• शिक्षक आयोगले भन्यो : यति धेरै शिक्षक फेल हुनु दूर्भाग्यपूर्ण !
    (ईपाटी संवाददाता)


  • काठमाडौं । शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमले शिक्षा क्षेत्र अस्तव्यस्त र ध्वस्त रहेको बताएका छन् । वषौं विद्यालयमा पढाउँदै आएका अस्थायी शिक्षकहरुले लिखित परीक्षामा ल्याएको अंक  उदेक लाग्दो रहेको उनको टीप्पणी थियो ।


    'आफ्ना मान्छेहरुलाई झुक्याउनका लागि मात्रै परीक्षामा सहभागी भएको जस्तो देखियो ।'– गौतमले भने, 'यत्रा शिक्षक फेल हुनु दूर्भाग्यपूर्ण छ ।'


    आयोगको स्थापना दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गौतमले परीक्षामा सहभागी ३० प्रतिशत जतिले लिखित परीक्षामा ४/५ अंक समेत ल्याउन नसकेको खुलासा गरे ।


    विश्वविद्यालयको प्रमाणपत्र पाएका, शिक्षक लाइसेन्सको परीक्षा उत्तीर्ण भइसकेका शिक्षकहरुले समेत ४÷५ अंक ल्याएका भन्दै उनले सार्वजनिक विद्यालय कसरी माथि उठ्छ त भनेर प्रश्न गरे ।


    शिक्षक हुन लाइसेन्स पनि चाहिने, तालीम पनि चाहिने तर कर्मचारी हुन दुवै नचाहिने भएकाले शिक्षक बन्न उत्कृष्टहरु आकर्षित नभएको उनको भनाइ थियो ।


    किन शिक्षक बन्ने ? कर्मचारी बन्न सजिलो भएपछि प्रश्न गर्दै अध्यक्ष गौतमले उत्कृष्ट विद्यार्थीहरुलाई शिक्षक बनौं बनौं लाग्ने वातावरण नबनाएसम्म सार्वजनिक शिक्षा नसुध्रिने स्पष्ट पारे ।


    हाल विद्यालयमा शिक्षक सेवा आयोगले सिफारिस गरेका शिक्षकहरुको संख्या एकतिहाइ पनि नपुगेको भन्दै त्यसकार शिक्षा अस्तव्यस्त बनेको आरोप लगाए ।


    हालसम्म आयोगले जम्मा ४ विज्ञापन गरेको र १ लाख ७ हजार दरवन्दी मध्ये आयोगबाट प्रतिस्पर्धा गरि सिफारिस शिक्षकको संख्या एक तिहाइ पनि नपुगेको भन्दै सबै दरवन्दीमा आयोगबाट सिफारिस शिक्षक पुर्याउन सके सुधार हुने धारणा व्यक्त गरे ।