२०७७ जेष्ठ १६ गते

घरभित्रै उकुसमुकुस बालबालिकालाई अभिभावकले कसरी मद्दत गर्न सक्छन् ? डा. वाग्लेका १० सुझाब

प्राडा मनप्रसाद वाग्ले


यो मसला बालबालिकाको मानसिक स्वास्थ्य र कोविड सम्बन्धी लेख, आलेख, अनुसन्धान, स्वदेशी र विदेशी टेलिभिजन कार्यक्रम, मनोविद्का टिप्पणी समेतको अध्ययनका आधारमा नेपाली परिप्रेक्षमा ढालिएको हो । यी केही महत्वपूर्ण तथ्य हुन सक्छन् । तपाईंले गरिरहनु भएका थुप्रै अरू उपाय हुन सक्छन् ।

अहिले केटाकेटीहरू साथीबाट, समुदायबाट र विद्यालयबाट टाढा छन् । हामी अभिभावक र शिक्षकले यो कुरालाई विचार गरेर यो नयाँ स्वरूपको संसारमा बाँच्न उनीहरूलाई सहायता गर्नुपर्छ । यसलाई हल्का रूपले लिएर हाम्रा व्यवहार देखिन पनि हुँदैनन् किनकि कोविड यौटा डरलाग्दो यथार्थ हो ।

घरभित्रै उकुसमुकुस अवस्थामा जवर्जस्ती बस्नुपरेको यो क्षणलाई कसरी मद्दत गर्न सक्छन् त अभिभावकले ता कि बालबालिकाहरू ढुक्कले हाँसखेल गरून् र उनीहरुको मानसिक स्वास्थ्य सन्तुलनमा रहोस् ।

१. माया देखाउनुहोस् : अघिपछि भन्दा उनीहरूलाई बढी माया गर्नुहोस् । आफुसँगै राख्नुहोस् । माइला कुरा गर्नुहोस् । तपाईंसँग टाँस्सिएर उनीहरू सुरक्षाको अनुभूति गर्न सक्छन् ।

२. बेलाबेला उनीहरूलाई सम्बोधन गर्नुहोस् । ‘ठिक छ नि ?’, ‘के गर्दैछौ’ जस्ता चासो देखाउनुहोस् ।


३. उनीहरू जे कुरामा व्यस्त भएका छन् । त्यो काम गर्न दिनुहोस् । तर सतर्कता अपनाउनु पर्ने देखिएमा निगरानी बढाउनुहोस् ।

४. कहिल्यैै गाली नगर्नुहोस् ः केही गल्ति भएको छ भने पनि एक्लै राखेर परामर्श गर्नुहोस्, सम्झाउनुहोस् ।


५. उनीहरू रिसाए भनेर आफू पनि नबोल्ने काम कहिल्यै नगर्नुहोस् । यसले उनीहरूको मानसिक स्वास्थ्यमा निकै ठुलो आघात पर्दछ ।

६. अहिले प्रौढ हुन् वा केटाकेटी, लकडाउनका कारण दुवै तनावमा हुन्छन् । यो स्वाभाविक मानसिक प्रक्रिया हो । तर तपाई प्रौढ भएको नाताले आफ्नो  तनाव उनीहरूको अगाडि नदेखाउनुहोस् ।

७. यो लकडाउनलाई अवसरको रूपमा उपयोग गर्नुहोस् । केटाकेटीलाई घर पढाउनुहोस् ।  करेसाबारी पढाउनुहोस् ।  घरका व्यवस्थापन प्रणाली पढाउनुहोस् । घरको अर्थशास्त्र बुझ्न मद्दत गर्नुहोस् । घरको समाजशास्त्र पढाउनुहोस् । घरका विज्ञान, घरका गणित र घरको भाषा सिकाउनुहोस् । तपाईंसँग बसेर ती केटाकेटीले कहिल्यै यस्तो अवसर फेरि पाउने छैनन् ।


८. उनीहरूलाई जीवन सिकाउनुहोस् । तपाईंको लामो अनुभवको आधारमा उनीहरूलाई जीवनपर्यन्त सीप सिकाउनुहोस् । ताकी उनीहरू भविष्यमा असल जीवन ज्यून सफल होऊन् ।

९. टेलिभिजन र अनलाइनका कोविड समाचार हेर्न निरुत्साहित गर्नुहोस् । बरू परिवार सँगै बसेर यसको सहि ज्ञान बाँड्नुहोस् ।  कोरोना आफैं हिंडेर कसैको घरभित्र पनि पस्दैन, हामी आफैं सतर्क भयौं भने यो रोगले कसैलाई पनि सताउँदैन भन्ने सकारात्मक र मनोवल बढ्ने सूचना सम्प्रेषण गर्नुहोस् ।

१०. केटाकेटीलाई निश्चित समय सीमामा बाँध्नुहोस् ताकी उनीहरुको मनस्थिति व्यस्ततामा ताजा रहिरहोस् । यसलाई छुट्टीको रूपमा नहेर्न उनीहरूलाई सम्झाउनुहोस् ।

(जस्तो बिहान ६ बजे उठ्ने । ७ बजेसम्म फ्रेस हुने । आधा घण्टा शारीरिक अभ्यास गर्ने । त्यसपछि चिया, कफी, दुध जे छ पिउने । त्यसपछि ९.३० सम्म पढ्ने । १० बजेसम्म बिहानको खाना खाइसक्ने । आधा घण्टा आराम गर्ने । १२.३० बजेसम्म पढ्नेरलेख्ने । त्यसपछि १ घण्टा टेलिभिजन वा मोबाइलमा हेर्ने, खेल्ने । २ बजेको आसपासमा खाजा खाने । त्यसपछि डेढ घण्टा पढ्ने लेख्ने । यसो गर्दा ३.३० जति बज्छ । त्यसपछि उनीहरुलाई केही समय स्वतन्त्र हुन दिने, जे उनीहरुको रुची हुन्छ त्यसैमा रमाउन दिने । साँझ भान्साको काममा सरिक गराउने । खाना खाइसकेपछि १ घण्टा परिवार सँगै बस्ने, जसको जे रूची वा क्षमता छ देखाउने... कथा भन्ने, कविता वाचन गर्ने, गाउने, नाच्ने वा आफूले तयार पारेको नवीनतम सिर्जना सम्प्रेषण गर्ने आदिर त्यसपछिको आधा घण्टा आज दिनभर क–कसले केके गरे भन्ने विषयमा छलफल गर्ने र भोलिको लागि प्रोत्साहित गर्नेर त्यसपछि सुत्ने बेला भैहाल्छ)

(डा. वाग्लेको सामाजिक सञ्जालबाट)

Comments: