२०७६ भदौ ५ गते

गाउँ शिक्षा योजना बनाउँदै त्रिवेणी गाउँपालिका

महेश न्यौपाने/रोल्पा


गाउँपालिकाको शिक्षालाई योजनावद्ध ढंगले विकास गर्ने भन्दै रोल्पाको त्रिवेणाी गाउँपालिकाले गाउँँशिक्षा योजना निर्माण थालनी गरेको छ । विकासको मुल आधार शिक्षा रहेको भन्दै उक्त गाउँपालिकाले  गाउँ शिक्षा योजना निर्माण थालेको हो ।


गाउँपालिकाको शैक्षिक विकास गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवालाहरुको सहभागितामा गाउँ शिक्षा योजना निर्माण गर्न लागिएको  गाउँपालिकाले जनाएको छ  । गाउँपालिकाले शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकता दिएपनि योजनावद्ध काम हुन नसकेकाले गाउँ शिक्षा योजना तयार गरि गुणस्तरीय शिक्षाका लागि विकास गरिने त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए । गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहेका वलीले शिक्षामा लगानी बढाउदै शिक्षाको क्षेत्रमा नमूना गाउँपालिका बनाउन लागी पर्ने विचार व्यक्त गरे ।


गाउँ शिक्षा योजना निर्माणका लागि फागुन ३ र ४ गते दुई दिने कार्याशाला गोष्ठी समेत सम्पन्न गरेको थियो । गाउँ शिक्षा योजना निर्माणको सहजीकरण नेपाल सरकारका उपसचिव एवं शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले गरेका थिए । कार्याशालामा गाउँ शिक्षा समितिका पदाधिकारी तथा सदस्यहरु, सातै वडाका वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, गैरसरकारी संघ संस्था प्रतिनिधिहरु, बाल क्लव र वाल संजालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।


त्रिवेणी गाउँपालिकाको आयोजना तथा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पा र सेभ द चिल्ड्रेनको सहयोगमा गाउँ शिक्षा निर्माण कार्याशाला गोष्ठी भएको हो । हुरेक रोल्पाले केही वर्षयता  सो गाउँपालिकाका विभिन्न वडाहरुमा  शिक्षा, बाल संरक्षण, जीविकोपार्जन लगायतका क्षेत्रमा काम गर्दै आएको छ । कार्याशालामा गाउँपालिका अध्यक्ष शान्तकुमार वली, उपाध्यक्ष सावित्रा बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत कम्मन गिरी, शिक्षा प्रमुख रेगम जिसी लगायतले आफ्नो मनतव्य राखेका थिए । गाउँ शिक्षा योजना निर्माणका लागि एक मस्यौदा समिति समेत गठन गरिएको बताइएको छ ।


Comments: