• ऐनविपरीत शिक्षकद्वारा दोहोरो सुविधा
    (अन्तैबाट)

  • विराटनगर । सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठलगायतले शिक्षा ऐनविपरीत दोहोरो पूर्णकालीन सुविधा लिएका छन् । श्रेष्ठ सुकुना माविका पनि प्राचार्य हुन् । उनले दुवै संस्थाबाट तलब लिने गरेका छन् ।


    शिक्षा नियमावलीमा दोहोरो पूर्णकालीन सुविधा लिन पाइँदैन । पञ्चायत मावि गोठगाउँका प्राचार्य गुरुप्रसाद अधिकारी क्याम्पसको अंग्रेजी विभाग र शिक्षा निकेतन माविका प्राचार्य ठाकुर सुवेदी गणित विभाग प्रमुख हुन् । सामुदायिक विद्यालयका स्थायी शिक्षक बलराम पोखरेल, गणेश दाहाल, नारायण गौतम र महेश रेग्मीसहित १९ शिक्षकले यस्तो सुविधा लिएको पाइएको छ ।


    उनीहरू पनि सामुदायिक विद्यालयका स्थायी शिक्षक हुन् । बिहान सुकुना क्याम्पसमा पढाउने र दिउँसो दरबन्दीअनुसार सामुदायिक विद्यालय जान्छन् । स्थानीय नागरिक समाज र नियमन निकायले पटकपटक खबरदारी गर्दा पनि दोहोरो सुविधा नछाडेको क्याम्पस स्रोतले बतायो । दुइटै संस्थाबाट सञ्चयकोषमा रकम जम्मा नहुने भएकाले उनीहरूले क्याम्पस तर्फबाट कोषमा कट्टी हुने १० प्रतिशत र राज्यबाट थप हुने पनि तलबमा गाभेर लिने गरेको क्याम्पस स्रोतको दाबी छ ।

    नियमविपरीत दोहोरो सुविधा नलिन भन्दा उनीहरूले आफूलाई रोल्पा सरुवा गरिदिने चेतावनी दिएको सुन्दर हरैंचा नगरपालिका शिक्षा शाखा अधिकृत सन्तोष बरालले बताए । 'नियमविपरीत सुविधा नलिन पटक पटक आग्रह गर्‍यौं,' उनले भने, 'उल्टै धम्की पाइयो ।'

    विद्यालयतर्फको आउँदो चौमासिक तलबको सूचीमा उनीहरूका नाममा शिक्षा शाखाबाट हस्ताक्षर नगर्ने तयारी गरेको बरालले बताए । उनले भने, 'विद्यालयको आउँदो चौमासिक तलब रोक्का गरिनेछ ।'शिक्षा विभागको स्वीकृति र क्याम्पस व्यवस्थापन समितिको सहमतिमै दोहोरो पूर्णकालीन सुविधा लिएको क्याम्पस प्रमुख श्रेष्ठले स्विकारे । वैशाखदेखि विद्यालयबाट बेतलबी बिदा लिएर वा राजीनामा गरेर दोहोरो सुविधा लिन छाड्ने श्रेष्ठको भनाइ छ ।

    'शिक्षा ऐनमा दोहोरो पूर्णकालीन सुविधा लिन पाउने व्यवस्था छैन,' उनले भने, 'तर मैले परिस्थितिका कारण लिएको हुँ ।' क्याम्पसमा यस्तो सुविधा लिने आफू मात्र होइन, अरू पनि भएको उनले सुनाए ।

    कान्तिपुरमा खबर छ ।