• न्याय माग्ने सट्टा एवं राहत शिक्षकका टाउकामा प्रहरीको लाठी, सयौं घाइते
    (ईपाटी संवाददाता/काठमाडौं)



  • राहत, सट्टा शिक्षक एवं विद्यालय कर्मचारीहरुको संयुक्त प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । स्रोतव्यक्ति, सट्टा शिक्षक, बालविकास केन्द्रका शिक्षक, राहत शिक्षक र विद्यालय कर्मचारीहरुको संयुक्त आन्दोलन समितिले राजधानीमा गरेको प्रदर्शनमा भएको लाठीचार्जमा सयौं शिक्षक घाइते भएका आन्दोलन समितिले जनाएको छ ।

    माइतीघर मण्डलामा कोणसभा गरेर अघि बढेका शिक्षकहरु वानेश्वर पुगेपछि प्रहरीसँग झडप भएको थियो । वानेश्वरमा प्रहरीले रोकपछि नारावाजीमा उत्रेका उनीहरुलाई पछि हट्न प्रहरीले अनुरोध गरे पनि नमानेपछि सुरुमा पानीको फोहोरा हानिएको थियो ।

    पानीको फोहोराले पनि शिक्षकलाई हटाउन नसकेपछि लाठी प्रहार गरिएको थियो । लाठीचार्जमा सयौं शिक्षकहरु घाइते भएका स्रोत व्यक्ति समाजका अध्यक्ष एवं स्रोत व्यक्ति तथा सट्टा शिक्षक पुनर्वहाली आन्दोलन समितिका संयोजक रामबाबु ढकालले जानकारी दिए । उनका अनुसार लाठीचार्जमा घाइते शिक्षकहरुको राजधानीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।


    आजको प्रदर्शनमा स्रोतव्यक्ति र सट्टा शिक्षकहरुको अलावा बालविकास केन्द्रका शिक्षक, राहत शिक्षक र विद्यालय कर्मचारीहरुको समेत सहभागिता रहेको आन्दोलन समितिका संयोजक ढकालले जानकारी दिए ।


    स्रोतव्यक्ति फिर्ता गर्ने माघ ३ को सरकारी निर्णय खारेज नभएसम्म आन्दोलन जारी राख्ने भन्दै संयोजक ढकालले भोलि सोमबार देखि नियमित बानेश्वरमा प्रदर्शन गरिरहने चेतावनी दिए । देशभरका उत्पीडित शिक्षकहरुलाई प्रदर्शनमा सहभागी हुन समेत उनको आग्रह थियो ।

    २०७५ माघ ३ को स्रोत व्यक्ति हटाउने सरकारको निर्णय बिरुद्ध स्रोत व्यक्ति एवं सट्टा शिक्षकहरु फागुन १२ देखि निरन्तर काठमाडौं केन्द्रित आन्दोलनमा थिए । उनीहरुले यसअघि शिक्षा तथा मानवस्रोत विकास केन्द्र(शिक्षा विभाग) तथा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना समेत दिएका थिए ।

    मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा समेत गरेर ४० हजारको हाराहारीमा राहत शिक्षक कार्यरत छन् । सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरवन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो । अहिले तीनै शिक्षकले आफूहरुलाई स्वत दरवन्दीमा रुपान्तरा गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् । उता, विद्यालय कर्मचारी र बालविकासका शिक्षकहरुले पनि स्थायी हुनुपर्ने माग राख्दै आएका छन् ।


    त्रिभुवन मावि बुलिङटार नवलपुरका शिक्षक एवं  स्रोतव्यक्ति सट्टा शिक्षक केन्द्रिय संघर्ष समितिका महासचिव श्रीकान्तनन्द गिरीले शिक्षक आयोगको विधिविधान अनुसार  लिखित र मौखिक परीक्षा उत्तीर्ण गरी छनोट भएका र बीसौं वर्ष सेवा गरेका सट्टा शिक्षकहरुलाई सरकारले अवकाश दिन खोज्नु अन्यायपूर्ण रहेको बताए । 'वषौं पढाउन लगाएर अहिले जा भन्न पाइन्छ', गिरीले भने–'अस्थायी शिक्षकले आन्तरिक विज्ञापनको मौका पाउदा हामीले पाउँनु पर्दैन?' सरकारले सट्टा शिक्षकलाई सौतेनी व्यवहार गरेको गिरीले आरोप लगाए ।


    नवजागरण नमूना मावि चोरमारा, नवलपुरका सट्टा शिक्षक केदार पाण्डेले आफूहरु न्याय नपाएसम्म आन्दोलन गरिरहने बताए । 'कसैलाई काखा कसैलाई पाखा गर्न भएन, सट्टा शिक्षकलाई पनि आन्तरिक प्रतिस्पर्धाको मौका दिनुपर्छ'– पाण्डेले भने ।


    अन्नपूर्ण मावि  मनाङका सट्टा शिक्षक तीर्थराज सेढाईले सट्टा शिक्षकलाई न्यायपूर्ण व्यवस्थापन गर्न सरकारसँग माग गरे ।