२०७७ जेष्ठ १६ गते

गाडीबाट विद्यार्थी ओसार्दै सामुदायिक विद्यालय

ललितपुर ।  गरे के सम्भव हुँदैन र ? शैक्षिक गुणस्तर खस्किएपछि विद्यार्थी अभावका कारण दुईवटा सामुदायिक विद्यालय गाभिएर बनेको नयाँ विद्यालयले एकै वर्षमा चामत्कारिक सुधार गरेको छ ।


 शैक्षिक गुणस्तरमा सुधार ल्याई चकित मात्र तुल्याएको छैन, विद्यालयले दुईवटा बस भाडामा लिई विद्यार्थी ओसार्नसमेत थालिसकेको छ ।  ललितपुरको च्यासलस्थित श्रीचण्डी आदर्श सरल मावि यसरी एकाएक सुधार गर्ने उदाहरणीय सामुदायिक विद्यालय बन्न पुगेको छ ।
 
उक्त माविका प्रधानाध्यापक ईश्वर पोखरेलले मिहिनेत र लगनशील भएर काम गर्दा शैक्षिक सुधार गर्न सकिने बताउँदै एकै वर्षमा परिवर्तन आउला भन्ने सोचेका पनि थिएनौँ ।  सामूहिक कार्यले यो सम्भव हुँदोरहेछ भने ।

शैक्षिक गुणस्तर खस्किँदै गयो र परिणामतः विद्यार्थी अभाव हुँदै गएपछि गत २०७१ साल चैतमा आदर्श सरल मावि र श्रीचण्डी माविलाई गाभेर श्रीचण्डी आदर्श सरल मावि बनाइयो ।  ती दुवै विद्यालय २००४ सालमा स्थापना गरिएका थिए ।  गाभिनुअघि आदर्श सरलमा करिब डेढ सय र श्रीचण्डीमा ५० विद्यार्थी थिए ।  भूकम्प आएपछि तराई मूलका प्रायः सबै विद्यार्थी घरतिर लागेपछि फर्किएरै आएनन् ।  विद्यालय झण्डै झण्डै रित्तोजस्तै बन्न पुग्यो ।

 अभिभावकलाई मनाउँदै विद्यार्थी सङ्ख्या वृद्धि गर्ने कार्यमा विद्यालय सक्रिय हुन थाल्यो ।  एकै वर्षमा देखिने गरी शैक्षिक सुधार भएपछि गत वैशाखमा १२४ विद्यार्थी एकैपटक थपिन पुगे ।  अहिले विद्यालयमा ३७२ विद्यार्थी छन् ।

एउटा शैक्षिक सत्रमा एकैपटक १२४ नयाँ विद्यार्थी थपिनु सामुदायिक विद्यालयका लागि आश्चर्यको विषय बन्न थालिसकेको छ ।  अङ्ग्रेजी माध्यमबाट पनि पठनपाठन हुने भएकाले आकर्षण बढेको हुनसक्ने विद्यालयको भनाइ छ ।  विद्यार्थी फरर अङ्ग्रेजी बोल्न जान्ने भएका छन् ।

गत २०७१ सालको एसएलसी परीक्षामा आदर्श सरलका सात र श्रीचण्डीका एक विद्यार्थीमात्र उत्तीर्ण भएका थिए ।  जब कि २०७२ सालको एसएलसी परीक्षामा २६ मध्ये २४ विद्यार्थीले कम्तीमा सी प्लस ग्रेड ल्याउन सफल भएका छन् ।  विगतमा एसएलसीको परिणाम लाजमर्दो हुने गरेकोमा अब देखिने गरी सुधार हुँदैछ प्रअ पोखरेलले भने ।

त्यस विद्यालयमा भक्तपुरको सानोठिमी, लोकन्थली, बालकोट, कौशलटारका साथै काठमाडौँको पेप्सीकोला, जडीबुटी लगायतका स्थानबाट दैनिक दुईवटा बसले विद्यार्थी ओसार्दै आएको छ ।  बस चढेर १३० विद्यार्थी विद्यालयमा आइपुग्छन् भने मासिक ३५ हजार रुपियाँ बस भाडा खर्च हुँदै आएको छ ।  बस भाडा अभिभावकले नै तिर्नेगरेका छन् ।  तीमध्ये कतिपय विद्यार्थी निजी विद्यालय छाडेर आएका छन् ।  अभिभावकको मागका कारण आगामी शैक्षिक वर्षमा एउटा बस थप्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

प्रअ पोखरेलले अभिभावकलाई निजी विद्यालयको भन्दा राम्रो शिक्षा प्रदान गर्ने र त्यस्तो हुन नसकेमा अभिभावकले विद्यार्थीलाई वर्षभरि गरेको लगानी नै फिर्ता दिने बताएपछि विद्यालयले गतवर्ष मुस्किलले भर्नाका लागि नयाँ विद्यार्थी फेलापारेको थियो ।  चालू शैक्षिक सत्रमा त्यस्तो कुनै आश्वासन नै दिनु नपरेको बताउँदै उनले कुनै पनि अभिभावक आफूले गरेको लगानी फिर्ता माग्न आउने अवस्था सिर्जना हुन नदिइएको दाबी गरे ।
 
विद्यालय गाभ्ने चरणमा जिल्ला शिक्षा कार्यालयका तत्कालीन पदाधिकारीले विद्यार्थी सङ्ख्या कम भएकाले आगामी वर्ष विद्यालय बन्द नै गरिने वा विद्यार्थी अन्यत्र विद्यालयमा गएपछि अरू विद्यालयमा गाभिदिने बताएको स्मरण गर्दै प्रअ पोखरेलले त्यसबेला आफूले नचाहँदा नचाहँदै पनि प्रधानाध्यापकको जिम्मेवारी दिइएको बताए ।

म प्रअ बन्न इच्छुक थिइनँ ।  जिशिकाका कर्मचारीले एक वर्षका लागि जिम्मेवारी लिइदिनुस् भनेपछि म राजी भएँ ।  आफूले जिम्मेवारी लिएपछि गाभ्नेतर्फ लाग्नुभन्दा शैक्षिक सुधारका लागि प्रयत्न गर्नुपर्दछ भन्ने लाग्यो ।  बरु गएको वैशाखमा पाटन, त्रिपद्म, आदर्शकन्या, प्रभात, श्रमिकशान्ति लगायतका विद्यालयबाट विद्यार्थी यहाँ भर्ना हुन आए, यस विद्यालयबाट कुनै पनि विद्यार्थी बाहिरिएनन् उनले थपे ।गोरखापत्र दैनिकमा खबर छ ।

Comments: