२०७७ जेष्ठ १८ गते

बढ्दै कुपोषित बालबालिका

रोल्पा । बिरामी भई उपचार गराउन आएका अति कुपोषित केही बालबालिकालाई जिल्ला अस्पतालले नेपालगन्जको पोषण गृहमा पठायो । पर्याप्त खाद्य पदार्थ, भिटामिन तथा पौष्टिक पदार्थ अभावले यहाँ कुपोषित हुने बालबालिकाको संख्या बढ्दो छ ।

कुपोषित बालबालिकालाई अभिभावकले पर्याप्त मात्रामा खाद्य पदार्थसमेत खुवाउन नसकेको अस्पतालले जनाएको छ । वरिष्ठ अहेव कुलबहादुर डाँगीका अनुसार स्वास्थ्य र सरसफाइमा ध्यान नदिँदासमेत बालबालिकालाई सानैदेखि रोग लाग्ने गरेको पाइएको छ । उनी भन्छन्, ‘घरैमा भएको वस्तुलाई मिलाएर खुवाउन नजानेकाले बालबालिका कुपोषित हुने गरेको पाइएको छ ।’ स्थानीय उत्पादनमा कमी हुनु, पौष्टिक खाद्यपदार्थ प्राप्त गर्न नसक्नु तथा गरिबीका कारण बर्सेनि कुपोषित बालबालिकाको संख्या बढेको छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार विद्यालयमा भर्ना भएका बालबालिकालाई पौष्टिक पदार्थ दिनुपर्छ भन्ने चेतना अभिभावकलाई दिने गरे पनि कतिपयले गरिबीलाई मुख्य चुनौती देखाउने गरेका छन् । शिक्षा अधिकारी चिरञ्जीवी पौडेल भन्छन्, ‘आफ्नो भान्सामा पर्याप्त पौष्टिक पदार्थ जुटाउन नसक्नु सयौं अभिभावकका लागि समस्याको विषय बनेको छ ।’ गाउँघरमा खेतीमा संलग्न हुने जनशक्ति नभएकाले स्थानीय उत्पादनलाई बेवास्ता गर्दा कुपोषित बालबालिकाको संख्या बढेको हो । जिल्ला शिक्षा तथा स्वास्थ्य कार्यालयले कुपोषित बालबालिकाको एकिन संख्या पत्ता लगाउन नसकिएको जनाएका छन् ।

स्थानीय गैरसरकारी संस्था मानव अधिकार सचेतन केन्द्र हुरेकले जिल्लाका १५ गाविसका १ सय १८ बालविकास केन्द्रमा सञ्चालित कार्यक्रम अनुसार ३५ जना कुपोषित बालबालिका फेला परेको जनाएको छ । अभिभावकले बालविकास केन्द्रमा ल्याएका बालबालिकाको स्वास्थ्य जाँच गर्दा उनीहरूलाई फेला पारिएको हो । लिबाङ नगरपालिकासहित खुंग्री, अरेश, सखी, कोर्चाबाङ, धबाङ, ह्वामा, जंकोट, नुवागाउँमा कार्यक्रम सञ्चालन गरिएको हो ।

बालबालिकाको अवस्था सुधार गर्न सरकारी तथा गैरसरकारी कार्यालयले ठूलो रकम खर्चेर कार्यक्रम चलाएका छन् । गैरसरकारी क्षेत्रबाहेक जिल्ला स्वास्थ्य, शिक्षा, जिविस, महिला तथा बालबालिका कार्यालय, कृषि लगायतका कार्यालयले करोडौ रकम खर्चेका छन् । विदेशी गैरसरकारी संस्था सेभ द चिल्ड्रेन, सुआहारा लगायतले बर्सेनि करोडौंको रकम यसैमा खर्च गरे पनि उपलब्धि न्यून अवस्थामै छ । कान्तिपुरमा खबर छ ।

Comments: