२०७७ जेष्ठ १८ गते

शिक्षा विभागका पुराना गाडी सीटीर्इभीटीलार्इ जिम्मा

भक्तपुर । जिल्ला शिक्षा कार्यालय लगायतका निकायले प्रयोग गरी पुराना भएका सवारीसाधनहरु मर्मत अभ्यासका निम्ति अटोमोबाइल इन्जिनियरिङका विद्यार्थीका लागि हस्तान्तरण गरिएको छ ।

प्रयोजनविहीन सवारीसाधनलाई लिलाम गर्ने वा थन्क्याएर कार्यालय परिसरमा राखीरहनुभन्दा विद्यार्थीलाई अभ्यासका लागि उपलब्ध गराइनु उपयुक्त हुने भन्दै यस्तो गरिएको हो ।

शिक्षा विभागले थुप्रेर रहेका २२ वटा सवारीसाधनलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई जिम्मा लगाएको छ । लामो समयसम्म चलेका यी गाडी कुनै पनि काम लाग्ने अवस्थामा छैनन् ।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले प्रयोगमा नरहेका ती सवारी साधनलाई सीटीईभीटीलाई उपलब्ध गराइएको जानकारी दिँदै अटोमोबाइलका विद्यार्थीलाई सिक्नका लागि सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

विभागका अनुसार चार वटा मिनीटाटा र १८ वटा जिप सीटीईभीटीलाई उपलब्ध गराइएको छ । सीटीईभीटीले प्राप्त गरेकामध्ये केही सवारीसाधन पनौतिमा पठाइसकेको छ । शिक्षा विभाग परिसरमा रहेका बाँकी गाडी छिटै अन्य शिक्षण संस्थामा लैजाने बताइएको छ । हरेक संस्थालाई चारदेखि पाँच वटासम्म उपलब्ध गराइनेछ ।

सीटीईभीटीका प्रशासन प्रमुख रमेश बखतीले पनौति, बुटवल, नेपालगन्ज र सुनवलमा ती गाडी पठाइने बताए । नवलपरासीको सुनवलस्थित शान्ति नमूना मावि (एनेक्स स्कुल), पनौति र नेपालगन्जमा अटोमोबाइल विषयमा टीएसएलसी तहको तथा बुटवलमा तीन वर्षे डिप्लोमा कार्यक्रम सञ्चालन हुँदै आएको छ । बुटवल, सुनवल र नेपालगन्जमा ती गाडी लैजान समस्या भइरहेको बताइएको छ ।

उनले विभागले उपलब्ध गराएका गाडी चल्ने अवस्थामा नभए पनि प्रयोगात्मक अभ्यासका लागि उपयुक्त हुने बताए । उनले पौष्टिक आहार परियोजनाले पनि दुई वटा ट्रक लिएर जानू भनेर पत्र पठाएको जानकारी दिए । परियोजनाले उपलब्ध गराउने भनेकोमध्ये एउटा चल्ने हालतमा भएको बताइएको छ । गोरखापत्रमा खबर छ ।

Comments: