२०७६ भदौ ३० गते

त्रिवि सेवा आयोगको अध्यक्षमा शर्मा

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा सहप्राध्यापक चैतन्य शर्मालाई नियुक्त गरेको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ढल्ने संघारमा रहेको सरकारका शिक्षा मन्त्री अग्नी खरेलको सिफारिसमा त्रिविका कुलपतिको हैसियतमा प्रधानमन्त्री केपी ओलीले शर्मालाई नियुक्त गरेका हुन् ।


दूरगामी असर पर्ने नयाँ नियुक्ति र निर्णय नगर्न विपक्षी दलहरुले सरकारलाई सचेत गराए पनि सरकारले जाँदाजाँदै शर्मालाई नियुक्त गरेका हुन् । तीनसाता अघि शिक्षा ऐन आठौं संशोधन जारी भएलगत्तै खारेज भएको उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष थिए ।

त्रिवि सेवा आयोगका अध्यक्ष प्राध्यापक ईश्वरचन्द्र दत्तको बिहीबारबाट तीन वर्षे कार्यकाल पूरा भएलगत्तै शर्मालाई नियुक्त गरिएको हो । करिब २५ वर्ष त्रिविमा प्राध्यापकपछि राजीनामा गरेका शर्मा त्यसपछि ११ वर्ष मदन भण्डारी कलेजका क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका थिए । एमाले र कांग्रेस सम्मिलित सरकारका तत्कालिन शिक्षा मन्त्री चित्रलेखा यादवको पालामा शर्मा एमालेको कोटाबाट उमाशिपको उपाध्यक्ष बन्न सफल भएका थिए । शर्माले बिहीबारबाटै पद बहाली गरेका छन् ।

 

Comments: