२०७७ जेष्ठ १६ गते

भागबन्डा नमिल्दा चार मेडिकल कलेज उपकुलपतिविहीन

धरान । सत्तासाझेदार माओवादी केन्द्र र कांग्रेसको आन्तरिक भागबन्डा नमिलेका कारण देशका चार ठूला मेडिकल कलेजमा उपकुलपति नियुक्ति हुन सकेको छैन।

उपकुलपतिविहीन भएको महिनौं बितिसक्दा पनि सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपकुलपति नियुक्ति गर्न नसकेको हो।

चारवटै मेडिकल कलेजमा सरकारले उपकुलपति नियुक्तिमा चासो नदेखाएपछि मेडिकल कलेजबाट हुनै दैनिक कामकाज प्रभावित हुनुका साथै महत्वपूर्ण निर्णय हुन सकेको छैन।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा। बलभद्रप्रसाद दासको गत पुस २० गते कार्यकाल सकिएपछि प्रतिष्ठान उपकुलपतिविहीन भएको हो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीको गत भदौमै कार्यकाल सकिए पनि सरकारले नयाँ उपकुलपति नियुक्त गर्न सकेको छैन। कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान पनि नौ महिनादेखि उपकुलपतिविहीन छ।

कर्णालीका उपकुलपति डा। पारसकुमार आचार्यको कार्यकाल सकिएपछि सरकारले कर्णालीमा नयाँ उपकुलपति नियुक्तिमा चासो नदिएको स्थानीयको आरोप छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको तीन वर्ष बितिसक्दा समेत उपकुलपति नियुक्त गरिएको छैन।

देशकै महत्वपूर्ण मानिएको बीपी प्रतिष्ठान र पाटनका लागि सत्ता साझेदार कांग्रेसले आआफ्नो पक्षका व्यक्तिलाई उपकुलपति बनाउने अडान लिएको छ भने सरकारको नेतृत्व गरेको माओवादीले पाटन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफू पक्षका व्यक्तिलाई उपकुलपति बनाउने अडान राखेको छ।

सोहीकारण सहमति हुन नसकेको स्रोतले जानकारी दिएको छ। यसअघि भने माओवादीका बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा बीपीमा दास र पाटनमा भण्डारीलाई उपकुलपति नियुक्त गरिएको थियो।

सरकारले बीपी प्रतिष्ठान र कर्णाली प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्न नसकेपछि बीपी निर्देशक विहीनसमेत भएको छ। बीपीका निर्देशक अरविन्दकुमार सिन्हाको समेत पदावधि सकिएपछि बीपी उपकुलपति र निर्देशक दुवै पदविहीन बनेको हो।

कर्णालीमा पनि रजिस्ट्रार, निर्देशकको समेत नियुक्ति हुन सकेको छैन। कर्णालीका रजिस्ट्रार श्याम लम्साल र निर्देशक जाबेद खाँको पदावधि सकिएको लामो समय बितिसकेको छ। तर उपकुलपति नियुक्ति नभएका कारण यी दुवै पदमा नयाँ नियुक्ति हुन सकेको छैन।

चारवटै मेडिकल कलेजमा स्वास्थ्यमन्त्रीले उपकुलपतिको नियुक्तिका लागि प्रधानमन्त्रीसमक्ष तीन-तीनजनाको नाम सिफारिस गरेपछि प्रधानमन्त्रीले सिफारिसमध्ये एक/एकजनालाई उपकुलपति बनाउने प्रावधान छ। तर, स्वास्थयमन्त्री गगन थापाले भने हालसम्म चारवटै मेडिकल कलेजको उपकुलपतिका लागि नाम सिफरिस गरेका छैनन्।

स्वास्थ्यमन्त्री गगन थापा जेनेभा गएको र स्वास्थ्य सचिवसमेत देशबाहिर रहेका कारण चारवटै मेडिकल कलेजमा उपकुलपति नियुक्तिमा ढिलाइ भएको स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले बताए। चारवटै मेडिकल कजेलमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएकाले केही दिनभित्रमै उपकुलपति नियुक्तिका लागि स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्रीसमक्ष नाम सिफारिस गर्ने उनको भनाइ छ।

मन्त्रालयले बीपी, पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवेदन दिएका चिकित्सकमध्ये सिनियर एवं योग्य उम्मेदवारलाई उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्ने तयारी गरेको गुरुङले जानकारी दिए।

बीपीमा सिनियरलाई बनाउन माग
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपकुलपतिविहीन भएपछि उक्त पदमा यहाँका चिकित्सक तथा कर्मचारीले प्रतिष्ठानमै कार्यरत सिनियर चिकित्सकको नियुक्ति माग गरेका छन्। विगतका वर्षमा आर्थिक चलखेल गरी जुनियर चिकित्सकलाई उपकुलपति नियुक्त गर्ने परिपाटी थियो।

तर त्यस्तो प्रवृत्तिको अन्त्य गर्दै सिनियर र कुशल व्यक्तिलाई उपकुलपतिलगायत पदमा नियुक्ति गर्न उनीहरूको माग छ। प्रतिष्ठानमा कार्यरत सिनियर डा। चन्द्रशेखर अग्रवाल, प्रह्लाद कार्की, आरके रौनियार, बीएन यादव, गुरु खनाल र रूपा राजभण्डारीले उपकुलपतिका लागि ुलबिङु सुरु गरेका छन्।

प्रतिष्ठानका निवर्तमान उपकुलपति बलभद्रप्रसाद दास र डाइरेक्टर अरविन्दकुमार सिन्हाले समेत उपकुलपतिका लागि आआफ्नो पक्षमा समर्थन जुटाउन कांग्रेस र माओवादीका नेताको घरदैलो एवं पार्टी कार्यालय धाउन थालेका छन्।

प्रतिष्ठानको कर्मचारी कल्याण समाजका वरिष्ठ उपाध्यक्ष उमेश थापाले प्रतिष्ठानका सिनियर चिकित्सकमध्ये कुशल एवं निर्विवादित व्यक्तिलाई उपकुलपति नियुक्तको माग गरेका छन्। उनले प्रतिष्ठानबाहिरका व्यक्तिलाई उपकुलपति बनाए कर्मचारी समाजले आन्दोलन गर्ने र प्रतिष्ठान प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन्। अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: