• बज्यै, मेलको चुक र विज्ञान
    ()

  • महेन्द्र पी लामा

    हाम्रा बाजे-बज्यै ज्ञानका भण्डार थिए । स्कुल, कलेज, पुस्तक धेरैले देखेका थिएनन्, तर ज्ञान-प्रज्ञाले परिपूर्ण थिए । अक्षर नछिचोले पनि व्यावहारिक र सामान्य ज्ञानले भरिपूर्ण थिए । मौरीको ढोडमा गएर मह काढ्दा एउटै मौरीले पनि चिल्दैनथे । पहाड बस्तीका कुनाकन्दरामा गई पहाडे औषधी बटुल्थे र गाउँघरका बिरामीहरूलाई ठीक पार्दथे ।


    रक्सी कसरी पार्नु, निगार कति राख्दा तीतो हुँदैन, खोलामा माछा मार्दा दुहाली कसरी थाप्नु, चिण्डेको रुख कसरी छास्नु, कुन धानको बीउ कसरी छर्नु र सिमल तरुलको बोक्रा कसरी छिल्नु, यी सबै विज्ञान नै नपढी जान्दथे । हुलमुलमा जीउ जोगाऔं, अनिकालमा बीउ जोगाऔं भन्थे उनीहरू । यसरी नै दार्जिलिङजस्तो सानो पहाडी जिल्लामा एकसमय १८ प्रकारका चामलको बीउ-वीज, १५-१६ प्रकारका दाल, गेडागुडीका वीज, तीन प्रकारका कोदो, फापर र अनेकन् प्रकारका फलफूल र सागसब्जीका वीज पाइन्थे रे । त्यतिबेला त्यहाँ सरकार पनि थिएन, सरकारी अनुसन्धान केन्द्रहरू पनि थिएनन् । न त वैज्ञानिक र रासायनिक मलखाद नै थिए ।


    सानो छँदा शरीर रन्कनासाथ निधार छामेर अनि कन्चट सुमसुम्याएर ज्वरो आएको थाहा पाउनासाथ दाउराको चुलामा एउटा ताप्के राखेर चोखोपानीलाई उमालेर त्यहाँ दुईचारवटा फुलको दाना हाली भुक्लुक्क भएपछि सनासोले भुइँमा राखी सेलाउनासाथ एउटा वाइन ग्लासमा हाली ‘नानी, एकै खेपमा स्वाट्ट पार है ! ' भनी बाबुबाजेले भन्थे । नभन्दै केही घन्टापछि ज्वरोले छोड्थ्यो । धेरै दिन नछोड्दा मात्रै बजारको डा। के।एन। मास्टरकहाँ जान्थ्यौं ।


    पछि कलेज जान थालेपछी कूतुहल जाग्यो । के औषधि होला बाजेले दिएको भनि सोधें । जवाफमा बाजेले भने- यो हाम्रो पहाडे दबाइ हो । यसलाई तामाङ भाषामा म्लागन पोरपोर भन्छ र नेपाली भाषामा सेतो धम्हाल भन्छ । चैत(वैशाखमा पहाडको एक कुनामा फुल्छ, तिम्रो बज्यूको दाज्यु गएर टिपेर ल्याउँछ । केको स्यारिडन डिस्प्रिन, एनसिन र क्रोसिन । बाजे-बज्यूहरू एमबीबीएस नगरे पनि डाक्टर थिए ।


    पाखन वेत, घंगेराको फूल, अविजाल, बेतलौरी, ज्वानो र चरिअमिलोसमेतबाट औषधी निकालेर हामीलाई खुवाउँथे । स्यालको हड्डी, पाहाको छात्ती, दुम्सीको टाउको र सालकको शरीरबाट पनि औषधीमुलो निकालेर हरप्रकारका बिमारीलाई ठीक पार्दथे हाम्रा फेदाङवा, धामी, झाँक्री, बोन्बो र झारफुक गर्ने बाजेले । फर्केर हेर्दा ज्ञान नै ज्ञान बोकेका बाजे-बज्यूले डाँडा नै काटी चोलो उठेको देख्दा एउटा उद्योगधन्धा नै सधैंको लागि गुमाए झैं लाग्छ । हो पनि ।


    दार्जिलिङको चौकबजारबाट उकालो जाँदा एउटी बज्यू मेलको चुक बेच्थिन् । पेट सफा हुन्छ, सेतो मासी ठीक हुन्छ र अरू रोगले भेट्टाउँदैन भन्थिन् । आज बज्यूकी नातिनी पनि मेलको चुक नै बेच्छिन् । मेलको चुकको केवल मूल्य बढ्यो सायद २० रुपैयाँ एक पावादेखि चार सय रुपैयाँ एक पावाको ।
    काँचो मेल र मेलको चुक बिचको जो दूरी छ, त्यो हो ज्ञान । आजभोलि यस ज्ञानलाई नै बौद्धिक सम्पत्ति (इन्टलेक्च्युअल प्रोपर्टी) भनिन्छ । यो ज्ञान केवल बज्यू-नातिनीमा सीमित छ ।


    तर उनीहरूसँग भएको यो ज्ञानलाई वैज्ञानिक ढंगमा परीक्षण गरी, वैज्ञानिक प्रयोगशालामा परीक्षण गरी, खुला बजारमा बेच्न पाउने लाइसेन्स लिई विश्वमै बेच्न सक्नेबारे न उनीहरूलाई थाहा छ न सरकारले भनेको छ, न त पढेलेखेकाहरूले भने । यही अरू कसैले नजान्ने ज्ञान बेचेर र ज्ञानको फर्मुलाको लाइसेन्स (प्याटेन्ट) हत्याएर नै कोकोकोला र पेप्सीकोलाले विश्व बजार नै पिटे । नेपालको धादिङदेखि अफ्रिकाको जंगल र अमेरिकाको सिकागोदेखि सिंहमारीको लिम्बू गाउँसम्म यी कोलाहरू पुगे ।


    यी कोला कम्पनीहरू आज नेपाल, भोटाङ, मालदिभ्स, लाओस र कम्बोडिया राष्ट्रहरूभन्दा धनी भएका छन् । ज्ञान र फर्मुला नै बेचेर हाम्रा बज्यू भुइँमा टुक्रुक्क बसी चिसेना ताप्दै चुक बेचेरै जुनी बिताए । यही फरक छ अमेरिका-चीन-जापान-जर्मनी र हाम्रो भारतमा । पारम्परिक ज्ञानलाई कसरी व्यवसाय बनाउने भन्ने कुरोमा उनीहरू धेरै अघि छन् । चीन र कोरियाले जिनसेङलाई यसै गरे । हामी पहाडहरू यसरी नै ज्ञानको भण्डार गुमाउँदै अघि बढ्यौं ।


    आज हाम्रो निम्ति एउटा भयानक चुनौती हाम्रा आफ्नै खेतीपाती, रुखपात, सब्जी, गाईबाख्रा, कुखुरा, सुँगुर फलफूलका बीउ-वीज जोगाउनुमा भएको छ । साउने संक्रान्तिमा गाउँ नै मगमग बास्ना आउने कृष्णभोग र कालो नुनिया चामलको खीर पाक्थ्यो । चार घोगासम्म लाग्ने अग्लो मकैको बोटले गुलियो दुधिलो मकै दिन्थ्यो । रातो-सेतो सक्खरखण्ड, कुसुमे घर तरुल र वन तरुलले माघे संक्रान्ति ढक्कमक्क फुल्थ्यो र फापर-कोदोको पीठोको पकवानले हामी रमाउँथ्यौं ।


    दसैं-त्यौहारमा सयपत्री, गोदावरी, मखमली फूलले गाउँघर नै सिँगारिन्थ्यो राजा-रानी चरा, चमेरा, गौंथली, लुइँचे चारैतिर नाच्थे, रातिराति राजपंखी उड्थे । तर ती सबै विस्तारै नाश भए । फ्याउरा, स्याल रुन नै छोडे । मधेसमा जो खान पाइन्छ, त्यही खाने भयौं पहाडमा । हाम्रा बीउ(वीजहरू एक(एक गर्दै भासिँदै गए । आजको त्यौहारमा सयपत्रीको माला गुथ्ने फूल नै पाइन छोड्यो ।


    कसैले सयपत्रीको वीज नै स्वाहा पारिदिँदैछ, वैज्ञानिक जिन टर्मिनेटर लगाएर । अब दिल्लीदेखि इलाम, कोलोम्बोदेखि इँटानगरसम्मै एउटै रंग, आकार, नापका सयपत्री फूल फुलाउने समय आयो । किनकि फूलका वीजसमेत कम्पनीहरूले हडप्न थाले । यस भयानक रोगलाई रोक्नुपर्छ । वीज-बीउ बिरुवा बाहिर जानबाट रोकथाम गर्नुपर्छ ।


    बाहिरबाट ल्याएको वीजले रोग ल्याउँछ, खेतीपाती स्वाहा पार्छ र अनिकाल निम्त्याउँछ । यही बाहिरको नै वीज-बिरुवाले हाम्रा अलैंची, सुन्तला, उखु, साग, घिरौंला र भोगटे खत्तम नै भए । कुखुरा, बाख्रा, गाईवस्तुसमेत मासिँदैछन् । कसले रोक्ने यस भयानक शक्तिलाई १ राजनीतिक दल र नेताहरू धनको कुम्लो बाँध्नमै व्यस्त छन् । कालेज-स्कुलका शिक्षकहरू दुई छाक जुटाउन नै आफ्नो परम कर्तव्य ठान्छन् ।


    संघसंस्थाहरू पनि राजनीतिक हावाघरमा नाँच्न थालेपछि यो भयानक प्रकोपले सबैलाई निमिट्यान्न पार्ने नै भो । कसैले क्रान्ति गर्छु भन्छ भने यी सब कुरोको क्रान्ति नै हुनुपर्छ, जसले राष्ट्र, जाति, जात र चिनारी जोगाउँछ र भविष्य बचाउँछ । अब पहाडे पनि इस्कुसका जरा, मुन्टा र फल खाँदैनन्, केवल धोक्ला, डोसा र टिन्डा खान्छु भनेर तय गरेपछि संस्कृतिसमेत उखेलिने भयो । गुन्द्रुक, किनेमा ढिँडो पर सारेर पिज्जा-वर्गर कोक मात्रै लिन्छु भन्नु परम्परा नै जलाइदिनु हो ।


    हामीलाई सानै उमेरका बाजे-बज्यैले विज्ञान, प्रकृति र संरक्षण भन्ने सिकाएका थिए । धाराबाट चोखो पानी ल्याई ढोकामा हामीलाई राखी सातो बोलाइदिन्थे । शरीरमा लागेका भूत, प्रेत सबै भगाइदिन्थे । त्यो कलशमा जवा कुसुमको नै भए पनि तीतेपातीसँग फूल हुन्थ्यो नै । सातो फर्केपछि हामी चंखो-सतर्क-सञ्चो हुन्थ्यौं । गाउँमा धारा हुन्थ्यो । धाराको माथि सिमसार हुन्थ्यो र तलतिर सिमकुखुराले भुतभुती खेल्थ्यो र सिम रायो लहलह र मनग्गे फुलेको हुन्थ्यो ।


    बर्खाको भेलमा जमिनले विस्तारै पानी चुसेर जमिनको सबैभन्दा तल्लो ढुंगेनी सतहमा पानी ठोकिएर उकालो आउँदा मूल फुट्थ्यो । अनि मूल फुट्नुसँगै जोडिएको हुन्थ्यो पूजाआजा, खेपासुङको भालेको बलिदान । हामी यसरी प्रकृतिको खेलमा रमाउँथ्यौं ।


    गाउँघरका बाजे-बज्यूले हामीलाई खबरदार गर्दै पँधेरा-धाराको माथिल्लो इलाकामा जानै दिदैंनथे । उनीहरू भन्थे- धाराभन्दा माथिका इलाकामा देवीदेवता बस्छन्, देवीथान हुन्छ । तिमीहरूले त्यहाँ फोहोर-मैला गर्नु हुन्न, झारपात काट्नु हुन्न । हामी डराउँथ्यौं देवा लाग्छ कि भनेर । कारण देवा लाग्दा हात काङलाङ-कुङलुङ हुन्छ रे, आँखा टेडा हुन्छन् र खुट्टा बांगा हुन्छन् रे ।


    हामीले धाराको माथिल्लो इलाकामा के रहेछ भनेर कहिल्यै बुझ्न सकेनौं । आज विश्व पानी संरक्षण गर्ने कुरो गर्छ । पानी आउने क्षेत्रको वटरसेड म्यानेजमेन्ट भन्दै अर्बौं रुपैयाँ खर्च गर्छ । क्याचमेन्ट एरिया भन्दै विश्वमा ज्ञान-विज्ञानको प्रचार गर्छ । तर हाम्रा कहिल्यै विज्ञान नपढेका बज्यू(बाजेले केवल बोली-शब्द-देवीदेवताका भरमा प्रकृतिको पानी बचाउँथे । बज्यू-बाजेले प्रकृति-धर्म-ज्ञानलाई अति रोचक ढंगमा मिलाएर चोखो पानी बचाउँथे ।


    पानी भनेको प्रकृति, धर्म भनेको देवीदेवता र धाराको माथि नजानु भनेको ज्ञान रहेछ । आजको विज्ञान यही हो । हाम्रा बज्यू-बाजेले नपढी छिचोलेका थिए यस्ता गहिरा ज्ञानबारेमा कसले लेख्ने रु कसले भन्ने विश्वलाई कि तिम्रो ज्ञान-विज्ञानलाई हाम्रा बज्यू-बाजेले परम्परामा परिणत गरेका थिए भनेर । पहाड-पर्वत, खोलानाला, समाज-समुदाय, विश्व ब्यांक, संयुक्त राष्ट्रसंघ, फोर्ड फाउन्डेसन, सरकार, स्वास्थ्य, भारत र पञ्चायतबिना नै हाम्रा बज्यु-बाजेले बचाएका थिए । स्कुल, कलेज, विश्वविद्यालय उनीहरू नै थिए ।


    जापानका मोटे-भुँडे सुमो कुस्ती पहलवानलाई त्यत्रो भयानक शरीर बनाउनमा पनि विज्ञानकै हात छ । जापानको यो सुमो पहलवान बनाउनमा परम्परा नै घतलाग्दो पारेर प्रयोगमा ल्याइएको छ । सुमो पहलवानहरूको कुस्ती खेलाइबाहेक अरू समयमा घतलाग्दो प्रकारले हेरचाह गरिन्छ ।


    खाने समय, खानापिनाको खुराक र आरामको घडी हरेक घन्टामा हिसाबमा तय गरिन्छ । खानेकुरोमा गिलो भात, मासु, भटमास, सब्जी, साग, फलफूलसँगसँगै गहकिलो रूपमा बियरलाई दैनिक पेयको रूपमा पिलाइन्छ । बियरले झम्झम् भएपछि शान्तसँग घन्टौंसम्म सुत्न दिइन्छ । यसरी बढ्छ सुमोको पेट, छेपारी, पाखुरा र टाउकोको आकार(वजन । र नै कुस्ती जित्छन् ।


    यता हाम्रो पहाडमा बज्यू-बाजेले सुँगुरलाई सुमो कुस्तीवालाजस्तै बनाइदिन्छन् । हरेक गाउँघरमा पहाडे र बेलायती सुँगुर पालिएको हुन्छ । चाडबाड, त्यौहार र दैनिक रूपमा सुँगुरको मासु, रक्ति, कान, खुट्टा, पुच्छर, चर्वी केचाहिँ काम लाग्दैन । रमाइरमाई खान्छन् सबैले । सुमो कुस्तीवालाले जापानमा खाने र खाएर घन्टौं सुत्ने बियर सुँगुरले पाउँदैन । तर पनि सुँगुर पुस्टिन्छ, ढोका नै भत्काएर निकाल्नु पर्छ मारको दिन ।


    पानी भनेको प्रकृति, धर्म भनेको देवीदेवता र धाराको माथि नजानु भनेको ज्ञान रहेछ । आजको विज्ञान यही हो । हाम्रा बज्यू-बाजेले नपढी छिचोलेका थिए यस्ता गहिरा ज्ञानबारेमा कसले लेख्ने रु कसले भन्ने विश्वलाई कि तिम्रो ज्ञान-विज्ञानलाई हाम्रा बज्यू-बाजेले परम्परामा परिणत गरेका थिए भनेर ।
    हाम्रा बज्यू-बाजेले बियरको सट्टामा सुँगुरलाई रक्सीको मीठो कट् खुवाउँथे । जहाँ पनि चामल, गहुँ आदिमा जब रक्सी पारिन्छ । रक्सी निकालेपछि तलतिर रहेको चामल-गहुँका छोक्रालाई कट् भनिन्छ र यो छोक्रा सुँगुरको चारोमा घोली खुवाउँदा सुँगुर पनि सुमो कुस्तीवाला झैं झम्झम् हुँदै धेरै घन्टा सुत्छ । सुँगुर बेस्सरी पुस्टिन्छ । जापानले विज्ञान पढेर, नापेर, जोखेर सुमो कुस्तीवालालाई खेल मैदानमा निकाल्छ । हाम्रा बज्यू-बाजेले पारम्परिक ज्ञान, व्यावहारिक अनुभव र हेराइ-देखाइले सुँगुर पुस्ट्याउँछ ।


    र नै हामीले सिक्किम विश्वविद्यालयमा बज्यु-बाजेको ज्ञानलाई संरक्षण गर्न भनी एउटा मौखिक इतिहासको भव्य कार्यक्रम सुरु गर्‍यौं । हामीले जनता-जनार्दनकहाँ गएर भन्यौं, ‘बाजे मरे बज्यू मरी, दुइटा पुस्तकालय लिएर गए, अब यस्तो हुन दिँदैनौं है ।' यसअन्तर्गत विद्यार्थी-शिक्षक सबै गाउँसहरमा गएर ७० वर्षभन्दा बढीका बज्यू-बाजेलाई आफूले देखेका, जानेका, भोगेका ज्ञान-अनुभव भिडिओमा रेकर्ड गरेपछि कागजपत्रमा परिणत गर्न लाग्यौं । धेरैले धेरै कम्ती समयमै भने- सिकाए र छोडेर गए ।


    चोला उठेपछि ज्ञान पनि सँगै लगेर जाने यो प्रथालाई सिक्किम विश्वविद्यालयले रोक्ने र संरक्षण गर्ने कार्यक्रम सुरु गर्‍यो । अबउसो सामाजिक संस्था, सरकार, शिक्षक, पत्रकार, लखेक, डाक्टर, ड्राइभर सबैले यो मौखिक इतिहास अघि बढाइदिए ज्ञान-विज्ञान आदिमा हामी धेरै माथि हुनेछौं ।


    साभार : अन्न्पूर्णपोष्ट दैनिक