२०७७ जेष्ठ १८ गते

विद्यालयमै रमाउँछन् बालबालिका

खोटाङ । सामुदायिक विद्यालयको पाठयक्रमअनुसार विभिन्न सीप लगाएर पढाए काफी हुँदो रहेछ । विभिन्न शिक्षण विधि अपनाए बालबालिकाले धेरै कुरा सिक्दा रहेछन् भन्ने बल्ल थाहा पाए सदरमुकामकै सरस्वती माविका प्रअ ध्यानबहादुर राईले ।

जिल्ला शिक्षा कार्यालय खोटाङले नमुना विद्यालय स्थापना अभियान सुरु गरेपछि बालबालिका विद्यालयप्रति आकर्षित बन्न थालेका हुन् । अभियानअन्तर्गत पाठयक्रममा आधारित श्रव्य, दृश्य, प्रत्यक्ष अवलोकनलगायत विभिन्न विधिबाट सिकाइ सुरु गरिएपछि बालबालिका स्वतस्फूर्त विद्यालयप्रति आकर्षित बन्न थालेका छन् । त्यति मात्र होइन समयमै उत्कृष्ट नतिजा देखिएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताएका छन् ।

नमुनाका रूपमा सुरु गरिएको सरस्वती मावि दिक्तेलका विद्यार्थीमा केही दिनमा नै सकारात्मक परिवर्तन आउनका साथै शैक्षिक स्तरमा सुधार आएको जिशिअ नेपालको भनाइ छ । पुस्तक पढदा हैरान भएका बालबालिकालाई नमुना शिक्षणअन्तर्गत पाठयक्रममा आधारित कथा, कविता, निबन्ध, ज्ञानगुणका विषय समेटिएका, व्यवहार सिकाइ, लेखन सिकाइसँग सम्बन्धित पुस्तक उपलब्ध गराउनका साथै प्रोजेक्टरमार्फत शिक्षण गराउन थालेपछि विद्यार्थी आकर्षित भएका छन् । बालबालिकाले सिक्दैछु भन्ने थाहै नपाई सिकिरहेको प्रअ राईले सुनाए ।

नयाँ प्रयोगपछि स्कुल आउन नमान्ने बालबालिका पनि घरमा भन्दा विद्यालयमा नै रमाई रहेको नेपाल बताउँछन् । ‘गल्ती गरे घर पठाइ दिऊँ रु भनेर सजाय सुनाएमा घर नजाने स्कुलमै बस्ने भन्ने गर्छन् ।’ नेपालले भने, ‘अबदेखि गल्ती गर्दिनँ भनेर कबुल गर्दै बालबालिका विद्यालयमै बस्न र रमाउन रुचाउँछन् ।’

आफूले छानेको पुस्तक, पत्रिका तथा सामग्री हेर्न पढ्न पाउने, पर्दामा दृश्यमा हेर्न पाउनेलगायतका कारण विद्यार्थीलाई विद्यालय रमाइलो लाग्ने गरेको प्रअ राईको भनाइ छ । अभियान सुरु गरेपछि बालबालिकाले दैनिकी लेखेर सुनाउने, एकले अर्कोलाई सहयोग गर्नेलगायत विभिन्न क्रियाकलापमा स्वतस्फूर्त सामेल हुने गरेको शिक्षा अधिकारी नेपालले सुनाए । नमुना विद्यालय बनाउन जिल्लाका ३० विद्यालय छानिएका छन । यसमध्ये सदरमुकामकै सरस्वती माविबाट यो कार्यक्रम सुरु गरिएको हो । नमुना बनाउनका लागि छानिएका अन्य विद्यालयका प्रावि तहमा पनि क्रमशस् टेक्सट बुकको सट्टा करिकलममा आधारिक शिक्षण क्रियाकलाप सुरु गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

शिक्षाका अनुसार नमुना विद्यालय बनाउनका लागि आवश्यक पुस्तक खरिद गर्न पुस्तकालय व्यवस्थापन शीर्षकमा ३० विद्यालयलाई प्रतिविद्यालय साढे छ लाख रुपैयाँ उपलब्ध गराइएको छ । खस्कँदो शैक्षिक स्तरलाई सुधार गर्दै ‘नमुना’ विद्यालयका रूपमा स्थापित गर्न थालिएको अभियानका क्रममा छात्रछात्रालाई पाठयक्रममा आधारित थरीथरीका पुस्तक खरिद गरेर वितरण गरिएको छ । कान्तिपुरमा खबर छ ।

Comments: