२०७६ मंसिर ६ गते

३४ हजार ईसीडी शिक्षिकाहरुलाई विद्यालय संरचनामा ल्याइएको शिक्षामन्त्रीको दावी

झापा । झापामा पहिलो पटक राष्ट्रिय बाल महोत्सवको आयोजना गरिएको छ । ‘भोलीको समृद्ध राष्ट्रका लागि आजका सवल बालबालिका’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सबको शिक्षा मन्त्री धनिराम पौडेलले मंगलबार एक समारोहकाबीच उद्घाटन गरेका छन् ।

झापाको लखनपुरमा रहेको आदिवासी रङ्गशालामा शुरु भएको बाल महोत्सब पाँच दिनसम्म चल्नेछ । कार्यक्रममा शिक्षा मन्त्री पौडेलले बालबालिकाहरुको समग्र विकासको लागि बाल महोत्सबको आयोजना हुनु सुखद पक्ष भएको बताए । महोत्सबले बालबालिकाहरुको क्षमता र प्रतिभालाई प्रस्फुटन गर्न मद्धत गर्ने भन्दै उनले यसबाट बालबालिकाहरुमा आलोचनात्मक चेतको विकास हुने विश्वास समेत व्यक्त गरे ।

शिक्षा मन्त्री पौडेलले नेपालको सार्वजनिक शिक्षालाई बाल मैत्री बनाउनु पर्नेमा समेत जोड दिनुकासाथै बालबालिकाको चाहना र इच्छालाई शिक्षाले संवोधन गर्नु पर्ने भन्दैे त्यस प्रकारको शिक्षा प्रणाली निर्माणको लागि शिक्षा ऐन र नियमावलीमा परिवर्तन गरिएको स्पष्ट पारे ।
 
उनले शिक्षा ऐनको संशोधन गर्दा शिक्षालाई बाल मैत्री बनाउन मन्त्रालयले विशेष ध्यान दिएको बताए । उनले बाल मैत्री शिक्षा प्रणाली स्थापना गर्ने उद्देश्यले देशभरीका ३४ हजार प्रारम्भिक बाल कक्षाका शिक्षिकाहरुलाई विद्यालय संरचनामा ल्याइएको जानकारी गराए ।

उज्यालो बाल क्लबकी अध्यक्ष टेलिना खनालको अध्यक्षतामा भएको कार्यक्रममा सांसद महेन्द्रकुमारी सुव्वा, केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी, केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक पारश धिताल, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल लगायतले मन्तब्य राखेका थिए ।

स्थानिय उज्यालो बाल क्लबले आयोजना गरेको बाल महोत्सबमा लखनपुरका २४ वटा बाल क्लबहरुको सहभागिता रहेको बाल महोत्सब आयोजक समितिका संयोजक सन्तोष भण्डारीले जानकारी दिनुभयो । महोत्सबमा बाल गायन प्रतियोगिता, बाल वक्तृत्व कला, बाल चित्रकला प्रतियोगिता, बाल फोटो प्रदर्शनी, बाल मनोसामाजिक चेतनाका लागि ज्ञानवद्र्धक सामग्री तथा मनोपरामर्श, बाल कराँते प्रतियोगिता, बाल स्वास्थ्य शिविर, बाल झाँकीहरुको प्रदर्शनी लगायतका कार्यक्रम हुने बताइएको छ ।

 
कार्यक्रममा खेलकुद, विज्ञान, पुस्तक लगायत बालबालिकासँग सम्बन्धित सामग्रीका ५० वटा भन्दा धेरै स्टलहरु राखिएका छन् । महोत्सवको उद्घाटन कार्यक्रममा बालबालिकाहरुले विभिन्न झाँकी प्रदर्शन गर्नुका साथै गित तथा नृत्यहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यालय तहमा अध्ययनरत हजारौं बालबालिकाहरुको सहभागिता थियो ।

Comments: