२०७६ असोज ३० गते

हिमपातले नाम्खा गाउँपालिकामा भर्ना अभियान शुुरु भएन

राजन रावत/हुम्ला


डेढ महिनादेखि लगातार हिमपात हुँदा नाम्खा पाँउपालिकाका एक दर्जन विद्यालयहरुमा हालसम्म भर्ना अभियान सञ्चालन हुन सकेको छैन । गत फागुन २ गतेबाट सञ्चालन हुनुपर्ने भएपनि लगातारको हिमपातको कारण भर्ना अभियान शुरु हुन नसकेको हो ।

हिमपातका कारण नाम्खा गाउँपालिकाका पालिका केन्द्र याल्बाङ्ग माथिका एक दर्जन विद्यालयहरु सञ्चालनमा आउन नसकेका पालिका अध्यक्ष बिष्णु बहादुर लामाले जानकारी दिए ।

अब ती विद्यालयहरु आगामी चैत्र १ गतेबाट सञ्चालनमा आउने लामाले बताए ।  यसमा याल्बाङ्ग, चाला, मुचु, तुम्कोट, यारी र लिमीका विद्यालयहरु रहेको उनले जानकारी दिए ।

यसैगरी भर्ना अभियान सञ्चालन भएका केर्मी, च्यादुक, लामा खोल्सी, गाडापारी, धिगा, हेक्पा र ताङ्गिनका विद्यालयहरु पनि हिमपातका कारण सञ्चालनमा आउन सकेका छैनन् ।

हिमपात शुरु भएपछि आगामी चैत्र १० गतेबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसइइ) तयारी कक्षाका लागि रहेका शिक्षक पनि चैत्र महिनामा आउने भनेर फिर्ता गएका छन् ।

 कुल १८ वटा विद्यालय रहेको नाम्खामा  एक मावि, ३ तीन निमावि र १४ वटा प्राथमिक विद्यालय रहेका छन् । विद्यालय नखुलेको कारण सिमकोटमा आई पुगेका पाठ्यपुस्तक पनि यी विद्यालयमा जान सकेका छैनन् ।


Comments: