२०७६ असोज ३० गते

सट्टा र राहत शिक्षकले पनि आन्तरिक परीक्षा र सुविधाको मौका पाउनुपर्छ–पूर्व शिक्षामन्त्री पौडेल

ईपाटी संवाददाता


काठमाडौं । पूर्व शिक्षामन्त्री डि. आर. पौडेलले शिक्षकको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्नु गलत भएको बताएका छन् ।


आइतवार बानेश्वरमा शिक्षक प्रदर्शनमाथि भएको प्रहरी दमनको विरुद्ध सामाजिक सञ्जाल मार्फत  पौडेलले  भनेका छन्– 'आफ्ना मागको सुनुवाईको लागि सरकारको ध्यानाकर्षण गर्न सडकमा आएका राहत कोटा एवं प्रारम्भिक बाल शिक्षाका शिक्षकहरुको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी बलको सहारा लिएर दमन गर्नु सरकारको मनासिव काम हुनै सक्दैन र होइन ।'


पौडेलले अस्थायी शिक्षकलाई आन्तरिक परीक्षा र सुविधाको मौका दिएपछि राहत र सट्टा शिक्षकलाई पनि सो मौका दिनुपर्ने आशय व्यक्त गरेका छन् । पौडेलले लेखेका छन्  –' हिजो अस्थायी शिक्षकको व्यवस्थापन गर्ने सन्दर्भमा सरकारले अपनाएको विधि, प्रकृया, मानक र कानुनी व्यवस्था अन्य शिक्षकहरुले पनि खोज्नु अस्वभाविक होइन ।'


शिक्षकका समस्याका सन्दर्भमा समय सन्दर्भसहित के गर्न सक्ने के गर्न नसक्नेबारे संवादबाट निष्कर्षमा पुग्नु सरकारको दायित्व र अभिभावकीय जिम्मेवारी दुवै भएको पौडेलले स्पष्ट पारेका छन् ।


संबद्ध शिक्षकहरूसँग सरकारको संवादको ढोका बन्द हुनु विडम्वना भएको पौडेलको जिकिर छ ।


'अझै पनि वार्ताको टेवुलमा बसेर संवादद्वारा जायज मागहरु सम्बोधन गर्न र उनीहरुलाई चित्त बुझाएर कक्षा कोठामा फर्काउन म नेपाल सरकारसँग आग्रह गर्दछु ।' पौडेलले लेखेका छन् ।


उनले प्रदर्शनमा भएको बल प्रयोगका कारण घाइते भएका शिक्षकहरुको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

Comments: