२०७६ मंसिर ६ गते

विद्यार्थी आउँदैनन्, शिक्षक पढाउँदैनन्

चितवन । दारेचोक १ तोक्दाङस्थित प्रगतिशील प्रावि । ४ दिनअघि त्यहाँ पुग्दा स्कुलभरि जम्मा पाँच जना थिए । कक्षा ३ का ४ विद्यार्थी अनि शिक्षक लोकबहादुर गुरुङ । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयका अन्य कक्षा भने खाली थिए । प्रअ तुलबहादुर गुरुङ बैठकमा भाग लिन सदरमुकाम गएका थिए । सहयोगी कार्यकर्ता त्यस दिन आफ्नो बिहे भएकाले आएनन् । उनी नभएपछि विद्यार्थी थाम्नै हम्मे पर्‍यो ।

शिक्षक गुरुङले विद्यालयमा शिशुसहित ३० जना भर्ना भएको तथ्यांक देखाए तर उपस्थित भने आधा पनि थिएनन् । कोठा अभाव रहेकाले ४ र ५ कक्षाका विद्यार्थी एकै ठाउँ राखेर पढाउने गरिएको छ । गुरुङका अनुसार एउटा कक्षालाई गृहकार्य दिएर अर्कोलाई पढाउनुपर्ने बाध्यता छ । कक्षा १ मा ८, २ मा ३, ३ मा ४, ४ मा ६, ५ मा ४ र शिशुमा ५ जना विद्यार्थी भर्ना भएको रेकर्ड छ । ‘विद्यार्थी अभाव छ, भर्ना भएका विद्यार्थी पनि नियमित आउँदैनन्,’ गुरुङले भने, ‘पढाउन समस्या छ ।’ सबै शिक्षक राहत दरबन्दीका हुन् ।

चण्डीभञ्ज्याङ ४ देवीटारमा रहेको राप्रावि हुस्तीको हालत पनि उस्तै देखियो । गत सोमबार त्यहाँ भर्ना भएमध्ये आधा विद्यार्थी मात्र उपस्थित थिए । शिक्षक नै नियमित आउँदैनन् । एकै घरका २ जना विद्यार्थी रहे दिन बिराएर पालो लगाउँछन् । पढाइ यतिसम्म खस्किएको छ कि कक्षा ५ उत्तीर्ण विद्यार्थीले आफ्नो नामसम्म लेख्न जान्दैनन् । शिशुमा भर्ना भएका ७ मध्ये ३, कक्षा १ का ११ मध्ये ७, कक्षा २ मा ३, कक्षा ३ मा ४, कक्षा ४ मा ११ मध्ये ४ र कक्षा ५ का ५ मध्ये ४ जना मात्र पढ्न आएका थिए । अधिकांश विद्यार्थीका खुट्टामा जुत्ताचप्पल थिएन, फाटेको लुगा लगाएका थिए । विद्यार्थी कम रहेकै कारण शिशु र कक्षा ३ तथा कक्षा ४ र ५ का लाई एकै ठाउँ राखेर पढाउने गरिएको छ ।

यहाँ २ जना दरबन्दी, १ जना राहत शिक्षक र १ जना सहयोगी कार्यकर्ता छन् । विद्यार्थी कम आएका दिन शिक्षक घाम तापेर दिन कटाउँछन् । कतिपय शिक्षक विद्यालय नै आउँदैनन् । ‘भौगोलिक विकटता छ, घरमा खान अन्न छैन,’ विद्यालयका प्रअ जयमंगल सुवेदीले भने, ‘त्यही भएर भर्ना भएअनुसारका विद्यार्थी आउँदैनन्, छात्रवृत्ति रकम बाँड्ने बेलामा मात्र आउँछन् ।’ उनका अनुसार खाजा कार्यक्रमले पनि विद्यार्थी उपस्थिति नियमित गर्न सकेन । गत मंगलबार दाहाखानी १ स्थित राप्रावि उपरदाङगढी पुग्दा साढे ११ बजेको थियो । विद्यार्थी भर्खर आइरहेका थिए । उता आडैमा घर भएका प्रअ गणेश थापामगर बारी जोत्दै थिए । शिक्षक कुन बेला विद्यालय जाने, कस्तो पोसाकमा जाने, विद्यार्थी कति बजे आउने कुनै नियम थिएन त्यहाँ । ‘यस्तो विद्यालयमा पढ्ने विद्यार्थीको भविष्य कसरी उज्ज्वल हुन्छ रु,’ एक अभिभावकले भने, ‘शिक्षकका छोराछोरी सहरमा पढ्छन्, गाउँमा पढ्ने गरिबका छोराछोरी त हुन्, सरकारी तलब खाने शिक्षकले यो समस्या कहिल्यै बुझेनन् ।’ शिक्षा कार्यालयबाट अहिलेसम्म विद्यालयको अनुगमन भएको छैन । ‘कक्षा ५ पढ्ने छोराछोरीलाई आफ्नो नाम लेख्न आउँदैन,’ लोथरका लक्ष्मण चेपाङले भने, ‘विद्यालय गएर के सिक्छन् भन्नु रु’

विकटताले समस्या
जिशिअ गोविन्दप्रसाद अर्याल दुर्गमका विद्यालयमा मौलाएको यस्तो विकृतिलाई भौगोलिक विकटताको कारण देखाउँछन् । उनका अनुसार चेपाङ बालबालिका पढ्ने विद्यालयमा नियमित खाजा कार्यक्रम चलाइएको छ । ‘घरबाट खाजा लिएर आउनेलाई भरपाइ गरेर रकम दिने गरेका छौं,’ उनले भने, ‘खाजाभन्दा यो ठीक लाग्यो ।’ अनिकालग्रस्त विकट गाउँका थोरै विद्यार्थी भने खानेकुरा पाइने लोभले विद्यालय आउँछन् । ‘कार्यालयबाटै आधा विद्यालयको अनुगमन गरेका छौं,’ उनले भने, ‘आधा गर्न सकिएको छैन ।’ उनले जिल्ला शिक्षा समितिको निर्णयअनुसार विद्यालय सुधारका सम्बन्धमा गाउँमै पुगेर अभिभावकसँग छलफल गर्ने र अनावश्यक देखिएका विद्यालय खारेज गरिने बताए ।

वार्षिक १ अर्ब लगानी
शिक्षा कार्यालयका अनुसार जिल्लाका मावि, निमावि र प्राविमा आर्थिक वर्ष ०७२र०७३ को बजेट १ अर्ब ४ करोड ५४ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ खर्च भयो । प्रावि र निमावि तहमा मात्र वार्षिक ७५ करोड २४ लाख ३३ हजार ८ सय ६७ रुपैयाँ छ । मावि तहमा २९ करोड ३० लाख २१ हजार ६ सय ८८ रुपैयाँ छ । जिशिअ अर्यालका अनुसार प्रतिविद्यार्थी प्रावि र निमावि तहमा वार्षिक ११ हजार ८ सय ४० र मावि तहमा १७ हजार ६ सय ८० रुपैयाँ लगानी हुन्छ । तर, विकटका विद्यालयमा गरिएको लगानी प्रतिफल शून्य छ । उक्त लगानीभित्र कर्मचारी व्यवस्थापन, मसलन्द, पीसीएफ, छात्रवृत्ति रकम, शिक्षक तलबभत्ता, दिवा खाजालगायत पर्छ । शिक्षकले १३ महिनाको तलब बुझ्छन् । एउटा विद्यार्थीले ४ सय ५० देखि ३ हजार रुपैयाँसम्म वार्षिक छात्रवृत्ति पाउँछन् । आवासीय व्यवस्थापनसहित बसेकाले ४० हजार रुपैयाँसम्म दिइन्छ । कान्तिपुर दैनिकमा खबर छ ।

Comments: