२०७७ जेष्ठ १८ गते

स्ववियु चुनावको सरगर्मी बढेसँगै ठूला क्याम्पस वरपरका भित्ता रंगिन हुन थाले

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आगामी १४ फागुनमा स्ववियु चुनाव हुने घोषणा भएसँगै प्रचारप्रसारका लागि विद्यार्थीहरुले सार्वजनिक भित्ता तथा पर्खालहरु फोहोर गर्न थालेका छन् ।

विद्यार्थी संगठनहरूले चुनाव आचारसंहिता विपरीत भित्ताहरुमा ठूल्ठूला अक्षरमा लेखेर आ–आफ्ना पक्षमा चुनाव प्रचारप्रसार सुरु गरेका छन् । त्रिविले जारी गरेको स्ववियु चुनाव आचारसंहितामा भित्ते लेखन गर्न नपाइने व्यवस्था गरेको छ । निर्वाचन सम्बन्धी तुल, फ्लेक्स र कुनैपनि प्रकारको पोस्टर टाँस्न नपाइने व्यवस्था समेत गरिएको छ ।

तर निर्वाचन आचारसंहिता विपरित मुख्य गरी काठमाडौंका नेपाल ल क्याम्पस, आरआर क्याम्पस, थापाथली क्याम्पस र पिके क्याम्पस र त्रिचन्द्र क्याम्पस वरवरका सार्वजनिक भित्ताहरु रंगिन थालेका छन् ।
 
यस्तै विद्यार्थी संगठनहरुले काठमाडौं महामनगरपालिकाको विज्ञापन बोर्ड तथा प्रचार सामाग्री नियमन गर्ने नीति–२०७० को अनुसार महानगर क्षेत्रमा अनुमति नलिई कुनै पनि प्रकारका विज्ञापनयुक्त, प्रचारात्मक, सूचना वा सन्देशमूलक बोर्ड, परिचय पाटी तथा सामग्रीहरु राख्न नपाइने व्यवस्थाको पनि ठाडो उल्लंघन गरेका छन् ।
 
नेवीसंघका केन्द्रिय अध्यक्ष नयनसिहं महराले क्याम्पस परिसर र वरपरका भित्ते लेखन निर्वाचनको आचारसंहिता जारी हुनु अगावै भएको दाबी गरे । निर्देशिका जारी भएपछि लेखिसकिएका प्रचारहरु अब विद्यार्थीहरु आफैंले मेट्ने महराले बताए । ‘अब भित्तामा केही लेखिने छैन, लेख्नेलाई नियन्त्रण गरी आफैं कारवाही गर्नेछौं,’ उनले भने ।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले भित्ते प्रचारहरु आफ्नो संगठनले गरेको स्वीकार गरे । ‘९ वर्षपछि हुन लागेको निर्वाचन हो । थाहा नभएर साथीहरुले पुरानै शैली अप्नाएर भित्तामा लेखेछन्,’ उनले भने, ‘भड्किलो देखिएको छ । अब हामी आफैं मेट्छौं ।’

अस्वस्थ प्रतिष्पर्धाका कारण लुकीछिपी भित्ता रंगाएको एमाले निकट विद्यार्थी संगठन अनेरास्वयुका केही विद्यार्थी नेताले पनि स्विकारेका छन् ।


स्ववियु आचारसंहिता निर्देशिका अनुसार त्रिवि वा क्याम्पसलाई हानि नोक्सानी हुने कुनै प्रकारको प्रचार प्रसार गर्न नपाइने भनिएको छ । त्यस्तै, उम्मेदवारको नामावलीको ‘एफो’ साइजको एक रंग भएको पर्चा मात्रै प्रचार प्रसार गर्न पाइने, क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने पनि उल्लेख छ ।



त्रिविका डिन कृष्ण गौतम भन्छन्, ‘कसैले नियम मिचेरे भित्तामा लेखेको पाइएमा तुरुन्तै हटाउनु पर्नेछ ।’ विद्यार्थीले अटेरी गरेमा क्याम्पस प्रशासनले हटाउनुपर्ने डिन गौतमले बताए ।

काठमाडौं महामनगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले नियम मिचेर भित्ता केर्ने र फोहोर गर्नेलाई निर्देशिका–२०७० बमोजिम कारवाही हुने बताए । स्ववियु चुनाव केन्द्रित प्रचारप्रसारका लागि सार्वजनिक भित्ता फोहोर गर्नेको अनुगमन गरिरहेको र कारवाही स्वरुप हालका लागि फोहोर गरिएको भित्ता विद्यार्थीलाई नै मेट्न महानगरले आदेश दिएको उनले बताए । कान्तिपुरका लागि फातिमा बानुले तयार पारेको खबर ।

Comments: