२०७६ असोज २९ गते

शिक्षक दरबन्दी मिलान

अन्तैबाट

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षक दरबन्दी मिलान र सरुवा गरेको निर्णय कार्यान्वयन गर्न कानुनी बाटो खुलाएको छ  ।

गाउँपालिकाले गरेको शिक्षक दरबन्दी मिलानसहितको सरुवा रोक्न उच्च अदालत पाटन हेटौंडा इजलासले दिएको अन्तरिम आदेश मंगलवारदेखि फुकुवा भएकाले निर्णय कार्यान्वयनको बाटो खुलेको हो ।

कैलाश गाउँपालिकाले मुलुकमै पहिलो पटक गाउँ शिक्षा ऐन कार्यान्वयन गरी शिक्षक दरबन्दी मिलान गरेपछि केही शिक्षकहरू तत्काल दरबन्दी मिलानको निर्णय कार्यान्वयन नगर्न निषेधाज्ञा माग गर्दै उच्च अदालत पाटन हेटौंडा इजलासमा पुगेका थिए ।


अदालतले गत असोज २३ गते अर्काे निर्णय नभएसम्मका लागि तत्काल गाउँपालिकाले गरेको दरबन्दी मिलान र सरुवाको निर्णय कार्यान्वन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । मंगलबार दुवै पक्षलाई हाजिर हुन अदालतले आदेश गरेको थियो । उक्त आदेशबमोजिम मंगलबार दुवै पक्षको राय सुनेर न्यायाधीशद्वय सुषमालता माथेमा र पुष्पराज कोइरालाको संयुक्त इजलासले अन्तरिम आदेश जारी राख्न नपर्ने भनी आदेश सुनाएको थियो ।

उक्त आदेशसँगै गाउँपालिकाले आफूले गरेका निर्णय कार्यान्वयन गर्न पाउने कानुनी बाटो खुलेको हो । शिक्षकहरूका पक्षबाट अधिवक्ता अमृतकुमार लामा र गाउँपालिकाका तर्फबाट अधिवक्ता मदनकुमार दाहालले बहस गरेका थिए । मुलुकमै पहिलो पटक गाउँपालिकाले दरबन्दी मिलान र सरुवा अभ्यास गरेपछि जिल्लास्थित नेपाल शिक्षक महासंघ तथा केही शिक्षक संगठनहरू आन्दोलित भएका थिए । अदालतको मंगलबारको आदेशपछि गाउँपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न बाटो खुलेको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताए ।


उक्त गापाले ५१ वटा विद्यालयहरूमा विद्यार्थी तथा शिक्षकको संख्याको अध्ययन गरी दरबन्दी मिलान गरेको थियो । अध्यक्ष मुक्तानका अनुसार नेपालको संविधानको धारा २२६, अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम बनेको कैलाश गाउँपालिकाको गाउँ शिक्षा ऐन २०७५ को दफा ३३ बमोजिम दरबन्दी मिलान गरिएको हो ।


दरबन्दी मिलानका लागि गाउँ कार्यपालिकाको गत असार ८ गते बसेको बैठकले ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ भन्ने नीति अवलम्बन गरी स्थायी, अस्थायी, राहत तथा ईसीडीका समेत दरबन्दी मिलान गर्न सुझाव दिने गरी सामाजिक विकास समितिलाई म्यान्डेट दिएको थियो ।


सामाजिक विकास समितिले २०७५ असार ३० गते पेस गरेको प्रतिवेदनका आधारमा दरबन्दी मिलान तथा काज सरुवा गाउँपालिकाले गरेको थियो ।

कान्तिपुरमा खबर छ ।

Comments: