२०७६ कार्त्तिक २९ गते

निर्देशिकाविपरीत पढाउँदै शिक्षक

काठमाडौं ।  विद्यालय शिक्षाको सिकाइ उपलब्धि घट्दै गइरहेका बेला शिक्षकहरूको पढाउने शैलीमाथि विभिन्न प्रकारका टिप्पणी हुने गरेका छन् । शिक्षकहरूले पाठ्यपुस्तकमा मात्र आधारित भएर परीक्षा केन्द्रित अध्यापन गराउने गरेको अधिकांश अभिभावकहरू आरोप लगाउँछन् ।

कक्षामा विद्यार्थीको सिकाइ क्रियाकलापविहीन हुँदै गइरहेको दोषसमेत शिक्षकहरूले झेल्दै आइरहेका छन् । पाठ्यक्रम विकास केन्द्रको शिक्षक निर्देशिकामा भने सिकाइ क्रियाकलापकेन्द्रित हुनैपर्ने उल्लेख छ ।

आजभोलि शिक्षकले पुस्तकमा नै उल्लेख गरिएको शिक्षक निर्देशिकाअनुसार पढाउने नगरेको पाइएको छ । ८० प्रतिशतभन्दा बढी शिक्षकले सरकारले तयार गरेको शिक्षण निर्देशिकाअनुसार कक्षा सञ्चालन नगर्ने एक शिक्षकले दाबी गरे ।

निर्देशिकाअनुसार शिक्षकले विद्यार्थीलाई पढाउँदा पाठ्यपुस्तकभन्दा बाहिरका पनि विषयवस्तुको बोध गराउनुपर्छ । पाठ्यपुस्तक शिक्षक र विद्यार्थीका लागि स्रोत सामग्रीमात्र हो । पाठ्यपुस्तक पाठ्यक्रमको नमुना दस्तावेजमात्र हो । तर, शिक्षकले ४५ मिनेटको कक्षा पाठ घोकाएर मात्र सक्ने गरेको बताइन्छ ।                                                                                                                                                                               

शिक्षकले पाठ्यपुस्तकलाई आधार मानेर स्थानीय स्तरका विषयवस्तुसँग तुलना गरेर पढाउनुपर्छ । पुस्तकमा हिमालको बारेमा पाठ छ भने शिक्षकले विद्यार्थीलाई तराई र पहाडको बारेमा समेत बुझाउनु सक्नुपर्छ । शिक्षक निर्देशिकाले यस्तै भन्छ ।

हालै प्रारम्भिक तहको एक पाठ्यपुस्तकमा ‘मेरो परिवार’ भन्ने पाठमा शिक्षकले पाठमा दिएको पात्रको बारेमा लेख्नुपर्ने गरी प्रश्नपत्र बनाए पनि शिक्षकको पढाउने र प्रश्नपत्र बनाउने शैली चर्चाको विषय बनेको थियो ।

मेरो परिवार भन्ने पाठमा दाङ जिल्लामा परिवारसहित बस्ने लखन चौधरीको बारेमा पाठ थियो । यो पाठमा शिक्षकले तिम्रो परिवार कहाँ बस्छ भन्ने प्रश्न दिनुपर्नेमा लखन चौधरी कहाँ बस्छन् भन्ने प्रश्न बनाएछन् ।

यस्तो पाठमा शिक्षकले किताबमा दिएको पात्रको परिवारको भन्दा पनि विद्यार्थीलाई उनको परिवारको बारेका भन्न सक्ने बनाउनुपर्छ भन्ने पाठ्यक्रमको उद्देश्य थियो । यो परीक्षा र अध्ययन शैलीले विद्यार्थीले आफ्नो भन्दा पनि पात्र लखन चौधरीको बारेमा लेख्न र भन्न सिक्ने भए ।

विज्ञ भन्छन् ‘नेपालको सिकाइ पद्धति यहीँ अलमलिएको छ ।’पाठ्यक्रम विकास केन्द्र बनाएको शिक्षक निर्देशिकाअनुसार मेरो परिवार भन्ने पाठमा शिक्षकले विद्यार्थीको परिवारको बारेमा भन्न र लेख्न सक्ने गरी सिकाउन सक्नुपर्छ ।

शिक्षक निर्देशिकाअनुसार सरकारले तोकेका पाठ्यपुस्तकलाई भने शिक्षकले विषयवस्तुको स्रोत वा आधारको रूपमा लिनुपर्छ । तर, अभैm पनि अधिकांश सार्वजनिक विद्यालयका शिक्षकले शिक्षक निर्देशिका पालना गरेर पढाएको पाइँदैन ।

पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकलाई स्रोत सामग्री मानेर क्रियाकलापमा आधारित शिक्षण सिकाइ गर्न प्रोत्साहान गर्नुपर्छ भन्छ । तर, शिक्षक पाठ्यपुस्तक भन्दा बाहिर गएर पढाउँदैनन् । सरकारले विद्यार्थीलाई आफ्नो परिवारको बारेमा सिकाउन एउटा संयुक्त परिवारको बारेमा उल्लेख गरेर पाठ्यपुस्तक तयार गर्छ ।

विद्यार्थीले पाठ्यपुस्तकमा राखिएको हाम्रो परिवार शीर्षकको पाठ सबै कण्ठ गर्छन्, तर आफ्नो परिवारको बारेमा भन्न सक्दैन । शिक्षक भने पाठ्यपुस्तकलाई हुबहु घोकाउँछन् । काठमाडौं विश्वविद्यालयका एसोसिएट डिन बालचन्द्र लुइँटेल शिक्षाको गुणस्तर अन्तर्राष्ट्रिय स्तरमा बिक्ने बनाउन कक्षाकोठा, शिक्षक, विद्यालय र पाठ्यपुस्तकमा आमूल सुधार गर्नुपर्ने बताउँछन् ।

पाठ्यपुस्तक केन्द्रित सिकाइ पद्धति भन्दा पनि विद्यार्थीको क्रियाकलापमुखी शिक्षा आवश्यक रहेको उनको भनाइ छ । “अब सिकाइ पद्धति कक्षाकोठामा शिक्षकले विद्यार्थीको क्रियाकलापअनुसार शैक्षिक उपलब्धि हासिल गरेको छरछैन निरीक्षण गर्ने शैलीको मात्र हुनुपर्छ,” उनी भन्छन्, “सिकाइ उपलब्धि हासिल गर्न शिक्षक कम र विद्यार्थी धेरै क्रियाशील हुनुपर्छ । विद्यार्थीलाई किताबमा आधारित भएर भन्दा पनि उनीहरूले गर्ने प्रस्तुतीकरणलाई आधार बनाए सिकाउनुपर्छ ।”

क्रियाकलाप केन्द्रित पाठ्यक्रम
सरकारले ढिलै भए पनि पाठ्यक्रमलाई विद्यार्थी क्रियाकलाप केन्द्रित बनाई सिकाइ पद्धतिलाई अझ प्रभावकारी बनाउने योजना अघि बढाएको छ । शिक्षाको गुणस्तर र सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउन कक्षा ३ सम्मका पाठ्यपुस्तकलाई विद्यार्थी सिकाइमैत्री बनाएर प्रयोग गरिरहेको छ ।

अबका कक्षा ३ सम्मका पाठ्यपुस्तकको संख्या घटाउने र विद्यार्थीको सहभागिता बढी बनाउने लक्ष्यसहित सरकार अघि बढेको छ । शिक्षक कक्षामा सहयोगीका रूपमा रहनेछन् भने विद्यार्थी क्रियाकलाप केन्द्रित हुनेछन् ।

योजनाअनुसार सरकारले कक्षा ३ सम्मको पाठ्यपुस्तकको संख्या घटाउनेछ । केन्द्रले विद्यार्थीमाथि पर्ने किताबको बोझ कम गराउन कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक एउटै बनाउनेछ ।

पाठ्यक्रम विकास केन्द्रका सामाजिक अध्ययन शाखाका उपसचिव बाबुराम गौतमले कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यपुस्तक लागू गर्न देशभरका ६ जिल्लामा परीक्षण सुरु गरिएको बताए ।

“केन्द्रले हालै राष्ट्रिय पढाइ सीप विकास कार्यक्रम (ईजीआरपी) अन्तर्गत लागू गरिने नयाँ सिकाइ सामग्री परीक्षण गर्दैछ,” गौतमले भने, “यो सामग्रीको विकासक्रमले अभ्यास पुस्तिका र शिक्षक निर्देशिकालाई बढी प्रयोगमा ल्याउनेछ ।”

सरकारले विकास गरेको एकीकृत पाठ्यपुस्तक हाल मनाङ, कास्की, सप्तरी, नवलपरासी र कञ्चनपुर जिल्लामा प्रयोग गरिरहेको छ । यी जिल्लाको नतिजाअनुसार अन्य जिल्लामा लागू गरिने केन्द्रले जनाएको छ ।

एकीकृत पाठ्यपुस्तकअन्तर्गत कक्षा ३ सम्मका पाठ्यक्रम एउटै पुस्तकमा समावेश गरिनेछ । यसको प्रयोगपछि विद्यार्थीले एउटै पुस्तक ३ वर्षसम्म पढ्न पाउनेछन् भने सरकारलाई पनि बर्सेनि पाठ्यपुस्तकका लागि खर्च गर्दै आएको आर्थिक भार घट्नेछ ।

अंक बढी ल्याउने प्रतिस्पर्धा छ

झमल तिम्सिना
शिक्षक, जनजागृति माध्यमिक विद्यालय (गोल्धाप झापा)


सामुदायिक विद्यालयमा पढाउने अधिकांश शिक्षकले शिक्षक निर्देशिकाअनुसार पढाउने गर्दैनन् । निर्देशिकाअनुसार पढाउन धेरै मेहनत गर्नुपर्ने भएकाले शिक्षक त्यसो गर्दैनन् ।

पाठ्यक्रम विकास केन्द्रले तयार गरेको शिक्षक निर्देशिकाअनुसार पढाएको कसैले निरीक्षण नगरेका कारण पनि यसको प्रयोग कम भएको हुन सक्छ । तर, पहिलाका विद्यार्थीभन्दा अहिलेका विद्यार्थीको रुची बढी सूचना प्रविधिमा देखिएको छ ।

पाठ्यक्रममा समेत उपलब्ध प्रविधिको प्रयोग गर्न उत्साहित देखिएका छन् । पहिला ६ कक्षामा पढ्ने विद्यार्थी जतिको कक्षा क्रियाकलापमा अहिले ४ कक्षाका विद्यार्थीमा देखिएको छ । एक दशकअघिका विद्यार्थीको तुलनामा हालका विद्यार्थी शारीरिक रूपमा तन्दुरुस्त र सक्रिय देखिएका कारण पनि सिकाइ राम्रो छ ।

विद्यार्थीको सिक्ने क्षमता र सिकाइ उपलब्धि राम्रो भए पनि स्थायी र अस्थायी शिक्षकबीचको विभेदले समस्या ल्याएको छ । सरकारले लामो समय काम गरेका अस्थायी शिक्षकहरूको माग पूरा गर्न नसक्दा कतिपय शिक्षकहरूमा निराशा देखिएको छ । अहिले सामुदायिक विद्यालयमा पनि पाठको बोध गराउने भन्दा पनि बढी अंक कसरी ल्याउने भन्ने प्रतिस्पर्धा चलेको छ । कारोबार दैनिकमा खबर छ ।

Comments: