२०७६ मंसिर २७ गते

इक्यान शैक्षिक मेलाको भव्य उद्घाटन्, पहिलो दिनमै २० हजार बढीले गरे अवलोकन


काठमाडौं । विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि आवश्यक परामर्श दिने उद्देश्यले आयोजित इक्यान शैक्षिक मेलाको भव्य उद्घाटन भएको छ । राजधानीको भृकुटीमण्डपमा  चारदिन सम्म सञ्चालन हुने मेलाको बिहिवार श्रीलंकाली राजदुत डव्लु एस परेराले उद्घाटन् गरेकी हुन् ।


कार्यक्रममा शुभकामना ब्यक्त गर्दै श्रीलंकाकी राजदूत परेराले वैदेशिक उच्च शिक्षा सम्बन्धी परामर्शमा इक्यानको भूमिका प्रसंशनीय रहेको बताइन् । उनले इक्यानले आगामी दिनमा अझै प्रगति गर्दै जावस भन्दै शुभकामना समेत व्यक्त गरिन् ।


मेलालाई सम्बोधन गर्दै नेपाल चेम्वर अफ कर्मशका उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधरले इक्यानले विदेश पढ्न जाने विद्यार्थी र छोराछोरी विदेश अध्ययन गर्न पठाउने अभिभावकहरुलाई सहज बनाइदिएको टीप्पणी गरे । अब नेपाली विद्यार्थी मात्रै विदेश पठाउने मात्रै होइन विदेशी विदार्थीलाई नेपलमा अध्धयन गर्न ल्याउन समेत इक्यानले भुमिका खेल्नुपर्ने उनले बताए ।


मेलाको प्रस्तुतकर्ता ब्रिटिश काउन्सिलका विजनेज डेभलप्मेन्ट हेड विक्रान्त गुरूङले शैक्षिक मेलाले सही सूचना मार्फत विद्यार्थीलाई आफूलाई उपयुक्त देशका कलेज तथा विश्वविद्यालयको छनोटमा मद्धत पुग्ने विश्वास ब्यक्त गरे ।


इक्यानका अध्यक्ष प्रकाश पाण्डले मेलाले नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्ने दाबी गरे । पाण्डेले उच्च शिक्षाका लागि विदेश जान रोक्नु समस्याको समाधान नभएको दाबी गरे ।
मेलालाई सम्बोधन गर्दै अभिभावक संघ नेपालका उपाध्यक्ष सुवास भण्डारी, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका अधिकृत तारानाथ निरौला लगायतले शुभकामना दिएका थिए ।


मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तीय शिक्षामा नेपालीहरुको समुचित पहुँचको लागि मार्ग प्रशस्त गर्न सकिने छ । मेलामा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता छ ।
मेलाको पहिलो दिन करीब २० हजार बढी विद्यार्थी तथा अभिभावकहरुले मेला अवलोकन गरेको इक्यान सचिव तथा सूचना र सञ्चार विभाग प्रमुख उमेश ढुंगेलले जानकारी दिए ।

Comments: