• जिल्ला अस्पताल छेउकै विद्यालयमा कालो बाख्रा बलि
    (महेश न्यौपाने/रोल्पा)


  • स्वास्थ्यकर्मीको उपचार र परामर्शवाट बिरामी निको नभएपछि रोल्पाको एक विद्यालयका अभिभावकले कालो वाख्राको बली दिएका छन् । जिल्ला अस्पताल रेउघा देखि करिब ५ सय मिटर दुरीमा रहेको पिताराज आधारभूत विद्यालयका अभिभावकले धामी झाँक्री मार्फत झारफुक सहित बली दिएका हुन् ।


    पौष पहिलो हप्तादेखी विद्यार्थीहरु काप्ने, चिच्याउने तथा वेहोस भएर ढल्न थालेपछि मनोसामाजिक समस्या भन्दै विद्यालयले जिल्ला अस्पतालका स्वास्थ्यकर्मीको सहयोगमा उपचार तथा परामर्श दिएको थियो । जिल्ला अस्पतालका ईन्चार्ज डा. सुशिल आचार्य नेतृत्व स्वाथ्यकर्मीको टोली विद्यालय पुगि स्वास्थ्योपचार र परामर्श सेवा दिएको केही समय सम्म विरामी निको भए जस्तो गरे पनि केही समय पछि बिरामी बल्झीदै आएको थियो ।


     स्वास्थ्यकर्मीको नियमित परामर्श पश्चात पनि बिरामीको अवस्था सुधार नआए पछि केही दिन अघि ४ दिनका लागि विद्यालयको पठन पाठन समेत बन्द भएको थियो । विद्यालयको गेट प्रवेश गर्ने बित्तिकै विद्यार्थीहरु बिरामी पर्न थालेपछि केही दिनका लागि पठन पाठन बन्द गर्न बाध्य भयौं, विद्यालयका प्रधानाध्यापक लिला आचार्यले भनिन् ।


    'सुरुमा कक्षा ६ र ७ का केही विद्यार्थीमा यस्तो समस्या देखिए पनि पछि विस्तारै यो समस्या अन्य कक्षामा समेत विस्तार हुदै जाँदा हालसम्म ३५ वढी विद्यार्थी प्रभावित भईसकेका छन्', प्रधानाध्यापक आचार्यले भनिन् । 'वारम्वार विद्यार्थी विरामी परे संगै विद्यालयको पठन पाठन समेत प्रभावित हुदै आएको छ ।' नगरस्तरीय अन्तिम परीक्षा समेत नजिकै आउदा समेत विद्यार्थीको अवस्थमा सुधार नआउदा शिक्षक र अभिभावक निकै चिन्तित भएको प्रधानाध्यापक आचार्यले बताइन् ।   


    'लामो समय सम्म विरामी संचो नभएपछि विज्ञ मनोचिकित्सकको सेवा दिने निर्णय गरेका छौं,'  रोल्पा नगर शिक्षा समितिका सदस्य खिमवहादुर घर्तीले भने । 'मनोचिकित्सक जिल्ला वाहिरवाट ल्याउनु पर्ने भएकाले केही ढिलाई भएको छ ।'


    अभिभावकहरुले बिरामीको मनोवैज्ञानिक उपचारका लागी धामी झाँक्रीको सहयोगमा कालो वाख्रा बलि दिएको आफुले पनि सुनेको रोल्पा नगरपालिका २ नम्वर वडाध्यक्ष समेत रहेका घर्तीले भने । धामी झाँक्रीको झारफुक भन्दा स्वास्थ्यकर्मी र मनोचिकित्सकको परापर्शका लागि अभिभावकलाई उत्प्रेरित गरेपनि अभिभावकले धामी झाँक्रीबाट झारफुक गरिरहेका छन् ।


    लगातार २ महिना देखी विरामी भएका विद्यार्थी निको नभएपछि विभिन्न विकल्प खोज्ने क्रममा धामी झाँक्रीबाट झारफुक गरि कालो वाख्रो वलि दिएका हौ अभिभावक प्रेमकुमारी घर्तीले भनिन् । प्रति विद्यार्थी एक सयका दरले पैसा उठाएर कालो वाख्रा सहित पुजा सामान जुटाएर झारफुक र पुजा पाठ गरेका हौं, अभिभावक घर्तीले भनिन् । गाउँकै रिमुल भन्ने मुलमा गएर देउताको पुजा गरे पनि विद्यार्थी विरामी हुन छाडेका छैनन् ।


    जिल्लामा यस्तो समस्या पटक पटक दोहोरीदै आएकाले यसको परामर्शका लागि महिला शिक्षकहरुलाई तालिम दिनु पर्ने जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेव कुलवहादुर डाँगीले सुझाब दिए । 'यस्तो समस्या छात्राहरुमा देखिएका कारण महिला शिक्षकलाई तालिम दिए समयमै परामर्श दिन सक्छन', डाँगीले एजुकेशनपाटीसँग  भने । 'भैपरी आउने  समस्या भएकाले यसको पूर्व तयारी स्वरुप विद्यालय शिक्षिकालाई यस्तो तालिम जरुरी छ ।'


    यस अघि जिल्लाका खुंग्री, खुमेल, लिवाङ, राँक लगायतका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई यस्तो समस्या देखिएको थियो । एक जनामा देखिने  समस्या सर्दै धेरैलाई प्रभावित गर्ने भएकाले यस्तो समस्यालाई मास हिस्टेरिया भन्ने गरिएको स्वास्थ्यकर्मीको भनाई छ ।