन् । त्यतातिर जान्छन् । हामीलाई नै यो विद्यालयको स्तरोन्नति गर्न गाह्रो भयो ।’ विद्यालय आसपास दलित समुदाय जनजाति समुदायको बाक्लो बस्ती छ ।


    विद्यालयको अभिलेखका रहेका करिब दुई दर्जन विद्यार्थी पढाउनका लागि सरकारको शिक्षा मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले वार्षिक तलब मात्र २० लाख रुपैयाँ शिक्षकहरूको बैंक खातामा पठाउने गरेको छ । अरू सुविधा त छँदैछ । सरकारले विद्यार्थी पढाउन खर्च गर्छ तर विद्यार्थी नै नभएपछि त्यो खर्च बालुवामा पानी खन्याएजस्तो भएको छ ।

    प्रधानाध्यापक राना भन्छन्, ‘सायद यस्तै चाला हो भने यो विद्यालय बन्द हुन अवको पाँच वर्ष पनि लाग्दैन ।’ २३ वर्षअघि उक्त विद्यालयमा दुई सय जना बालबालिका पढ्थे । प्रत्येक वर्ष विद्यार्थी संख्या घट्दै अहिले आएर एक शिक्षक बराबर तीन विद्यार्थी हुन पुगेको छ । शिक्षकहरू विद्यार्थी घट्नुमा स्थानीय अभिभावक र बोडिङ स्कुललाई दोष दिन्छन् । विद्यालयलाई नै स्मार्ट बनाउने र बोर्डिङ स्कुलकै शैलीमा अभिभावकको इच्छाअनुसार बदल्नतिर भने ध्यान दिन सकेका छैनन् ।


    तीन वर्षसम्म विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनेर निवर्तमान अध्यक्ष रञ्जना लम्सालले भनिन्, ‘हेडसर नै ठीक छैनन् । विद्यार्थी संख्या बढाउन घर घर जाऔं, सरकारले विद्यार्थीका लागि पठाएको खाजा र छात्रवृत्ति खर्च पारदर्शी बनाउनुस् भन्दा मलाई टेरेनन् । कक्षा पाँचकाले अझै पनि त्यहाँ आफ्नो नाम राम्ररी लेख्न सक्दैनन् । अनि कसरी गाउँका अभिभावकले त्यहाँ भर्ना गर्न मान्छन् त ?’ उनले विद्यालयका राम्रो पठनपाठन नभएकै कारणले धेरै अभिभावकले आफ्नो बच्चा निकालेर अन्यत्र पढाउन बाध्य भएको बताइन् ।

    उनले भनिन्, ‘मैले त पहिलै भनेको हो कि विद्यार्थी अभावले अब यो स्कुल चल्दैन । कि मर्ज गर्नुपर्‍यो कि यहाँको भौतिक संरचनालाई सदुपयोग गर्न सामुदुायिक रूपमा कुखुरा, बंगुरपालन गर्नुपर्‍यो । हैन भनेर कम्तीमा सयजना विद्यार्थी पुर्‍याउनुस् ।’


    त्यहाँ भएका शिक्षकहरू पनि अन्यत्र सरुवा माग्न थालेका छन् । सरकारी तलबभत्ता सुविधा खाने शिक्षकहरू घाम तापेर बस्दा कार्यालय सहयोगी गौरी राईले कक्षा १ लाई दिनभर पढाउने गर्छिन् । उनको तलब ४५ सय रुपैयाँ सरकाले नै बैंकमार्फत पठाउने गरेको उनले बताइन् ।

    प्रदीप मेन्याङ्बोले कान्तिपुरमा खबर लेखेका छन् ।