२०७७ जेष्ठ १८ गते

भारतमा इन्जिनियरिङ पढ्न प्रवेश परीक्षा पास हुनु पर्ने

काठमाडौं । भारतमा इन्जिनियरिङ अध्ययन गर्न अब इन्ट्रान्स (प्रवेश) परीक्षा उत्तीर्ण हुनु पर्ने भएको छ ।

आउँदो एक वर्षभित्र प्रवेश परीक्षा लिने कानुनी आधार तय गर्न भारतको मानव संसाधन विकास मन्त्रालयले अल इन्डिया काउन्सिल फर टेक्निकल एजुकेशन (एआइसीटीइ)लाई जिम्मेवारी दिइसकेको छ । यसले इन्जिनियरिङ विषय अध्ययन गर्ने विद्यार्थीहरुको कमन ९एउटै० परीक्षा लिने आधार तय गर्नेछ । यसअघि विश्वविद्यालय र कलेज पिच्छे प्रवेश परीक्षा दिनु पर्थ्थो । नेपाली विद्यार्थीहरुले प्रवेश परीक्षाबिनै भर्ना हुन्थे ।

२०१८ मा राष्ट्रियस्तरको कमन इन्ट्रान्स टेष्ट परीक्षा लिने तय भइसकेको हरियाणा राज्यका इन्जिनियरिङ काउन्सिलका प्रवक्ता शरद कौसिकले बताए । कमन इन्ट्रान्स र अन्तिम परीक्षा लिने भारत सरकारको निर्णयप्रति केही राज्यमा विरोध भइरहेको उनले बताए । सन् २०१८ देखि कमन इन्ट्रान्स लिने प्रक्रियाअघि बढाइसकेको एआईसीटीइलाई उद्धृत गरेर नवभारत टाइम्सले पनि समाचार प्रकाशित गरेको छ । इन्ट्रान्स परीक्षा उत्तीर्ण भएका विद्यार्थीले प्राप्त गरेको नम्बर (मेरिट)को आधारमा भर्ना हुन पाउने छन् ।
 
नेपालमा पनि विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण गरेपछि इन्जिनियरिङ अध्ययन गराइन्छ । त्रिभुवन विश्वविद्यालयको कलेजमा अध्ययन गर्न इन्जिनियरिङ अध्ययन संस्थानले लिने परीक्षा उत्तीर्ण हुनु पर्ने हुन्छ । पूर्वाञ्चलअन्तर्गतको कलेजमा पढ्न पूर्वाञ्चल विश्वविद्यालयले लिने परीक्षा उत्तीर्ण हुन पर्ने व्यवस्था छ । सरकारले कमन इन्ट्रान्स परीक्षाको अवधारणा समेत अघि सारेको छैन । डा. गोविन्द केसीले एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीलाई कमन इन्ट्रान्स परीक्षा लिने व्यवस्था गर्न माग राख्दै आएका छन् । सरकारले यो विषयमा केसीसँग सम्झौता गरे पनि कार्यान्वयन हुन सकेको छैन । यो व्यवस्था लागू नहुँदा हरेक विश्वविद्यालय र प्रतिष्ठानले लिने प्रवेश परीक्षा दिनु पर्ने विद्यार्थीलाई बाध्यता छ । केसीसँगको सम्झौता कार्यान्वयन भए विद्यार्थी हरेक विश्वविद्यालय र प्रतिष्ठानले लिने परीक्षाको तयारी गर्नुपर्ने थिएन । समयको बचत हुन्थ्यो । हरेक संस्थाले लिने परीक्षाको शुल्क समेत तिर्नु पर्दैन । भारतमा पनि इन्जिनियरिङमा कमन इन्ट्रान्स परीक्षाको व्यवस्था भएपछि संस्थैपिच्छे प्रवेश परीक्षा दिनु पर्ने बाध्यता हट्नेछ ।
 
एआईसीटीले कमन इन्ट्रान्स र इन्जिनियरिङको पढाई सकेपछि अन्तिममा लिने परीक्षाको कानुनी आधार बनाइरहेको नवभारत टाइम्सको समाचारमा उल्लेख छ । मानव संसाधन मन्त्रालयको उच्च शिक्षा विभागले एआईटीसीलाई विधेयक बनाउन निर्देशन दिइसकेको छ ।

भारतमा इन्जिनियरिङ अध्ययन गर्न प्रवेश परीक्षा सुरु गरेपछि नेपालबाट भारतमा इन्जिनियरिङमा अध्ययन गर्न जाने विद्यार्थीले पनि प्रवेश परीक्षा दिनु पर्ने हुनसक्छ । ‘अध्ययन गर्नुअघि प्रवेश परीक्षा र पढाइसकेपछि पनि अन्तिममा परीक्षा लिने तयारी भइरहेको छ,’ हरियाणाको पलवलस्थित एनजीएफ कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका प्रिन्सिपल एवं हरियाना राज्यका इन्जिनियरिङ काउन्सिलका प्रवक्ता शरद कौसिकले भने, ‘विदेशी मुलुकका विद्यार्थीले परीक्षा दिन पर्ने वा नपर्ने भन्ने एकिन भइसकेको छैन ।’ स्वदेशी विद्यार्थी र विदेशी भर्ना नीति फरक हुन नसक्ने कलेज सञ्चालकहरु बताउँछन् । नेपाल इन्जिनियरिङ काउन्सिलका सदस्य दिपेश विष्टका अनुसार काउन्सिलबाट लाइसेन्स लिनेमध्ये ३० प्रतिशत भारतको इन्जिनियरिङ कलेजमा अध्ययन गरेका विद्यार्थी हुन्छन् । गत वर्ष तीन हजारको हाराहारीमा लाइसेन्स लिएकामध्ये नौ सय जति भारत अध्ययन गरेका विद्यार्थी छन् ।
 
भारत अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको माइतीघरको लक्ष्मी एजुकेशन कन्सल्टेन्सीको प्रबन्ध निर्देशक शंकर भट्टराईले भारतमा हुने प्रवेश परीक्षाले भर्ना प्रक्रियामा जटिलता हुन सक्ने बताए । ‘अहिलेसम्म सहज थियो । सिधैं कलेजले भर्ना लिन्थ्यो,’ उनले भने, ‘भारतमा सस्तोमा इन्जिनियरिङ पढ्न अब विद्यालय तहकै मेहनत गरेर पढ्नु पर्ने हुन्छ । योग्य विद्यार्थीलाई जस्तो सुकै परीक्षा लिएपनि केही पर्दैन ।’
   
त्यस्तै इन्जिनियरिङ कलेजबाट उत्पादित जनशक्ति योग्य भए, नभएको सरकारले पढाइसकेपछि परीक्षा समेत दिने तयारी गरेको भारतको मानव संसाधन मन्त्रालयलाई उद्धृत गरेर नवभारत टाइम्स समाचार प्रकाशित गरेको छ । भरतको अल इन्डिया काउन्सिल फर टेक्निकल एजुकेशनले परीक्षाको रुपरेखा समेत तयारी गरिसकेको समाचारमा उल्लेख छ । पढाई सकिएपछि लिने परीक्षाको आधारमा कलेजको गुणस्तर आँकलन गर्ने, गुणस्तर कमजोर हुने कलेजलाई सहयोग गर्ने, शिक्षकलाई तालिम नदिने, यति गर्दा पनि सुधार आएन भने कारबाही गर्ने सरकारको तयारी रहेको समाचारमा उल्लेख छ ।
 
इन्जिनियरिङ अधययन सकाएपछि जागिरमा प्रवेश गर्नुअघि परीक्षा दिनु पर्ने व्यवस्थाले यो पेसालाई मर्यादित बनाउने कौसिकले बताए ।

लाइसेन्स लिनुअघि परीक्षा दिनुपर्ने
नेपाल इन्जिनियरिङ काउन्सिलबाट लाइसेन्स लिनुअघि परीक्षा दिनुपर्ने व्यवस्था गर्न लागेको छ । कानुन व्यवसायी र चिकित्सक बन्न लाइसेन्सको परीक्षा दिनु पर्ने प्रावधान छ । इन्जिनियरिङ काउन्सिलले यो प्रावधान गर्न लागेको सदस्य विष्टले बताए । काउन्सिलले यस विषयमा अध्ययन गर्न पाँच सदस्यीय समिति बनाएको छ ।
 
परिषद्ले गठन गरेको समितिले तयार गरेको प्रतिवेदनको आधारमा वोर्ड बैठकले नेपाल इन्जिनियरिङ परिषद् ऐन संशोधन प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गर्नेछ । काउन्सिलले यसअघि पनि परीक्षा लिने व्यवस्था गरेको थियो । कानुनी आधारबिनै लाइसेन्स परीक्षा लिन लागेको भन्दै अदालतमा मुद्दा परेपछि रोकिएको थियो ।

नेपाली विद्यार्थी अवसरबाट बञ्चित
नेपाली विद्यार्थीहरु अन्य मुलुकको तुलनामा योग्य भए पनि भर्ना बेलैमा नहुँदा कलेज र विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति लगायत अन्य सुविधा पाउनबाट बञ्चित हुने गरेका छन् । भारतका कलेज र विश्वविद्यालयमा भर्ना अवधि सकिने अन्तिम अवधिमा नेपालमा कक्षा १२ को नतिजा आउँदा नेपाली विद्यार्थीले सुविधाबाट बञ्चित हुनु परेको हो । ‘नेपालमा १२ कक्षाको नतिजा ढिलो आउँदा भर्ना लिन गाह्रो हुन्छ । विद्यार्थीहरु लेट इन्ट्री हुन्छ,’ हरियाणाको पलवलस्थित एनजीएफ कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका प्रमुख कार्यकारी अस्विनी प्रभाकरले भने, ‘ढिला भर्ना हुँदा दक्ष विद्यार्थीले कलेज र विश्वविद्यालयबाट छात्रवृत्ति लगायत अन्य सुविधा पाउन बञ्चित हुन्छन् ।’

नेपाली विद्यार्थीहरु पढाईमा अब्बल रहेको कलेज सञ्चालकहरु बताउँछन् । ‘अन्य मुलुकका विद्यार्थीसँग पनि प्रतिस्पर्धा गर्न सक्षम छन्,’ उनले भने । एनजीएफमा मात्रै इन्जिनियरिङ अध्ययन गर्ने ३० भन्दा बढी विद्यार्थी छन् । यही कलेजमा अध्ययन गरेका नेपालका सरोज अधिकारीले माइक्रोसफट् इनोभेसन सेन्टरबाट उत्कृष्ट एप्स बनाएबापत पुरस्कृत समेत भए ।
 
फेसन एण्ड एपेरल इन्जिनियरिङ समेत पढाई हुने भएकोले नेपालीको आकर्षण छ । त्यस्तै यो कलेजमा माइक्रोसफ्ट इनोभेसन सेन्टरले पनि विद्यार्थीको यो कलेज रोजाई बन्ने गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

Comments: